शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय
अर्थ

५ प्रतिशत कर वृद्धिसँगै सुनचाँदी व्यवसायीमा तरङ्ग

शनिबार, १९ जेठ २०८१, २१ : ३०
शनिबार, १९ जेठ २०८१

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८/०८२ को बजेटमार्फत सरकारले सुनको भन्सार कर वृद्धि गरेसँगै व्यवसायी तरङ्गित बनेका छन् । सरकारको बजेटसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमार्फत सुनको कर ५ प्रतिशत बढेको छ । यसअघि सुनको भन्सार कर १५ प्रतिशत रहेकामा बजेटसँगै यस्तो कर बढेर २० प्रतिशत पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले सरकारले अध्ययन र छलफल नै नगरी हचुवाको भरमा सुनको कर बढाएको प्रतिक्रिया दिए । महँगीले सुनको कारबार नै नहुने स्थिति बनिसकेको अवस्थामा सरकारले निर्णयले व्यवसायमा थप चुनौती थपिएको उनको भनाइ थियो ।  

सुनको कर बढाउँदा चोरी पैठारी बढ्ने र व्यवसाय घट्ने उनको शाक्यको भनाइ छ । उनले भारतमा भन्दा नेपालमा सुनको मूल्य बढी हुने स्थिति बनेकाले यो विषय चुनौतीपूर्ण रहेकाले आफूहरूले संस्थागत धारणा बनाएर सरकारसँग कुरा राख्ने उनले शनिवार बताए ।

उसो त सुनको भन्सार दर बढेसँगै बजारमा सुनको मूल्य समेत बढ्न थालिसकेको छ । बजेट घोषणा भएको दिन सुनको मूल्य तोलामा १ लाख ३७ हजार ६०० रुपैयाँ कायम भएकोमा शुक्रवारसम्म आइपुग्दा मूल्यले रेकर्ड बनाइसकेको छ । जसअनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ पुगिसकेको छ ।

सुनचाँदी व्यवसायी नरेन्द्र गुप्ताले सुनको भन्सार बढाउनमा स्वार्थ समूहको खेल रहेको आरोप लगाए । ‘सरकारको निर्णयले सीमावर्ती भारतीय क्षेत्रमा रहेका सम्पूर्ण व्यवसायीको मात्रै कल्याण हुन्छ ।

किनकि भारतमा भन्दा नेपालमा सुनको मूल्य ५ हजार रुपैयाँ महँगो हुन आउँछ’, उनले भने, ‘तर सिस्टममा व्यवसाय गर्ने नेपाली व्यवसायी यो निर्णयले मर्कामा पर्छन् ।’ उपभोक्ता पनि भारतीय बजारतर्फ आकर्षित हुने हुँदा यसको प्रभाव भयानक हुने उनको तर्क छ ।

उनले भने, ‘यसबारे सरकारले तत्काल एउटा समिति गठन गर्नुपर्छ । समितिमार्फत अध्ययन गरेर नेपाल र भारतको मूल्य बराबर हुने गरी निर्णय गर्नुपर्छ ।’ उनले भारतमा भन्दा सुनको मूल्य नेपालमा सस्तो भइसकेको उल्लेख गर्दै बजेटअघि भने समान रहेको उल्लेख गरे ।

उनले भने, ‘अब भारततर्फको सुन नेपालतर्फ आउने भयो । कसरी आउने भयो भने तस्करले यहाँ महँगोमा बेच्न पाउने भए । चीन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होइन अब खुला सिमानाबाटै सुन आउन सुरु हुने भयो । यो गलत भयो ।’

सीमा क्षेत्रमा व्यवसायीहरू भारतमा भन्दा नेपालमा महँगो भएसँगै व्यवसाय चौपट हुने त्रासमा रहेको बताइएको छ । यसले अर्थतन्त्रमा नै धक्का लाग्न सक्ने व्यवसायीहरूको धारणा छ ।

भन्सार बढाएर सुनमा चलखेल गर्न स्वार्थ समूहले ले अर्थमन्त्रीलाई दिग्भ्रमित पार्ने काम गरेको आरोप लगाउँदै गुप्ताले यसबारे गम्भीर बन्दै समिति गठन गरेर समस्याको बेलैमा समाधान खोज्नुपर्नेमा जोड दिए । विगतमा चीनतर्फबाट नेपाल हुँदै भारततर्फ सुन तस्करी हुने गरेको टिप्पणी हुने गरेकोमा सरकारको पछिल्लो निर्णयबाट भारततर्फबाट सुन तस्करी नेपाल हुँदै बढ्ने खतरा बढेको छ ।

खतरा किन पनि बढेको छ भने खुला सीमा नाका कारण तस्करहरूले सहजै भारतीय बजारबाट सुन खरिद गरेर नेपालतर्फ ल्याउन सक्नेछन् । यसले सरकारको राजश्वमा धक्का त लाग्ने नै छ स्वदेशी सुनचाँदी व्यवसायमा पनि गम्भीर असर पुग्न कतिपयको भनाइ छ ।

यस्तै आइतबार केही व्यवसायीले यसबारे माइतीघर मण्डलमा प्रदर्शनको तयारी समेत गरेका छन् । यसैबिच नयाँ बजेटले विदेशबाट नेपाल फर्किँदा ल्याउन पाउने सुनको कोटा पनि घटाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप