दिगो विकासको लक्ष्य : नेपाललाई कुन सूचकमा कति उपलब्धि ?
काठमाडौँ । नेपालले सन् २०३० सम्ममा दिगो विकास हासिल गर्ने लक्ष्य तय गरेको छ । सोही लक्ष्य अनुसार तेह्रौँ पञ्चवर्षीय योजनादेखि विकासशील मुलुकको सूचीमा स्तरोन्नतिको प्रयास भइरहेको छ । जुन, सन् २०२६ देखि पुरा हुँदै छ । नेपाल सन् १९७१ देखि हालसम्म अति कम विकसित राष्ट्रको सूचीमा रहँदै आएको छ ।
अति कम विकसित मुलुकको श्रेणीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि तय गरिएका तीन मापदण्डमध्ये नेपालले मानव सम्पत्ति सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कको मापदण्ड पूरा गरिसकेको छ । यसबाहेक, प्रति व्यक्ति आयसम्बन्धी तेस्रो मापदण्ड पनि निर्धारित सीमाभन्दा माथि पुग्ने आकलन सरकारले गरिसकेको छ ।
राष्ट्र सङ्घले प्रतिव्यक्ति आयको सीमा १३०६ अमेरिकी डलर राखेको छ । नेपाल सरकारका अनुसार सन् २०२४ मा नेपालको प्रतिव्यक्ति आम्दानी १४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान छ । यसअघि गत वर्षसम्म नेपालको प्रतिव्यक्ति आम्दानी १३ सय ७१ अमेरिकी डलर थियो ।
संयुक्त राष्ट्र सङ्घले सन् २०२३ मा प्रकाशन गरेको दिगो विकास प्रगतिको अध्ययन प्रतिवेदनले उक्त अध्ययनमा समाविष्ट १६६ मुलुकमध्ये नेपाल ६६.५ प्रतिशत अङ्कसहित ९९औँ स्थानमा छ । तर पनि यो पूर्वी तथा दक्षिण एसियाली मुलुकको औसत अङ्क ६७.२ प्रतिशतभन्दा न्यून हो । अन्तर्राष्ट्रिय स्पिल ओभर सूचकाङ्कमा शून्यलाई सबैभन्दा कमजोर तथा १०० लाई सबैभन्दा उत्तम मानिने गरेकोमा नेपालको अङ्क ९८.२ रहेको छ ।
तथ्यांकअनुसार प्रतिव्यक्ति आयतर्फ १३०६ अमेरिकी डलर हुनुपर्नेमा नेपालको आम्दानी १४५६ पुग्ने प्रक्षेपण राष्ट्रिय योजना आयोगले गरेको हो । यस्तै मानव सम्पत्ति सूचांक ६६ भन्दा माथि हुनुपर्नेमा नेपालको ७६.३ छ भने आर्थिक तथा वातावरणीय जोखिम सूचांक ३२ भन्दा न्यून हुनुपर्नेमा नेपालको २०.७ छ । यसले नेपाललाई विकाससील मुलुकको सूचीमा जानका लागि चाहिने तीन वटै सूचांक ‘थ्रेसहोल्ड’भन्दा माथि पुगेको देखाउँछ ।
नेपाल सरकारले चालू आर्थिक वर्षमा नै नेपालको प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलरमाथि पुग्ने प्रक्षेपण गरिसकेको छ । यसबाहेक सीमाको दोब्बर अर्थात २४२४ अमेरिकी डलर पुगेमा आयमा मात्र आधारित रहेर पनि अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुन सक्ने प्रावधान छ ।
अर्थमन्त्री वर्षमान पुन दिगो विकासको लक्ष्यमा नेपालले ४१.४ प्रतिशतको लक्ष्य हासिल गरेको बताउँछन् । उनले आर्थिक सर्वेक्षण जारी गर्दै लक्ष्यको ४१.४ प्रतिशत उपलब्धि हासिल गरेको जानकारी दिएका थिए । उनका अनुसार मानव विकास सूचांक, प्रतिव्यक्ति आय, खानेपानी र महिलाको स्थिति लगायत सूचकले दिगो विकासको लक्ष्यमा नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उनको भनाई थियो ।
नेपालले सन् २०१५ देखि नै विश्वव्यापी प्रतिबद्धतामा समावेश भएर दिगो विकास लक्ष्य हासिलको प्रयास गरेको थियो । सरकारी तथ्यांकअनुसार समग्रमा दिगो विकास लक्ष्यको प्राप्तिमा नेपालले सकारात्मक उपलब्धि हासिल गरेको छ । सन् २०२२ को लक्ष्यमा औसत उपलब्धि ५८ प्रतिशत छ । यस्तै सन् २०३० सम्मको लक्ष्यमा औसत उपलब्धि ४१.४ प्रतिशत र सन् २०३० सम्म हासिल हुन सक्ने उपलब्धि लक्ष्यको ६० प्रतिशत छ ।
नेपाल सरकारले सन् २०३० सम्म गरिबीको अन्त्यतर्फ ७८.६ प्रतिशत उपलब्धि हासिल गर्ने देखिएको छ । यस्तै शून्य भोकमारीतर्फ ७१.५ प्रतिशत र राम्रो स्वास्थ्य र समृद्धि जीवनस्तरतर्फ ५६.८ प्रतिशतको उपलब्धि हासिल हुने देखिएको छ । गुणस्तरीय शिक्षातर्फ ७१.१ प्रतिशत, लैंगिक समानता ५८.१ प्रतिशत, स्वच्छ पानी र सरसफाईतर्फ ५७.८ प्रतिशते उपलब्धि हासिल हुने अनुमान छ । यी उपलब्धि लक्ष्यभन्दा माथि रहेको समेत सरकारले जनाएको छ ।
जलमुनिको जीवन र स्रोत, भूसतहको जीवन, शान्ति, न्याय र सबल संस्थाहरू तथा विश्वव्यापी साझेदारी जस्ता सूचकको समेत लक्ष्य तय भएको छ । जसमा समेत नेपालले उल्लेखनीय प्रगति भइरहेको राष्ट्रिय योजना आयोगलाई देखाउँदै आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
खर्चले धान्न सक्ने स्वच्छ ऊर्जा ७०.१ प्रतिशत, मर्यादित काम र आर्थिक वृद्धि २९ प्रतिशत, उद्योग प्रवर्द्धन र पूर्वाधार ४२ प्रतिशत, असमानतालाई न्यूनीकरण ६५.७ प्रतिशत, सहरहरू र समुदायहरूको दिगोपना ८९ प्रतिशत तथा उपभोग र उत्पादनमा जिम्मेवारी पना ४३.१ प्रतिशत लक्ष्य हासिल हुने अनुमान गरिएको छ । सन् २०३० सम्म लाई राखिएका यी सूचकमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल हुने देखिएको छ । यसबाहेक २०३० सम्म कूल ७० वटा सूचकमा ४१.५ प्रतिशत उपलब्धि हासिल गर्ने सरकारी लक्ष्य रहेकोमा ६० प्रतिशत उपलब्धि हुने देखिएको छ ।
माथि उल्लेख गरिएका बाहेक जलमुनिको जीवन र स्रोत, भूसतहको जीवन, शान्ति, न्याय र सबल संस्थाहरू तथा विश्वव्यापी साझेदारी जस्ता सूचकको समेत लक्ष्य तय भएको छ । जसमा समेत नेपालले उल्लेखनीय प्रगति भइरहेको राष्ट्रिय योजना आयोगलाई देखाउँदै आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
दिगो विकास लक्ष्य कार्यान्वयनको आधाभन्दा बढी समय सकिँदा मिश्रित नतिजा हात परेको छ । गरिबी घटाउने लक्ष्य अन्तर्गत नेपाले उल्लेख्य नतिजा आत्मसाथ गरेको छ । सन् २०२२ को मध्यावधि समीक्षासम्म आइपुग्दा निरपेक्ष गरिबीको रेखा मुनी रहेको जनसङ्ख्या घट्दै गएको देखिन्छ । सन् २०३० सम्म गरिबीको रेखा मुनी रहेको जनसङ्ख्यालाई ८ प्रतिशतमा झार्ने लक्ष्य राखिएको थियो ।
यस्तै सन् २०२२ सम्ममा २२.९ प्रतिशतभन्दा मुनी झार्ने लक्ष्य तय भएकामा गरिबीको रेखा मुनी भएका जनसङ्ख्या १५ प्रतिशतमा झरेको तथ्याङ्क छ । यो लक्ष्यभन्दा उल्लेखनीय सफलता हो । यसैगरी बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या, विपदबाट ज्यान गुमाउनेको सङ्ख्या (प्रतिवर्ष), सामाजिक सुरक्षामा भएको खर्च (कुल बजेटको प्रतिशतमा) र वित्तीय पहुँच पुगेको घरपरिवारतर्फ समेत उल्लेखनीय (लक्ष्यभन्दा बढी) उपलब्धि हासिल भइसकेको छ ।
यसबाहेक बालबालिका, स्वास्थ्य स्थिति, पुड्कोपना, रक्त अल्पता, प्रतिव्यक्ति खाद्यान्न उत्पादन, जमिनको उत्पादकत्व लगायतका लक्ष्यमा समेत सकारात्मक उपलब्धि देखिएको छ । यसैगरी, मातृ मृत्युदर, नवजात शिशु मृत्युदर, सडक यातायात दुर्घटना मृत्युदर लगायतका सूचकमा समेत उल्लेखनीय काम भइरहेको देखिन्छ भने विद्यालय भर्नादर लगायतका तथ्याङ्क समेत सकारात्मक छन् ।
जसले सन् २०३० सम्म हासिल गर्ने भनिएको दिगो विकासको लक्ष्यतर्फ नेपालले उल्लेखनीय उपलब्धि हासिल गर्दै गइरहेको पुष्टि गर्छ ।