बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस बैठकमा शशांकः ‘सुनाए भगवान शिवले विष पिएको प्रसंग र समुद्र मन्थनको कथा’

आइतबार, १६ वैशाख २०७५, १९ : २४
आइतबार, १६ वैशाख २०७५

काठमाडौं– कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टीभित्र आएका गुनासो, विरोध र आक्रोसलाई अन्यथा लिन नहुने बताएका छन् ।  पार्टी केन्द्रीय कार्य समिति बैठकमा आफ्नो धारणा प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । महामन्त्री कोइरालाले आफ्नो धारणा राख्ने क्रममा पार्टीभित्र आएका नराम्रा र विषालु कुराहरुलाई बाहिर बग्न दिन नहुनेमा समेत जोड दिएका छन् ।

पार्टी बैठकमा आफ्नो अवधारणा प्रस्तुत गर्दै उनले भनेका छन्ः ‘पौराणिक कालमा देवता र दानव मिलेर समुन्द्र मन्थन गर्दा हलाहल विष निस्क्यो । त्यो विष समाजमा प्रवाहित हुन दिएको भए संसार दग्ध हुन्थ्यो । तर भगवान शिवले त्यो विषलाई कण्ठमा धारण गरेर संसारलाई बचाउनुभयो, अमृतको मात्र वितरण गरेर मनुष्य लगायत सबै प्राणीहरुको रक्षा गर्नुभयो । मैले यो प्रसंग किन उधृत गरेको हँु भने नराम्रा र विषालु कुराहरुलाई हामी आफैले समन गरौं, वाहिर वग्न नदिऔं ।’


यस्तो छ कोइरालाले बैठकमा प्रस्तुत गरेको धारणाः

आदरणीय सभापतिज्यू, 
बरिष्ठ नेताज्यू, 
कोषाध्यक्षज्यू, 
पूर्व पदाधिकारीज्यूहरु एवं केन्द्रीय कार्यसमितिका सदस्य साथीहरु,

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७४ साल चैत्र ९ गते देखी प्रारम्भ भएको थियो । यस बैठकमा सभापतिज्यूले एजेण्डा प्रस्तुत गर्दा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समग्र समिक्षा गर्ने भन्नु भएको छ । यस विषयमा पार्टीका केन्द्रीय सदस्यज्यूहरुले गहिरो र सुक्ष्मरुपबाट समग्र निर्वाचनको समीक्षा गरिसक्नुभएको छ । निर्वाचनमा पराजयका कारण पहिल्याउँदै आगामी दिनमा पार्टीले चाल्नुपर्ने कदम, लिनुुपर्ने विचार, नीति र कार्ययोजना समेतका विषयमा सुझावहरु आएको मैले महशुस गरेको छु । म पनि यस सन्दर्भमा केही चर्चा गर्न चाहन्छु । 

सभापतिज्यू
हामी तीनै तहको निर्वाचनमा अनपेक्षितरुपमा पराजित भयौं । अर्थात निर्वाचनको नतिजा चित्तबुझ्दो आएन । यसबाट पार्टीका साथीहरुमा निराशा, छट्पटी र तनाव बढेको छ । यो कसरी भयो ? आखिर किन जित्न सकिएन निर्वाचन ? यो प्रश्न हाम्रा निम्ती निकै पेचिलो र गम्भिर छ । यसको बस्तुनिष्ठ समिक्षा हुनै पर्दछ । नेतृत्व तहमा बसेका हामीहरु नै यस विषयमा अझ बढी चिन्तनशिल हुनु पर्दछ । 
नेपाली कांग्रेसको स्थापना पछिको झण्डै सात दशकको अधिकांश समय हामीले संघर्षमै विताएका छौं । नेपाललाई निरंकुश, सामन्ती र अन्धकारपूर्ण युगबाट जनताको अपार सहभागितामा लोकतान्त्रिक युगमा पदार्पण गराएका छौं । यस क्रममा पछिल्लो ऐतिहासिक जनआन्दोलन मार्फत संविधान सभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान लेखन र यसको सफलतापूर्वक कार्यान्वयन हाम्रै नेतृत्वमा सम्पन्न भएको छ ।

यस दौरानमा नेपाली कांग्रेसले राज्य संचालनका धेरै अवसरहरु प्राप्त ग¥यो ।  तर पार्टीमा दुःख गरेका पुराना साथीहरु, क्षमतावान र विचारवान साथीहरुको मूल्यांकन गर्न र समुचित भूमिका दिन सकिएन । यस पटकको चुनावको दौरानमा भएको उम्मेदवारी छनौटमा समेत हाम्रो विवेक पुग्न सकेन । जनताले रुचाएका र पार्टीका साथीहरुले पत्याएका नेता कार्यकर्ताहरुलाई हामीले उपयुक्त अवसर दिन नसकेकै हो ।

यसमा मलाई निकै गहिरो दुःख छ । नेपाली कांग्रेसबाट सबैभन्दा अवसर पाएका हामीहरु बीच नै सबैभन्दा वढी झगडा र असन्तुष्टि छ । हामी सरह काम गरेका वा हामी भन्दा बढी दुःख गरेका साथीहरुले असाध्यै न्यून अवसर पाउनु भएको छ या पाउनु भएकै छैन । तर पनि उहाँहरु पार्टी संगठन र लोकतन्त्रप्रति हामी भन्दा वढी चिन्तित र क्रियाशील देखिनुहुन्छ । त्यसको हेक्का हामीले पटक्कै राखेका छैनौं । 

हामी त चिनिएका छौं, समाजमा मान सम्मान पनि छ, तर ती हजारौं साथीहरु जसलाई कसैले चिन्दैन । लोकतन्त्र प्राप्ती र पुर्नप्राप्तीको लामो लडार्इंमा अतुलनिय योगदान गरेका ती साथीहरु लोकतन्त्रको मन्दिरको जगमा गडेका त्यस्ता बहुमूल्य पथ्थरहरु हुन, जसको अमूल्य त्याग र वलिदानले गर्दा आज हामी यसरी उभिन पाएका छौं । सत्तामा रहँदा उत्साहको घडीमा हामीले त्यस्ता साथीहरुलाई कति संझ्यौं, उनिहरुको घरपरिवारको अवस्था कति बुझ्यौं ? यसमा मेरा पनि आफ्ना कमी कमजोरीहरु छन् । म ती सबै कमि कमजोरीहरुलाई निसंकोच स्विकार गर्दछु । 

मैले नेपाली कांग्रेसको इतिहास, संघर्षगाथा, अग्रज नेताहरु र पार्टीका साथीहरुको योगदानलाई बाल्यकाल देखिनै नजिकबाट नियालेको छु । आफ्नो जीवनको पर्वाह नगरी क्रान्ति, संघर्ष र आन्दोलनको बलिवेदीमा होमिएका हजारौं कार्यकर्ता साथीहरुको त्याग र वलिदानलाई देखेको छु । ती क्षणहरु सम्झँदा वेला वेलामा निकै भावुक पनि हुने गर्दछु । आखिर केका लागि थियो त्यो त्याग र वलिदान ? देश, जनता, लोकतन्त्र भन्दा पर पार्टीका साथीहरुको अरु कुनै स्वार्थ थिएन । मैले चिनेका भेटेका र संगै बसेका धेरै साथीहरु आज हाम्रा माझ हुनहुन्न । आज म ती सबै साथीहरुको चेहरा झल्झल्ती सम्झिरहेको छु । 

म आजको यस ऐतिहासिक बैठकमा साथीहरुलाई इतिहासका ती कठीन दिनहरु स्मरण गर्न आग्रह गर्दछु । वर्तमानका चुनौतिहरुलाई विगतका संकटहरु भन्दा कुनै पनि दृष्टिबाट पेचिलो मान्नु हुदैन । यद्यपी यतिबेला दुइटा कम्युनिष्ट पार्टीहरु एक भएर फराकिलो बहुमत सहितको सरकार बनेको छ । हामीेले अगाडी बढ्नु छ ।

यसका लागि सबैभन्दा पहिले हामीले अहिलेसम्म प्राप्त गरेका उपलब्धीहरुप्रति गौरवान्वित हुन सक्नु पर्दछ । २००७ सालको क्रान्ति देखि आजसम्म नेपाल र नेपालीका लागि हामीले जे जति काम ग¥यौं, त्यो अतुलनीय छ । प्रजातन्त्रको स्थापना, पुनस्र्थापना हुँदै  हामी संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आईपुगेका छौं । यो राजनीतिक प्रणाली मार्फत हामी नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउन चाहन्छौं । यो शासन प्रणाली हाम्रा लागि साध्य होइन, साधन मात्रै हो, गन्तव्य होईन, बाटो मात्र हो । तसर्थ अव हामी नयाँ यात्रा प्रारम्भ गरौं । 

सभापतिज्यू
तपाईको नेतृत्वमा यति ठुलो ऐतिहासिक निर्वाचन भयो, हामीले स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो । हाम्रा श्रद्धेय नेता सुशील कोइरालाको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन भयो । पछिल्लो ऐतिहासिक जनआन्दोलनका कमाण्डर युगपुरुष गिरिजाप्रसाद कोइरालाले प्रारम्भ गर्नुभएको शान्तिप्रकृया तार्किक निष्कर्षमा पुग्यो । यो हाम्रा लागि ठुलो गौरवको विषय हो । त्यसैले सभापतिज्यू, पार्टीका साथिहरुको गुनासो, विरोध र आक्रोश समेतलाई हामीले अन्यथा लिनु हँदैन ।

यही बैठकमा पार्टीका नेता साथीहरुले व्यक्त गर्नु भएका लिखित र मौखिक विचारहरु समेत पार्टीको वर्तमान अवस्था र भविष्यप्रति चिन्तित भएर नै प्रकट भएका हुन भन्ने म ठान्दछु । शैली, भाव भङ्गीमा र प्रस्तुती जे जस्तो भएपनि यी सबै कथनहरुको अन्तर्यमा पार्टी र लोकतन्त्रप्रतिको गहिरो चिन्ता अन्तरनिहित छ । म सबै साथीहरुलाई निसंकोच रुपमा आआफ्ना विचार राख्नु भएकोमा धन्यवाद दिन चाहन्छु । 

म आफू एक राजनीतिक परिवारको सदस्य भएपनि पार्टी भित्र म भन्दा धेरै योगदान गरेका साथीहरु  हुनुहुन्छ । मैले त साथीहरु भन्दा धेरै अवसर पाइसकें । बारम्बार सांसद, केन्द्रीय सदस्य हुँदै अहिले पार्टीको महामन्त्री पनि छु । यो भन्दा ठुलो सम्मान मेरा लागि अरु के हुनसक्छ ।

मैले सधैभरि पार्टीको हित र यसको उज्ज्वल भविष्यको लागि आफूलाई समर्पित गरेको छु र गरिरहने छु । मैले पार्टी र गुट रोज्दा सधैभरि पार्टीलाई नै रोज्नेछु । समुह र संस्था रोज्दा सधैभरी संस्थालाई नै रोज्नेछु । मेरो त एउटै ध्येय छ, पार्टीका साथीहरुको आत्मसम्मान कसरी बढाउने र बढी भन्दा बढी अवसर कसरी प्रदान गर्ने । नेपाली कांग्रेस पार्टीलाई मुलकको सवैभन्दा बलियो, भरपर्दो र जनताको सुख दुखको साथि कसरी बनाउने ।

सभापतिज्यू
हाम्रा प्रातः स्मरणीय नेताहरु बी.पी., सुवर्णजी, गणेशमानजी, किसुनजी, गिरिजाबाबु र सुशीलदा लगायत सबै अग्रजहरुले छाडेर जानु भएको विरासतलाई कसरी धान्ने र वहाँहरुको सपनालाई कसरी सार्थक बनाउने भन्ने नै हो । म यस अवसरमा तपाईहरुलाई आश्वस्त पार्न चाहन्छु, मैले आजसम्म आफ्नो स्वार्थलाई केन्द्रविन्दुमा राखी कुनै कदम चालेको छैन । मेरो ध्येय पार्टीलाई एकताबद्ध राख्ने भन्ने हो । आज पनि हामी विच बलियो एकताको आवश्यकता छ । म सभापतिज्यू, बरिष्ठ नेता रामचन्द्र पौडेललगाएतका सबै नेता साथीहरुलाई पार्टीमा व्यापक एकता कायम राख्दै, आपसी सद्भाव बढाएर मात्र बर्तमानका चुनौतिहरुलाई सामना गर्न सकिन्छ भन्न चाहन्छु । यसको तात्पर्य हामीबाट कमजोरी भएको छैन र यसको चर्चा गर्न आवश्यक छैन भन्ने होइन । मैले यसको उल्लेख गरिसकें । साथीहरुका सबै कुरालाई हामीले स्वीकार गर्नुपर्दछ । 

पौराणिक कालमा देवता र दानव मिलेर समुन्द्र मन्थन गर्दा हलाहल विष निस्क्यो । त्यो विष समाजमा प्रवाहित हुन दिएको भए संसार दग्ध हुन्थ्यो । तर भगवान शिवले त्यो विषलाई कण्ठमा धारण गरेर संसारलाई बचाउनुभयो, अमृतको मात्र वितरण गरेर मनुष्य लगायत सबै प्राणीहरुको रक्षा गर्नुभयो । मैले यो प्रसंग किन उधृत गरेको हँु भने नराम्रा र विषालु कुराहरुलाई हामी आफैले समन गरौं, वाहिर वग्न नदिऔं । राम्रा र सकारात्मक कुराहरुलाई पार्टीको सबै तहमा प्रवाहित गरौं । यसबाट हामीलाई अपरिमित आत्मविश्वास र अजेय शक्ति प्राप्त हुन्छ । यो आजको आवश्यकता हो । अव हामी भविष्यको मार्गचित्र तयार गर्न लागौं । यो बैठकको समापन हुँदा अझ वढी उत्साह र आत्म विश्वासका साथ हाम्रो पार्टीलाई फेरी नेपाली जनताको सबैभन्दा विश्वशनीय र प्रिय पार्टीको रुपमा पुर्नस्थापित गर्ने दृढ निश्चयका साथ क्रियाशील हुन पार्टीका सबै साथीहरुलाई अभिप्रेरित गर्न सकौं ।

हाम्रो अग्रसरता नहुँदा या हामीले अभिरुचि नदेखाउँदा निराश भएर निष्कृय रहेका अग्रजहरु र  ठुलो लोकतन्त्रवादी जनमत कांग्रेस बाहिर छ । नेपाली कांग्रेसको दायरा बाहिर रहेका तर पार्टीमा आउन चाहने राम्रा व्यक्तिहरुलाई हामीले ढोका खोल्नु पर्दछ । मलाई आत्मविश्वास छ एउटा राजनीतिक परिवारको सदस्य र पार्टीको महामन्त्रीको नाताले भन्न चाहन्छुकी हामी पार्टीलाई जुनसकै र जस्तोसकै संकटबाट पनि पार लगाउन सक्छौं । पार्टीका साथीहरुका भावना र आकांक्षा मुताविक पार्टीलाई अघि बढाउन सक्छौं । म यस कुरामा पार्टीका सबै साथीहरुलाई विश्वासका साथ आश्वस्त पार्न चाहन्छु ।   

जय नेपाल !
डा. शशांक कोइराला
  महामन्त्री
 
२०७५ बैशाख १६ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप