बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

नेपाली चलचित्र क्षेत्रमा फुलेका फूलहरूले  देशलाई सुगन्धित बनाएको छ : चौधरी

सिने सर्कल अवार्ड सम्पन्न
आइतबार, २० जेठ २०८१, १० : ४०
आइतबार, २० जेठ २०८१

काठमाडौँ । सिनेमा सर्कल नेपालको आयोजनामा राजधानीको आर्मी अफिसर्स क्लबमा सिने सर्कल अवार्ड सम्पन्न भएको छ । 

विगतमा जस्तै पर्दा पछाडिका कलाकर्मी पोस्टर, भिएफएक्स, स्टण्ड जस्ता विधालाई प्राथमिकता दिँदै भएको अवार्डको सातौँ संस्करणमा समेत तिनै पर्दा पछाडिका कलाकर्मीलाई प्राथमिकता दिइएको थियो । 

चौधरी ग्रुपका एमडी वरुण चौधरी र सिनेमा सर्कल नेपालका अध्यक्ष दिनेश डिसीको संयुक्त आयोजना रहेको यस कार्यक्रममा वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्का र वरिष्ठ चलचित्र सम्पादक नरेन्द्र खड्कालाई नगद रु ५१,००० सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै सिनेमा सर्कल नेपालका संरक्षक समेत रहेका चौधरीले नेपालमा सिनेमा सर्कल नेपालबाट आयोजित यस कार्यक्रममा सहभागी हुन विश्वको जुनसुकै कुनामा भए पनि नेपाल आउने गरेको र आगामी दिनमा सहभागी हुने वाचा व्यक्त गरे । त्यस्तै आफ्नो घर सरस्वतीको मन्दिर भएको बताउँदै बुबा विनोद चौधरी र काका वसन्त चौधरीको गीतहरू स्मरण गर्दै उनले आफू साङ्गीतिक माहौलमा घुलमिल भएको बताए । 

चलचित्र वासुदेव देखि पुजार सार्की सम्म सम्झन भ्याएका चौधरीले राजेश हमाल, शिव श्रेष्ठ निर शाह देखि प्रदीप खड्कासम्म, मिथिला शर्मा देखी सुरक्षा पन्त सम्म स्मरण गरेका थिए ।  नेपाली चलचित्र क्षेत्रलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नेपाली चलचित्र क्षेत्रमा फुलेका फुलहरूले नेपाल देशलाई सुगन्धित बनाएको उनको तर्क थियो । 

अवार्ड’मा सौगात मल्ल र स्वस्तिमा खड्काले ‘उत्कृष्ट नायक–नायिका’को अवार्ड जितेका छन् । सौगातले फिल्म ‘अगस्त्य’बाट उत्कृष्ट नायकको अवार्ड जित्दै गर्दा स्वस्तिमाले फिल्म ‘दिमाग खराब’बाट उत्कृष्ट नायिकाको अवार्ड जितिन् । यस्तै, निश्चल बस्नेतले ‘दिमाग खराब’बाट ‘उत्कृष्ट निर्देशक’को अवार्ड जिते । ‘उत्कृष्ट फिल्म’ ‘दिमाग खराब’ बनेको थियो ।

कार्यक्रममा पोस्टर डिजाइनरको अवार्ड ‘बुलाकी’बाट राकेश दाहाल, ‘उत्कृष्ट ट्रेलर’को अवार्ड बन्दे प्रसादले फिल्म ‘काँडेतार’बाट, ‘उत्कृष्ट स्टन्ट’को अवार्ड फिल्म ‘काँडेतार’बाट लक्ष्मण सेन्चुरीले प्राप्त गर्दा अन्जु पन्तले फिल्म ‘बगान’बाट ‘उत्कृष्ट गायिका’को अवार्ड प्राप्त गरिन् भने फिल्म ‘जारी’बाट उपेन्द्र सुब्बाले ‘नव निर्देशक’को अवार्ड जितेका थिए । निशान भट्टराईले फिल्म ‘परदेशी २’बाट ‘उत्कृष्ट गायक’, अनुपम गौतम शर्माले ‘उपहार’बाट ‘उत्कृष्ट भीएफएक्स’, ‘अगस्त्य’बाट श्री श्रेष्ठले ‘उत्कृष्ट एक्सन’, रामजी लामिछानेले ‘नांगो गाउँ’बाट ‘उत्कृष्ट कोरियोग्राफर’, सुभाष भुसालले फिल्म ‘बगान’बाट ‘उत्कृष्ट सङ्गीतकार’, निमेष श्रेष्ठले फिल्म ‘दिमाग खराब’बाट ‘उत्कृष्ट सम्पादक’को अवार्ड प्राप्त गरेका थिए भने सुशन प्रजापतिले फिल्म ‘दिमाग खराब’बाट उत्कृष्ट छायांकारको अवार्ड ,  ‘उत्कृष्ट पटकथा’को अवार्ड ‘जारी’बाट उपेन्द्र सुब्बा, उत्कृष्ट खलपात्रको अवार्ड फिल्म ‘अगस्त्य’बाट प्रमोद अग्रहरीले प्राप्त गरेका थिए ।

यस्तै, ‘उत्कृष्ट पर्दाको जोडी’को अवार्ड दयाहाङ राई र मिरुना मगरलाई प्रदान गर्दै गर्दा क्रिटिक्स अवार्डतर्फ नै ‘उत्कृष्ट नायक–नायिका’को अवार्ड फिल्म ‘बुलाकी’बाट नरेन खड्का र सुरक्षा पन्तले प्राप्त गरेका थिए । क्रिटिक्स अवार्डतर्फ ‘उत्कृष्ट निर्देशक’को अवार्ड प्रमोद शाहीले ‘अन्तिम संस्कार’बाट र ट्रेन्ड सेटरको अवार्ड निर्देशकद्वय रामबाबु गुरुङ र प्रदीप भट्टराईलाई प्रदान गरिएको थियो ।

 आयोजक सिनेमा सर्कल नेपालका अध्यक्ष समेत रहेका निर्देशक तथा कलाकार दिनेश डिसीले यो निरन्तर हुँदै आएको राष्ट्रिय स्तरको एक मात्र रहेको दाबी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप