बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
कथा

जब मिटरब्याजी धनुकलालका छोरा भिक्षु बने

शनिबार, १९ जेठ २०८१, २० : ३७
शनिबार, १९ जेठ २०८१

गाउँको बिचमा साहु धनुकलालको विशाल महल छ । महलको फलामे गेटमा २४सै घन्टा सुरक्षाकर्मी बसेका हुन्छन् । महलको प्राङ्गणमा दुईवटा गाडी छन् । महलको भुइँतला एक खालको कार्यालयजस्तो छ; जहाँ दिनभरि लेनदेनका तमसुक, राजीनामा पास, दृष्टिबन्धक जस्ता कागजात तयार हुन्छन् । यो घर एउटा कचहरी हो, जहाँ दिनभरि ऋण तिर्ने वा ऋण लिनेहरूको भिड भइरहन्छ ।

धनुकलाल र चन्द्रमुखीका एक मात्र छोरा सिद्धार्थ कक्षा ८ मा अध्ययन गर्छन् । उनलाई ड्राइभरले स्कुलमा पु¥याउने र लिने जाने गर्छन् ।

एक दिन सिद्धार्थ स्कुलबाट फर्कंदा घरको गेटबाहिर मैलो साडी लगाएकी एउटी महिला बसिरहेको देखे । ती महिलाका करिब दुई वर्षीय छोराले भुइँमा बिछ्याइएको अखबारमाथि भुजा(मुराइ) राखेर खाइरहेका थिए । महँगा चकलेट खाने, नयाँ र राम्रा लुगा लगाउने सिद्धार्थका लागि यो दृश्य विरक्तलाग्दो थियो । उनी गाडीबाट झरेर ती बालक भएतिर गए र  

आफ्नो ब्यागबाट एउटा बिस्कुटको प्याकेट निकालेर ती बच्चाको आमालाई दिएर भने, ‘बौवा के खियादे ।’

सिद्धार्थका लागि घरमा आमाले नानाथरीका परिकार तयार गरेर राखेकी थिइन् । आज भने सिद्धार्थमा ती विभिन्न परिकारप्रति कुनै रुचि थिएन । छोराको उदास अनुहार देखेर आमाले सोधिन्, ‘बाबु, के भयो ? बिरामी भयौ कि ?’

उनले छोराको निधार छामिन् । 

सिद्धार्थ बोले, ‘ममी कति दिनसम्म यस्तो गरिरहनुहुन्छ बुबाले ? अब हामीलाई नपुग्ने केही छैन । दुनियाँलाई चर्को ब्याजमा ऋण दियो अनि कतिको जग्गा–जमिन र घरबार खाइदियो ! धेरैको रुवाबासी भएको छ । मलाई यो सब ठिक लागिरहेको छैन । भगवान् बुद्धको उपदेशमा लेखिएको छ— यो संसारका सबै प्राणी मरणशील छन् । एक दिन हामी पनि मरेर जान्छौँ, त्यति बेला यो अथाह सम्पत्ति के गर्नु आमा ?’

सिद्धार्थले यसअघि यस्ता कुरा गरेका थिएनन्; अकस्मात उनले ज्ञानका कुरा गरेको सुनेर आमा असमञ्जसमा परिन् । तैपनि उनले छोरालाई सम्झाउन थालिन्, ‘हेर बाबु, तिमी अहिले सानै छौ, धेरै ज्ञानको कुरा नगर । सम्पत्तिको महत्त्व कति हुन्छ भन्ने तिमीलाई थाहा छैन । हेर, पहिले हाम्रो पनि यस्तो अवस्था थियो, जति बेला पैसाको अभावमा हामी कैयौँ रात भोकै सुतेका थियौँ ।’ 

‘ममी ! समय सधैँ एकनास हँुदैन । दिनपछि रात र रातपछि दिन हुन्छ । तर त्यस्तो भयो भन्दैमा हामीले हाम्रो असल मार्ग बिर्सनु हँुदैन ।’ यति भनेर सिद्धार्थले थोरै खाजा खाए, अनि आफ्नो कोठामा गए । 

०००

२५ वर्ष अघिको कुरा हो, जति बेला धनुकलालले भर्खरै चन्द्रमुखीसँग विवाह गरेका थिए । त्यस समयमा उनीहरूको जीवन दयनीय थियो । धनुकलालले साहुको घरमा हलीको काम गर्थे । त्यही कामबाट आएको चामल, दाल, मकै, सागसब्जीले जीविका चलाउँथे । त्यसले पनि नपुगेर चन्द्रमुखीले छरछिमेकका घरमा काम गर्न जान्थिन् । बढी इमानदार भएका कारण उनीहरूलाई आर्थिक समस्या परिरहन्थ्यो । 

समय बदलियो, त्यसको केही वर्षमै धनुकलालले एक टुक्रा घडेरी किने । ६ महिना मात्र के बितेको थियो, त्यो जग्गाको मूल्य बढेर तीन गुना भयो । धनुकलालले तुरुन्तै त्यसलाई बेचेर त्यही पैसाले अर्को ठाउँमा अलि बढी जग्गा किने । नयाँ जग्गाको पनि केही समयमै मोल बढ्यो । अब धनुकलाल सबै काम छाडेर बिस्तारै जग्गा किन–बेचको कारोबारमा लागे । योसँगै उनले बैंक तथा सहकारीसँग ऋण लिन थाले र सर्वसाधारणलाई चर्को ब्याजमा ऋण दिन थाले ।   

क्रमशः उनी समाजमा शक्तिशाली व्यापारीका रूपमा देखिए; नेता, मन्त्री, सांसद, प्रशासक सबैसँग उनको सम्पर्क हुन थाल्यो । 

सुरुमा उनीहरूको सन्तान भएको थिएन । उनीहरूलाई एक ज्योतिषीले भनेका थिए, ‘तपाईंहरूको एउटा छोरो जन्मनेछ । जो धेरै ज्ञानी, धर्मात्मा र महापुरुष हुनेछ । यसका लागि तपाईंहरू एकपटक भगवान् बुद्धको शरणमा जानुस्, अर्थात् बुद्धको जन्मस्थल लुम्बिनीमा दर्शन गर्न जानुुस् ।’ 

लुम्बिनी दर्शन गरेर आएको केही दिनभित्रै चन्द्रमुखी गर्भवती भइन् र वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीका दिन छोराको जन्म भयो । भगवान् बुद्धको आशीर्वाद सम्झेर उनीहरूले छोराको नाम सिद्धार्थ राखे । 

०००

केही दिनअघि सिद्धार्थ नयाँ वर्ष मनाउनका लागि घरबाट निस्के । साँझ अबेरसम्म घर फर्केनन् । उनको घरमा शासक, प्रशासक र नेताहरूको भिड लागेको थियो । विभिन्न परिकार पाकेका थिए । पाहुनाहरू महँगा मदिरामा रमाइरहेका थिए । सबै पाहुना गएपछि मात्र सिद्धार्थ घर आइपुगे । टीभीमा समाचार हेरेर उनी छक्क परे । उनका गाउँका केही मानिस कैयौँ दिन पैदल हिँडेर काठमाडौँ पुगेको समाचारमा देखाइएको थियो । 

पैदलयात्रीमा बच्चासहितकी एउटी महिला पनि थिइन्, जसलाई उनले केही दिनअघि आफ्नो घरको गेटमा देखेका थिए । 

उनी टीभीमा बोल्दै थिइन्, ‘धनुकलाल साहुसँग मेरो श्रीमानले चार वर्षअघि एक लाख रुपैयाँ सापटी लिएका थिए । पाँच लाख तिरिसक्दा पनि अझै ५ लाख तिर्न बाँकी रहेको हिसाब देखाएका छन् ।’ 

समाचार हेर्दाहेर्दै सिद्धार्थको आँखाबाट आँसुका धारा बग्न थाले । सिद्धार्थले जताततै ती महिलाका अबोध छोरालाई देख्न थाले, जसलाई उनले केही दिनअघि बिस्कुट दिएका थिए ।

भोलिपल्ट बिहान, अबेरसम्म सिद्धार्थ नउठेपछि चन्द्रमुखी ढोका ढकढकाउन गइन् । सिद्धार्थ कोठामा थिएनन् । घरका सबैजना उनको खोजीमा लागे । घरभित्र र घर वरपर उनी भेटिएनन्, त्यसपछि परिवारले प्रशासनमा खबर ग¥यो । यस्तो घटना यसअघि भएको थिएन, घरका सबै आत्तिएका थिए । 

दिन बित्दै गयो, तर पुलिस प्रशासनले सिद्धार्थको अवस्था पत्ता लगाउन सकेको थिएन । आमा चन्द्रमुखी क्षण–क्षणमा मुर्छा पर्थिन् । 

अन्ततः आफ्नो जन्म दिनमा सिद्धार्थले आमालाई फोन गरे र भने, ‘ममी ! म यही गाउँमै छु । मेरो स्कुल नजिक रहेको बौद्ध विहारमा मलाई भेट्न आउनू ।’

आमा चन्द्रमुखीको खुसीको सीमा नै रहेन । उनले तुरुन्त सबै कुराको जानकारी धनुकलाललाई गराइन् । विभिन्न परिकार लिएर उनीहरू बौद्धविहार पुगे । 

बौद्ध विहारका पदाधिकारीले एक निश्चित स्थानमा धनुकलाल र चन्द्रमुखीलाई बस्न लगाए । बुद्ध जयन्ती भएकाले त्यहाँ ठुलो भिड लागेको थियो । चन्द्रमुखी र धनुकलालका आँखाले छोरा सिद्धार्थलाई खोजिरहेका थिए । उनीहरूले आफ्नो नजिक आउने जोसुकैलाई सिद्धार्थ कहाँ छ भनी सोधिहाल्थे । 

एक छिनपछि बौद्ध विहारका एक प्रतिनिधि आएर भने— अबको एकछिनमा भिक्षुहरूलाई भोजन गराउने कार्यक्रम छ, त्यहीँ नै तपाईंहरूले छोरालाई भेट्न पाउनुहुन्छ । 

एकैछिनमा भिक्षुहरु भोजनका लागि बसे । चन्द्रमुखीले पनि आफू्ले ल्याएका भोजन भिक्षुहरूलाई बाँडिरहेकी थिइन् । छोराले पनि भिक्षुहरुलाई भोजन बाँड्दै होला भन्ने उनलाई लागेको थियो । त्यही बेला उनले अचानक ‘ममी’ भनेको सुनिन् । आफ्नै अगाडि उनले कपाल खौरेको र चीवर (वस्त्र) धारण गरेको छोरालाई देखिन् । एकछिन त चन्द्रमुखी अलमलमा परेकी थिइन्, नियालेर हेरेपछि छोरा नै भएको थाहा भयो । उनले छोरालाई अँगालेर रुन थालिन् ।

धनुकलाल पनि दौडँदै आइपुगे । छोराको रूप र पहिरन देखेर आमाबुबा दुवै भावुक भए । उनीहरूका हातखुट्टा कामिरहेका थिए । आमाबुवा दुवैले सिद्धार्थलाई घर जान आग्रह गरे ।

सिद्धार्थले बिस्तारै भने, ‘आमाबुबा ! मेरो भाग्यमा यस्तै रहेछ । मलाई यो भौतिक सुख–सम्पत्तिले आनन्द दिन सकेन । त्यसैले म बुद्धको मार्गमा लागेँ । तपाईंहरूले दुःख नमान्नुस्, घर जान आग्रह पनि नगर्नुस् । अबदेखि मेरो घर यही हो । अबदेखि मेरो बाटो अलग छ । यो संसारमा लोभी, पापी, स्वार्थीहरू धेरै छन्; जो अर्कालाई दुःख दिएर आफू मात्र रमाउन चान्छन् । 

यहाँ धन–सम्पत्तिका लागि हत्या–हिंसा भइरहेको छ, जसले हामीलाई शान्ति दिँदैन । भगवान् बुद्धले शान्तिको मार्ग अँगालेर सारा संसारलाई सत्यको मार्र्ग देखाए तर पनि आज सबैले सत्यलाई बिर्सेर गलत कर्ममा लागेका छन् । म पनि यो संसारमा फेरि एकपटक शान्तिको बिगुल फुक्न निस्केको छु, मलाई नरोक्नुस् । 

जुन दिन संसारका सबै मानिस लोभ, लालच, हत्या र हिंसाबाट मुक्त हुनेछन्; त्यस दिन म अवश्य घर आइपुग्छु ।’

यति भनेर सिद्धार्थले भोजन ग्रहण गरे । त्यसपछि भगवान् बुद्धको मूर्ति अगाडि गएर ध्यानमा बसे । धनुकलाल र चन्द्रमुखीले रुनबाहेक केही गर्न सकेनन् । उनीहरू निकैबेर छोरालाई हेरेर बसे र बेलुकी पख घर फर्के । उनीहरूलाई १४ वर्षअघि ज्योतिषीले भनेका कुरा सम्झना भयो । 

भोलिपल्ट, धनुकलालले सबै ऋणीलाई फोन गरेर बोलाए । कतिका जग्गा, कतिका रुपैयाँ एक–एक हिसाब गरी प्रक्रिया पु¥याएर फिर्ता गरे । त्यसपछि भगवान् बुद्धको आराधना गर्दै आनन्दको जीवन बिताउन थाले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश शाह
रमेश शाह
लेखकबाट थप