बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
विश्वकप

टी–२० विश्वकपमा आज : पहिलो पटक आपसमा भिड्दै वेस्ट इन्डिज र पपुवा न्यु गिनी

आइतबार, २० जेठ २०८१, ११ : १४
आइतबार, २० जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करणमा आइतबार आयोजक वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी)बिच भिडन्त हुँदैछ । उक्त खेल क्यारेबियन राष्ट्र गुयनाको जर्जटाउनस्थित प्रोभिडेन्स स्टेडियममा खेलिने छ ।

वेस्ट इन्डिज र पीएनजीबिचको खेल नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ । आईसीसीको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट इन्डिज चौथो स्थानमा आसीन छ । पीएनजी भने वरीयताको २०औँ स्थानमा छ ।

टी–२० विश्वकपको नवौँ संस्करणमा खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि आइतबार नै डालासमा खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो ।

नवौँ विश्वकपमा वेस्ट इन्डिज र पीएनजी समूह ‘सी’ मा रहेका छन् । त्यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान र युगान्डा पनि छन् । वेस्ट इन्डिजले सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणदेखि नै निरन्तर रूपमा सहभागिता जनाउँदै आएको छ ।

पीएनजीको दोस्रो सहभागिता

पीएनजीको भने टी–२० विश्वकपमा यो दोस्रो सहभागिता हो । पीएनजीले यसअघि सन् २०२१ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । त्यतिबेला पीएनजी प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको थियो ।

यसपटक विश्वकपमा वेस्ट इन्डिजले आयोजक राष्ट्रका रूपमा सहभागिता जनाएको हो । पीएनजी भने  पूर्वी एसिया तथा प्यासिफिक क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा उपस्थित भएको हो । त्यो क्षेत्रबाट एउटा टोलीमात्र विश्वकपमा छनोट हुने प्रावधान छ ।

वेस्ट इन्डिज दुईपटकको विजेता

वेस्ट इन्डिजले हालसम्म दुई पटक टी–२० विश्वकपको उपाधि उचालिसकेको छ । वेस्ट इन्डिज दुई पटक टी–२० विश्वकपको उपाधि जित्ने पहिलो राष्ट्र पनि हो । क्यारेबियन टोलीले सन् २०१२ मा पहिलो र सन् २०१६ मा दोस्रो पटक टी–२० विश्वकप जितेको थियो ।

वेस्ट इन्डिजका अतिरिक्त इङ्ल्यान्डले मात्र दुई पटक टी–२० विश्वकपको उपाधि उचाल्न सकेको छ । इङ्ल्यान्डले सन् २०१० र सन् २०२२ मा टी–२० विश्वकप जितेको थियो । यो तथ्याङ्कले पीएनजीको तुलनामा वेस्ट इन्डिजलाई बलियो टोलीको रूपमा स्थापित गराउँछ ।

अन्तर्राष्ट्रिय खेलमा दोस्रो भिडन्त

वेस्ट इन्डिज र पीएनजीले हालसम्म आपसमा एउटा पनि टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । यस अर्थमा, यही विश्वकपमा यी दुई टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् । सन् २०१८ मा यी दुई टोलीबिच एकमात्र एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको थियो ।

त्यो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा वेस्ट इन्डिजले पीएनजीलाई ६ विकेटले हराएको थियो । त्यतिबेला आईसीसी एक दिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा यी दुई टोलीबिच आपसमा भिडन्त भएको थियो ।

टसको महत्व

वेस्ट इन्डिज र पीएनजीबिच आइतबारको खेल हुने गुयनाको जर्जटाउनस्थित प्रोभिडेन्स स्टेडियममा टस जित्ने टोलीले पहिले फिल्डिङको निर्णय लिने सम्भावना देखिन्छ । यो स्टेडियममा जवाफी ब्याटिङ गर्ने टोलीले बढी खेल जितेका छन् । यो स्टेडियममा हालसम्म खेलिएको १३ मध्ये सात खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् ।

वेस्ट इन्डिजको सबल पक्ष

टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा वेस्ट इन्डिजका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान निकोलस पुरन हुन् । उनले ८८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको ८० पालीमा कुल एक हजार आठ सय ४८ रन बनाएका छन् । यस क्रममा उनले ११ वटा अर्धशतक पनि प्रहार गरेका छन् ।

पुरनले पछिल्लो १३ खेलमा १५२.७४ को स्ट्राइक रेटमा कुल तीन सय ६२ रन बनाएका छन् । उनले विश्वकपमा पनि १२१.९० को स्ट्राइक रेटमा कुल एक सय २८ रन बनाएका छन् । यसका अतिरिक्त ब्रान्डन किङ पनि वेस्ट इन्डिजका अनुभवी ब्याट्सम्यान हुन् ।

उनले पछिल्लो एक वर्षयता १५ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा १४४.६९ को स्ट्राइक रेटमा कुल पाँच सय पाँच रन बनाएका छन् । उनले यसअघि पनि टी–२० विश्वकपको एउटा संस्करण खेलेका छन् । विश्वकपको त्यो संस्करणमा उनले दुई खेल खेल्दै कुल ७९ रन बनाएका थिए ।

यसैगरी बलिङतर्फ वेस्ट इन्डिजका लागि रोमारियो सेफर्डजस्ता अनुभवी बलर छन् । पछिल्लो समय उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको पछिल्लो १० खेलमा कुल १६ विकेट लिएका छन् ।

पीएनजीको बलियो पक्ष

अर्कोतिर, टोनी उरा पीएनजीका लागि सफल ब्याट्सम्यान हुन् । उनले पछिल्लो एक वर्षको अवधिमा १७ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै १५०.७२ को औसतले कुल चार सय १६ रन बनाएका छन् । यस क्रममा उनले चारवटा अर्धशतक पनि प्रहार गरेका छन् ।

असदुल्ला वाला पनि पीएनजीका प्रभावशाली ब्याट्सम्यान हुन् । उनले पछिल्लो १६ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा कुल चार सय पाँच रन बनाइसकेका छन् । उनको स्ट्राइक रेट १२०.१७ रहेको छ । यस क्रममा उनले दुईवटा अर्धशतक पनि बनाएका छन् ।

पपुवा न्यु गिनीका लागि सबैभन्दा सफल बलर भने जोन कारिको हुन् । उनले पछिल्लो एक वर्षको अवधिमा १६ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल २५ विकेट लिएका छन् । यस अर्थमा उनी पछिल्लो समय लयमा छन् ।

वर्षाले खेल बिथोल्न सक्ने

वेस्ट इन्डिज र पपुवा न्यु गिनीबिच आइतबारको खेल हुँदा गुयनाको मौसम प्रतिकूल रहने छ । गुयनामा आइतबार वर्षाको प्रबल सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, आइतबार गुयनामा वर्षाको सम्भावना ७६ प्रतिशत देखिन्छ । आइतबार गुयनाको तापक्रम २५ देखि ३२ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।

सम्भावित टोली

वेस्ट इन्डिज : रोभमन पोवेल (कप्तान), जोन्सन जार्ल्स, ब्रान्डन किङ, साई होप, रोस्टन चेज, निकोलस पुरन (विकेटकिपर), आन्द्रे रसेल, अकिल हुसैन, अल्जारी जोसेफ, शामर जोसेफ र गुडाकेश मोटी ।

पपुवा न्यु गिनी : असदुल्ला वाला (कप्तान), टोनी उरा, सेसे बाउ, लेगा सियाका, चाल्र्स अमिनी, हिरी हिरी, किपलिङ डोरिगा (विकेटकिपर), चाड सोपर, नोर्मन वनुआ, जोन कारिको र काबुआ मोरिया । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप