बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकपमा लागू गर्ने भनिएको ‘स्टप क्लक’ नियम के हो ?

आइतबार, २० जेठ २०८१, १२ : ३९
आइतबार, २० जेठ २०८१

काठमाडौँ । पछिल्लो समय क्रिकेटमा नयाँ–नयाँ नियम प्रयोगमा ल्याउन थालिएको छ । क्रिकेट खेललाई रोचक र समयानुकूल बनाउने उद्देश्यले नयाँ नियम लागू गरिनु आवश्यक पनि हुन्छ । 

हालै भारतमा सम्पन्न विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि ‘ईम्प्याक्ट प्लेयर’ को नियम लागू गरिएको थियो ।

अहिले अमेरिका र वेस्ट इन्डिजमा आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण भइरहेको छ । यो विश्वकपमा पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले एउटा नयाँ नियम लागू गर्ने तयारी अगाडि बढाएको समाचारमा जनाइएको छ । 

यो विश्वकपमा आईसीसीले पहिलो पटक ‘स्टप क्लक’ नियम लागू गर्ने तयारी अगाडि बढाएको हो । आखिर के हो त स्टप क्लक नियम ? खासमा खेल निर्धारित समयभित्रै सकियोस् भन्ने उद्देश्यले यो नियम लागू गर्न खोजिएको हो ।

यो नियम अनुसार, फिल्डिङ गर्ने पक्षले एक ओभर बलिङ गरिसकेपछि अर्को ओभर बलिङ सुरु गर्न ६० सेकेन्डका समय पाउँछ । अर्थात्, एउटा ओभर सकिएको ६० सेकेन्डभित्र अर्को बलरले आफ्नो पहिलो बल फाल्नु पर्ने हुन्छ । 

यसका लागि एउटा ओभर सकिए लगत्तै थर्ड अम्पायरले ६० सेकेन्डको समय निर्धारण गरेर घडीमा टाइमर सेट गर्छन् । जसले गर्दा खेलका क्रममा कुनै विवाद उत्पन्न हुने छैन । 

यदि फिल्डिङ गर्ने टोलीले एउटा ओभर सकिएको ६० सेकेन्डभित्र अर्को ओभर सुरु गर्न सकेन भने त्यसको सजाय भोग्नु पर्ने हुन्छ । यस्तो स्थितिमा ब्याटिङ गर्ने टोलीले अतिरिक्त रूपमा पाँच रन पाउने प्रावधान राखिने छ । 

तर, यसरी सजाय गर्नुअघि अम्पायरले फिल्डिङ गर्ने टोलीलाई दुईपटक भने चेतावनी दिनु पर्नेछ । दुईपटक चेतावनी दिँदा पनि फिल्डिङ गर्ने टोलीले तेस्रो पटक त्यही गल्ती दोहोर्‍याएमा ब्याटिङ गर्ने पक्षले अतिरिक्त रूपमा पाँच रन पाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप