बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

खेल भइरहँदा जब अमेरिकी सुरक्षाकर्मीको आँखा छल्दै रोहित शर्माका प्रशंसक मैदानभित्र छिरे

आइतबार, २० जेठ २०८१, १२ : ०२
आइतबार, २० जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आइतबारदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु भएको छ । उद्घाटन खेल पनि खेलिसकिएको छ । उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेट विकेटले हरायो ।

आइतबार नै टी–२० विश्वकपको अन्तिम अभ्यास खेल पनि खेलिएको थियो । न्यु योर्कमा खेलिएको अन्तिम अभ्यास खेलमा भारतले बंगलादेशलाई ६० रनको फराकिलो अन्तरले हराएको थियो ।

त्यो अभ्यास खेलका क्रममा स्थानीय सुरक्षाकर्मीबाट गम्भीर चुक भएको भन्दै अहिले त्यसको आलोचना भइरहेको छ । बंगलादेशविरुद्धको अभ्यास खेलका क्रममा एक समर्थक अमेरिकी सुरक्षाकर्मीलाई छक्क्याउँदै मैदानभित्र प्रवेश गरेका थिए ।

खासमा ती व्यक्ति भारतीय टोलीका कप्तान रोहित शर्माका प्रशंसक थिए । न्यु योर्कस्थित नासाउ काउन्टी स्टेडियममा खेल भइरहँदा ती समर्थक सुरक्षाकर्मीको आँखा छल्दै रोहित शर्मालाई भेट्न मैदानभित्र छिरेका थिए । 

खेल चलिरहँदा मैदानभित्र छिरेका ती समर्थकले रोहित शर्मालाई अँगालो हालेका थिए । त्यसलगत्तै सुरक्षाकर्मीले ती समर्थकलाई नियन्त्रणमा लिएर मैदानबाट बाहिरी निकालेका थिए । टी–२० विश्वकपका क्रममा आतङ्ककारी हमलाको चेतावनी प्राप्त भइरहँदा यस्तो सुरक्षा कमजोरी देखिएको भन्दै त्यसको आलोचना भएको हो । 

विश्वकप सुरु हुनुभन्दा निकैअघि भारत र पाकिस्तानबिचको खेलका क्रममा आतङ्ककारी हमलाको चेतावनी दिइएको थियो । टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेल जुन ९ तारिखमा न्यु योर्कको आइसनहोवर पार्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममै खेलिँदैछ । 

आतङ्ककारी आक्रमणको धम्की आएपछि सुरक्षा व्यवस्था निकै कडा बनाइएको स्थानीय प्रशासनले जनाएको थियो । आतंकबादी संगठन आईएसआईएस खोरासनले एक डिभियो सार्वजनिक गर्दै भारत र पाकिस्तानबिचको खेलका क्रममा आक्रमणको चेतावनी दिएको हो । 

उक्त भिडियोमा खेलका क्रममा ‘लोन उल्फ’ आक्रमण गर्ने धम्की दिइएको छ । ‘लोन उल्फ’ आक्रमण भनेको कुनै एक व्यक्तिलाई प्रयोग गरेर गरिने आतङ्ककारी आक्रमण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप