शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

दाङ चलचित्रको ठुलो बजार थियो : निखिल उप्रेती

आइतबार, २० जेठ २०८१, १२ : ५७
आइतबार, २० जेठ २०८१

काठमाडौंँ । अभिनेता निखिल उप्रेतीले एक समय चलचित्रको ठुलो बजार रहेको दाङमा चलचित्र गतिविधि भने राम्रो हनु नसकेको बताए । दाङमा चलचित्र हलहरू घट्दै गएको प्रति उनले चिन्ता व्यक्त गरे ।

‘चलचित्र प्रदर्शनीका क्रममा म केही वर्ष पहिले पहिलोपटक दाङका हलमा आउँदा दर्शकको भिड देख्दा निकै उत्साहित भएको थिए’, उनले भने ‘तर अहिले हल पनि घटेको रहेछ, गतिविधि पनि रहेनछ ।’ उनले पहिलोपटक दाङ आउँदा दंगालीको अथाह मायाले नै चलचित्र क्षेत्रमा अगाडि बढ्न ऊर्जा थपेको स्मरण गरे ।

चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाको आयोजना शान्तिनगर गाउँपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्र सुईकोटमा शनिबार आयोजित ‘सिनेमा र पर्यटन विषयक’  कार्यक्रममा बोल्दै अभिनेता उप्रेतीले विश्वसामु दाङ चिनाउन दाङका विभिन्न महत्त्वपूर्ण पर्यटकीय तथा धार्मिक स्थानहरू पर्याप्त रहेको धारणा राखे । ‘चलचित्र छायाङ्कनका लागि दाङलाई उपेक्षा गर्नुपर्ने कुनै पनि कारण रहेको छैन’ उनले थपे । 

शान्तिनगर गाउँपालिका सहकार्य र ध्रुवराज न्यौपाने सहजकर्ता रहेको कार्यक्रममा नेपाली चलचित्र  स्थानीय पर्यटन तथा प्रवर्द्धन गर्न सक्छन् ? भन्ने प्रश्नमा अभिनेता उप्रेतीले स्थानीय पर्यटन प्रवर्द्धनका लागि चलचित्र भन्दा राम्रो अन्य कुनै माध्यम नरहेको बताए । उनले चलचित्र छायाङ्कन स्थल त्यसको कथावस्तुले निर्धारण गर्ने बताए । आफ्नो आगामी फिल्मको छायाङ्कन स्थल दाङ रोजाई मा पर्ने नपर्ने भन्ने विषयवस्तुले निर्धारण गर्ने बताउँदै असम्भव भन्ने कुनै पनि कुरा नहुने सुनाए ।

‘सफल फिल्म निर्माणका लागि कथा बस्तुमा राम्रो हुनुपर्छ’, उप्रेतीले अगाडि भने ‘स्थानीय क्षेत्रको धार्मिक तथा पर्यटन विकास र प्रचारप्रसारका लागि फिल्म महत्त्वपूर्ण माध्यम भने हो ।’

शान्तिनगर गाउँपलिकामा अध्यक्ष प्रमोद बस्नेतले स्थानीय धार्मिक तथा पर्यटन क्षेत्रको विकासका लागि चलचित्र पनि महत्त्वपूर्ण रहेको आफूले ठानेको बताए । ‘वडा नम्बर १ मा रहेको पाँच सय वर्ष पुरानो खड्काकोट दरबार र बंकर, वडा नम्बर ३ मा रहेको पालिकाकै सबैभन्दा ठुलो शक्तिपिठ सुन्दरादेवि भगवती मन्दिर, छहरा, वडा नम्बर ७ लगायत अन्य स्थानहरूमा रहेका मठ मन्दिर तथा धार्मिक एवम् पर्यटकीय स्थलहरू रहे पनि प्रचारप्रसारको कमीले ओझेलमा रहेको छ’ उनले थपे ।

त्यस्तै चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष कुबेर गिरीले चचित्र संचारको सशक्त माध्यम रहेको बताए । फिल्म जहाँ सबैभन्दा धेरै व्यापार हुन्छ । फिल्मी गतिविधि पनि बढी त्यही हुने गिरीको भनाई छ ।

‘बिगतमा एक दर्जन बढि दाङमा हल रहेकोमा पछिल्लो समय यसको दर ह्वात्तै घट्नुपनि यसको प्रभावका रुपमा लिन सकिने गिरीले बताए । ‘स्थानीय पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको छ । त्यो प्रभावकारी भूमिका यहाँबाट निर्वाह गर्न नसकेको देखिन्छ’, गिरीले भने ‘यसको विषयले नै धेरै कुरा सिकाउँछ, स्थानीय सरकारले टट सम्भावित स्थानको पहिचान गरी तयार पारेको भिडियो सामग्री चलचित्र विकास बोर्डमा पठाएर पनि चलचित्र छायाङ्कनका लागि उपयुक्त स्थानको जानकारी दिन सक्छ ।’ दाङबाट राष्ट्रिय स्तरमा चिनाउने थुप्रै सेलिव्रेटिहरु भएपनि दाङलाई चिनाउन प्रयास गरेको नदेखिएको बताए ।

प्रत्यक्ष रुपमा भूगोलको अध्ययन नगरेपछि उपाध्यक्ष गिरीले पत्रकारिताको माध्यमबाट चलचित्र छायाङ्कनका लागि दाङ उपयुक्त स्थान रहेको विषयमा निरन्तर कलम चलाउने प्रतिबद्धता व्यक्त गरे । 

पर्यटन र संस्कृतिमा लगानी गर्ने योजना नहुँदा स्थानीय पर्यटन प्रवर्द्धनमा समस्या रहेको संस्कृतिबिद्ध डा. गाविन्द आचार्यले बताए । उनले दाङमा चलचित्र छायाङ्कनका लागि प्रयाप्त स्थान भएपनि सडक, प्रचार प्रसारको अभावमा हुन नसकेको धारणा राखे ।  

चलचित्र पत्रकार सङ्घ नेपाल दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ३का अध्यक्ष मिनबहादुर केसी, दंगिशरण गाउँपालिकाका अध्यक्ष सम्भु गिरी, शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष प्रेमा केसी बुढाथोकी, पर्यटन विकास केन्द्र दाङका अध्यक्ष डा. लोकराज पराजुली लगायतले स्थानीय तहमा धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि प्रचारप्रसारमा स्थानीय तहले मिलेर काम गर्नुपर्ने बताए । रिपोटर्स कल्वका महासचिव विमल गौतमले कार्यक्रमको सञ्चालन गरेका थिए ।

दाङमा एक समय १४ वटा हल थिए । अहिले घटेर ५ वटा पर्दामा घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप