लोपोन्मुख कठरिया जातिमा भाषा जागरण
धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका ६ सुवरखालका चक्रबहादुर कठरियाको मातृभाषा कठरिया हो । डंगौराथारुसहित अन्य भाषाको प्रभावले घर भन्दा बाहिर उनको सम्पर्क भाषा डंगौराथारु वा नेपाली हो । उनको कठरिया भाषा घरभित्रै सीमित हुन थालेपछि बाहिरको माध्यम भाषा अन्य भाषा बनेको हो ।
तर गाउँमै कठरिया भाषा सम्बन्धी एक महिने कक्षा सञ्चालन गरिएपछि उनी अब आफ्नै कठरिया भाषामा निर्धक्कसँग लेख्न र बोल्न हिचकिचाउन छोडेका छन् ।
उनी भन्छन्, ‘आफू कठरिया जाति भए पनि कठरियाबारे केही पनि जानकारी थिएन । जनसंख्याको हिसाबले कम भएको कारण अन्य भाषाको प्रभाव थियो । अब चाहिँ घर, समुदायमा आफ्नै भाषा लेख्न र बोल्न कक्षा लिएपछि भाषाप्रति उत्प्रेरित गरेको छ ।’
भाषालाई लोप हुन नदिन कठरिया समुदायका युवा युवतीका लागि ‘कठरिया भाषा सरासर पढ्ने र लेख्ने’ कक्षा सञ्चालन गरिएको छ ।
हिमाली आदिवासी समाज काठमाडौँ र कठरिया समाज नेपालको सहकार्यमा कैलालीस्थित विभिन्न पालिकामा १५ वटा कक्षा सञ्चालन गरिएको छ । जुन १५ वटा कक्षामा ४५० जना युवायुवतीहरूले कक्षा लिएका छन् ।
एक महिने भाषा कक्षासँगै पाठ्यक्रममै कठरिया समुदायको लिपी, भेसभुसा, कला, संस्कृति, खानपानलगायतबारे पनि उल्लेख गरिएपछि आफ्नो समुदायबारे नजिकबाट बुझ्न पाएका हुन् ।
एक महिने कक्षा लिएकी भजनी नगरपालिका ७ चर्राकी विना कठरियाले भाषासँगै समुदायको कला संस्कृति, भेसभुसाबारे नजिकबाट बुझ्न पाएको बताइन् ।
उनले भनिन्, ‘चाडपर्व, पहिरन, लवाइखवाइ सबै बिर्सिन लागेका थियौँ । कक्षामा सबै सिक्ने मौका मिल्यो । म आफै पनि हाम्रो परम्परागत अँगिया र लेहंगा बनाउने काम गर्दै आएको छु ।’
भाषा कक्षाले कठरिया समुदायका युवायुवतीलाई भाषाप्रति उत्साहित बनाउनुका साथै आउँदो पिँढीलाई समुदायका बारेमा सिकाउनुपर्छ भन्ने जागरण समेत ल्याइदिएको छ ।
चक्रबहादुर कठरिया भन्छन्, ‘हामीले आफ्नो नामको पछाडि ‘कठरिया’ थर मात्रै झुन्ड्याएर के गर्नु ? आफ्नै भाषा नै छैन भने केही छैन । कुन पनि जाति समुदायको उसको मौलिक भाषा उसको प्राण हो ।’
जानकी गाउँपालिका ४ मुनुवाकी अर्पण कठरियाले अगाडि भनिन्, ‘कुनै पनि समुदायको उसको भाषा र लिपी मुख्य आधारस्तम्भ हो । भाषा विना त्यस समुदायको अस्तित्व पनि हुँदैन । त्यही भएर मातृभाषा संरक्षण गर्नुपर्छ भन्ने जागरण आएको छ ।’
हिमाली आदिवासी समाज काठमाडौँका फिल्ड सुपरभाइजर ठागुराम कठरियाका अनुसार वैशाख पहिलो सातादेखि सुरु गरिएको प्रत्येक कक्षामा २५ देखि ३० जनाको सहभागिता रहेको थियो ।
कठरिया भाषाको वर्णसहित पाठ्य पुस्तक तयार गरी कक्षा सञ्चालन गरिएको हो । कक्षा सञ्चालनपछि लेखनशैलीमा एक रुपता, दस्तावेजीकरण र सांस्कृतिक जागरण ल्याएको उनको भनाइ छ ।
फिल्ड सुपरभाइजर कठरियाका अनुसार सो कक्षा जिल्लाको कैलारी गाउँपालिकाको लौसा र पवेरामा, घोडाघोडी नगरपालिकाको बगुलहिया, सिसैया, टपा, कोंटामा सञ्चालन गरिएको थियो । त्यस्तै, भजनी नगरपालिकाको चर्रा, बर्दगोरिया गाउँपालिकाको मुडा गाउँ, तुलसीपुर, भुरबा, सुवरखालमा, जोशीपुर गाउँपालिकाको सिमरी, घुसरी, लक्कडमा र जानकी गाउँपालिकाको मनुवामा कक्षा सञ्चालन गरिएको हो ।
कठरिया समुदायको अवस्था
कठरिया समुदाय थारु जातिभित्रको अलग्गै भाषा र पहिचान भएको अल्पसङ्ख्यक समुदाय छ । यो समुदायको बसोबास बर्दिया र कैलालीमा मात्रै रहेको छ । कठरिया समुदायको जातिय जनसंख्या कैलालीमा ४० हजार हुन सक्ने बताइएको छ ।
कैलाली जिल्लाको टीकापुर, लम्की चुहा नगरपालिका, घोडोघाडी नगरपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, धनगढी उपमहानगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिकामा कठरिया समुदायको स्थायी बसोबास रहिआएको छ । त्यस्तै, भारतको उत्तर प्रदेशस्थित लखिम खिरी क्षेत्रमा समेत कठरिया समुदायको बसोबास रहेको बताइएको छ ।
कठरिया वर्ण
छुट्टै भाषा रहेको कठरिया समुदायको आफ्नै लिपी भने छैन । देवनागरी लिपीमा नै पठनपाठनको लागि पाठ्यक्रम तयार गरिएको छ ।
हिमाली आदिवासी समाज (हिज नेपाल) काठमाडौँले प्रकाशन गरेको ‘कठरिया भासा सरासर पर्हना लिख्ना कछ्छा किताब’ अनुसार कठरिया समुदायमा बोलिने तथा उच्चारण हुने शब्दका अनुसार ६ वटा स्वर वर्ण र २९ वटा व्यञ्जन वर्ण पहिचान गरिएको छ ।
कठरियाको ऐतिहासिकता
डंगौरा थारूसँगै घुलमिल गरि बसेको कठरिया समुदायको आफ्नै प्राचीन इतिहास छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा २०७६/२०७७ मा आयोजित पुरातत्त्व सम्बन्धी कार्यशाला गोष्ठीमा प्रस्तुत गरिएको ‘सुदूरपश्चिमको डंगौरा, राना र कठरिया थारू’ कार्यपत्र अनुसार सो समुदायको आफ्नै इतिहास र मौलिक पहिचान रहेको पाइएको छ ।
कठरिया समाज नेपालले २०६८ मा तत्कालीन स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीमार्फत तत्कालीन प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा पनि सो समुदायले आफ्नै इतिहास र सभ्यता रहेको र हाल विविध कारणले लोप गइरहेकोले संरक्षण तथा सम्वद्र्धनको लागि राज्यको ध्यान जान आवश्यक रहेको भनी सुझाएको थियो ।
प्राचीन समयका ऋषि विशामपयनका सुपुत्र काठ ऋषिले काठोपानीरादा भन्ने ग्रन्थ लेखेका थिए । उनीबाट जन्मेका सन्ततिलाई कठरिया जाति भन्ने गरिएको छ ।
अर्को तथ्य अनुसार भारतको उत्तराखण्डको मुरादावाददेखि बदनयनसम्मको क्षेत्रलाई कठार क्षेत्र भनिन्थ्यो । उक्त कठार क्षेत्रमा बसोबास गर्ने जाति समुदायलाई कठरिया भन्ने गरिन्थ्यो । सन् १०६० ताका मुगल सम्राटद्वारा युद्धको थालनी हुँदा जीवन रक्षा गर्दै बसाइ सरी उत्तर दिशा अर्थात भारतको उत्तरी क्षेत्र र नेपालको दक्षिणी क्षेत्रमा यस जातिको बसोबास रहन गएको कथन छ । जस अनुसार कठरिया समुदायको उत्पत्ति भारतको त्यही कठार क्षेत्र नै हो भन्ने सो समुदायको दाबी पनि छ ।
सो कार्यपत्रमा भनिएको छ, ‘कठरिया समुदायले बोल्ने भाषा कठरिया भाषा हो। यस समुदायका थारुहरूले आफ्नो नामको पछाडि कठरिया लेख्छन् । उनीहरूको पहिचान नै कठरिया हो । उनीहरूलगायत परिचित सबैले कठरिया भाषा भनेर चिन्दछन् ।’