बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

टी–२० विश्वकपको नवौँ संस्करण : उद्घाटन खेलमा विश्व क्रिकेटकै सबैभन्दा पुराना प्रतिद्वन्द्वी आमनेसामने

शनिबार, १९ जेठ २०८१, १८ : ४५
शनिबार, १९ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आइतबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल नेपाली समयअनुसार, आइतबार बिहान ६ :०० बजे सुरु हुनेछ । उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिकाले छिमेकी राष्ट्र क्यानडाको सामना गर्नेछ ।

अमेरिकाले आयोजकका रूपमा विश्वकप खेल्ने अवसर पाएको हो । क्यानडा भने अमेरिकी क्षेत्रको छनोट चरण पार गर्दै विश्वकपमा उपस्थित भएको हो । प्रतियोगिताको उद्घाटन खेल अमेरिकाको टेक्सासमा खेलिने छ ।

पहिलो दिन दुई खेल हुनेछन् । पहिलो दिनको दोस्रो खेल अर्को आयोजक राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएसजी) बिच हुनेछ । पीएनजी छनोट चरण पार गर्दै विश्वकपमा पुगेको हो । वेस्ट इन्डिज र पीएनजीबिचको खेल नेपाली समयअनुसार, राति २०:१५ बजे सुरु हुनेछ । खेल गुयनामा खेलिने छ ।

अमेरिका र क्यानडा समूह ‘ए’ मा छन् । उक्त समूहमा पूर्वविजेता भारत र पाकिस्तानका अतिरिक्त आयरल्यान्ड पनि रहेको छ । वेस्ट इन्डिज र पीएनजी भने समूह ‘सी’ मा छन् । उक्त समूहमा युगान्डा, न्युजिल्यान्ड र अफगानिस्तान पनि छन् ।

टी–२० विश्वकपको नवौँ संस्करण जुन २९ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिता अमेरिकाका तीन र वेस्ट इन्डिजका ६ वटा रंगशालामा खेलाइँदै छ । अमेरिकामा पहिलो पटक क्रिकेटको विश्वकप आयोजना भएको हो ।

टी–२० विश्वकपको नवौँ संस्करणमा सहभागी टोलीको सङ्ख्या पनि बढाइएको छ । विश्वकपको यो संस्करणमा कुल २० टोलीको सहभागिता रहेको छ । अघिल्लो संस्करणमा भने १६ वटा टोलीले सहभागिता जनाएका थिए ।

टी–२० विश्वकपको इतिहासमा दुई राष्ट्रले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेको यो दोस्रो पटक हो । यसअघि सन् २०२१ मा संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानले संयुक्त रूपमा टी–२० विश्वकप आयोजना गरेका थिए ।

नवौँ संस्करणका क्रममा कुल ५५ खेल खेलिने छ । प्रतियोगिताको समूहगत चरणमा ४० खेल हुनेछन् । प्रतियोगिताको ‘सुपर एट’ चरणमा कुल १२ खेल खेलिने छ । त्यसपछि सेमिफाइनलमा दुई र फाइनलमा एक गरी तीन खेल हुनेछन् ।

442491922_1505283816750390_1963646262855981957_n

  • टी–२० विश्वकपमा अमेरिका

आईसीसी टी–२० विश्वकपमा अमेरिकाले पहिलो पटक सहभागिता जनाउन लागेको हो । अमेरिकाले क्रिकेटको कुनै पनि ढाँचाको विश्वकप खेल्न लागेको यो पहिलो पटक हो । अमेरिकाले आफ्नो दोस्रो खेल जुन ६ तारिखमा पाकिस्तानसँग, तेस्रो खेल जुन १२ तारिखमा भारतसँग र चौथो खेल जुन १४ तारिखमा आयरल्यान्डसँग खेल्नेछ ।

अमेरिकी टोलीमा मोनांक पटेल (कप्तान), एरोन जोन्स, आन्द्रिस गौस, कोरी एन्डर्सन, अली खान, हरमित सिंह, जेसी सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिस कुमार, नोसतुष केन्जिगे, सौरभ नेथ्रलभाकर, साड्ली भान स्चाल्कविक, स्टिभन टेलर र सायान जहांगिर रहेका छन् ।

441543771_18270116038229741_5254473337771852257_n

  • टी–२० विश्वकपमा क्यानडा

आईसीसी टी–२० विश्वकपमा क्यानडाले पहिलो पटक सहभागिता जनाउन लागेको हो । क्यानडाले आफ्नो दोस्रो खेल जुन ७तारिखमा आयरल्यान्डसँग, तेस्रो खेल जुन ११ तारिखमा पाकिस्तानसँग र चौथो खेल जुन १५ तारिखमा भारतसँग खेल्नेछ ।

क्यानडाको टोलीमा साद बिन जाफर (कप्तान), एरोन जोन्सन, डिलोन हेलिगर, दिलप्रित बाजवा, जेरेमी गोर्डन, जुनैद सिद्धकी, कलिम साना, नवनित धालिवाल, निकोलस किर्तन, परगत सिंह, रविन्द्रपाल सिंह, रायनखान पठान,श्रेयष मोभा, निखिल दत्ता र रिसिभ जोशी रहेका छन् ।

  • विश्व क्रिकेटकै सबैभन्दा पुराना प्रतिद्वन्द्वी

झट्ट हेर्दा अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिका र क्यानडाको खासै प्रभाव देखिँदैन । यी दुवै राष्ट्र विश्व क्रिकेटमा अस्तित्व खोजीका लागि सङ्घर्षरत देखिन्छन् । तर, यथार्थ केही फरक छ । अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिका र क्यानडाबिचको प्रतिद्वन्द्विता निकै पुरानो छ । एसेज शृङ्खलाभन्दा पनि पुरानो ।

कतिपय क्रिकेटविद् त अन्तर्राष्ट्रिय क्रिकेटको सुरुआत नै अमेरिका र क्यानडाबिचको खेलबाट भएको दाबी पनि गर्छन् । सन् १८४४ मा अमेरिकाको म्यानहटन क्रिकेट मैदानमा अमेरिका र क्यानडाबिच तीन दिवसीय क्रिकेट खेलिएको थियो । त्यो खेलमा क्यानडाले अमेरिकालाई २३ रनले हराएको थियो ।

त्यसको एक सय ८० वर्षपछि यी दुई राष्ट्र पहिलो पटक विश्वकप क्रिकेटमा एक–अर्काविरुद्ध मैदानमा ओर्लँदै छन् । विश्वकपको यो खेल पनि अमेरिकाकै डालासमा खेलिँदैछ । यी दुवै टोलीका लागि टी–२० विश्वकपमा यो ‘डेब्यू’ खेल हुनेछ ।

आजभन्दा एक सय ८० वर्षअघि खेलिएको तीन दिवसीय खेलमा क्यानडाले अमेरिकालाई हराए पनि अहिले परिस्थिति फरक देखिन्छ । पछिल्लो समय विश्व क्रिकेटमा क्यानडाभन्दा अमेरिकाको प्रदर्शन तुलनात्मक रूपमा अब्बल देखिन्छ ।

अन्तर्राष्ट्रिय क्रिकेटको वर्तमान तथ्याङ्कले पनि क्यानडाभन्दा अमेरिकालाई बलियो देखाउँछ । अमेरिका र क्यानडाबिचको खेल डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेलिने छ । यो स्टेडियममा टसले निकै ठुलो अर्थ राख्छ ।

446952109_18270116092229741_8790322555592315753_n

यो स्टेडियममा टस जित्ने टोलीले पहिले ब्याटिङ गर्ने सम्भावना बढी देखिन्छ । यो स्टेडियममा टी–२० क्रिकेटमा बनेको औसत स्कोर एक सय ८० रन हो । त्यसैले टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा ठुलो स्कोर बन्न सक्ने सम्भावना देखिन्छ ।

अमेरिका र क्यानडाबिच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो भिडन्त सन् २०२४ को अप्रिल १३ तारिखमा भएको थियो । त्यो खेलमा अमेरिकाले क्यानडालाई चार विकेटले हराएको थियो । त्यो खेलमा पहिले ब्याटिङ गरेको क्यानडाले एक सय ६८ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले २९औँ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । त्यो खेलमा अमेरिकाका लागि नितिश कुमार नायक बनेका थिए । उनले केवल ३८ बलमा ६४ रनको योगदान गरेका थिए । यस क्रममा उनले चार छक्का र चार चौका पनि हिर्काएका थिए ।

त्यो खेलमा नितिशले कोरी एन्डर्सनसँग चौथो विकेटका लागि एक सय चार रनको साझेदारी पनि गरेका थिए । कोरी एन्डर्सनले पनि टोलीका लागि ५५ रनको योगदान गरेका थिए । कुनै समय न्युजिल्यान्ड क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर कोरी एन्डर्सन पछिल्लो समय अमेरिकी राष्ट्रिय टोलीमा आबद्ध छन् ।

447035285_1505283810083724_2736140346158249102_n

हरमित सिंह पनि अमेरिकी टोलीका प्रभावशाली खेलाडी हुन् । भारतीय मूलका यी बलर खासगरी क्यानडाविरुद्ध सफल मानिन्छन् । क्यानडाविरुद्धको पछिल्लो शृङ्खलामा उनले ६ विकेट लिएका थिए । त्यो शृङ्खलामा उनी सर्वाधिक विकेट लिने बलर पनि बनेका थिए ।

कप्तान मोनांक पटेल अमेरिकाका अर्का प्रभावशाली हतियार हुन् । उनले क्यानडाविरुद्धको पछिल्लो तीन खेलमा एक सय २० रन बनाएका छन् । उनले अप्रिल ९ तारिखमा खेलिएको क्यानडाविरुद्धको खेलमा केवल ३५ बलमा ६८ रन बनाएका थिए । त्यो खेलमा उनले तीनवटा क्याच पनि लिएका थिए ।

अर्कोतिर, एरोन जोन्सन क्यानडाका लागि प्रमुख हतियारमध्ये एक हुन् । ३३ वर्षीय एरोन जोन्सले अमेरिकाविरुद्धको पछिल्लो शृंखलामा कुल एक सय २४ रन बनाएका थिए । अमेरिकाविरुद्ध उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ ।

यसैगरी नवनित धालिवाल पनि क्यानडाका प्रभावशाली खेलाडी हुन् । उनी अमेरिकाविरुद्ध टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने क्यानडाका ब्याट्सम्यान पनि हुन् । उनले हालसम्म अमेरिकाविरुद्ध पाँच खेलमा कुल एक सय ४० रन बनाइसेका छन् ।

अमेरिका र क्यानडाबिच नवौँ विश्वकपको उद्घाटन खेल वर्षाबाट प्रभावित हुने सम्भावना देखिन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, खेलका क्रममा डालासमा वर्षा हुने सम्भावना ४० प्रतिशत रहेको छ । खेलका क्रममा डालासको औसत तापक्रम ३० डिग्री सेल्सियस रहने छ ।

  • सहभागी टोलीको विश्वकप यात्रा

विश्वकपको नवौँ संस्करणमा अमेरिका र वेस्ट इन्डिजले आयोजकका रूपमा सहभागिता जनाएका हुन् । अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी आठ टोलीले भने अघिल्लो संस्करणको टी–२० विश्वकपमा गरेको प्रदर्शनका आधारमा सिधै नवौँ संस्करण खेल्ने अवसर पाएका हुन् ।   

यसैगरी अफगानिस्तान र बंगलादेशले आईसीसी टी–२० वरीयता (सन् २०२२ नोभेम्बर १४) का आधारमा विश्वकपमा स्थान बनाएका हुन् । बाँकी आठ राष्ट्र भने छनोट चरण पार गर्दै नवौँ विश्वकपमा पुगेका हुन् ।

आयरल्यान्ड र स्कटल्यान्ड युरोपबाट, पपुवा न्यू गिनी (पीएनजी) पूर्वी एसिया प्यासिफिक क्षेत्रबाट, क्यानडा अमेरिकी क्षेत्रबाट, नेपाल र ओमान एसिया महादेशबाट तथा नामिबिया र युगान्ड अफ्रिका महादेशबाट छनोट चरण पार गर्दै विश्वकपमा पुगेका हुन् । 

चार समूहमा २० टोली

प्रतियोगितामा सहभागी २० टोलीलाई चारवटा समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् । त्यसपछि चारवटै समूहबाट अङ्क तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–८’ चरणमा प्रवेश गर्नेछन् ।पहिलो चरणको खेल जुन १ देखि जुन १७ तारिखसम्म हुनेछ । 

‘सुपर–८’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि ‘सुपर–८’ चरणको दुवै समूहबाट दुई–दुईवटा टोली विश्वकपको सेमिफाइनलमा पुग्नेछन् । ‘सुपर–८’ चरणको खेल जुन १९ देखि २४ तारिखसम्म चल्नेछ । 

सेमिफाइनलमा विजयी हुने दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल जुन २६ र दोस्रो सेमिफाइनल खेल जुन २७ तारिखमा खेलिने छ । त्यसपछि फाइनल खेल जुन २९ तारिखमा हुनेछ ।

दुई राष्ट्रका नौ स्टेडियममा खेल

नवौँ टी–२० विश्वकपका खेलहरू अमेरिका र वेस्ट इन्डिजका कुल नौवटा रङ्गशालामा खेलाइने छ । यसका लागि क्यारेबियन राष्ट्रको ६ र अमेरिकाको तीनवटा स्टेडियम प्रयोग गरिने छ । अमेरिकामा हुने खेलहरू फ्लोरिडा, न्यु योर्क र टेक्ससमा खेलाइने छ ।

क्यारेबियन राष्ट्रमा हुने खेलहरू भने एन्टिगुआ एन्ड बर्बुडास्थित सर भिभियन रिचर्डस स्टेडियम, बार्बाडसस्थित केनसिङ्टन ओभल स्टेडियम, गुयनास्थित गुयना नेशनल स्टेडियम, सेन्ट लुसियास्थित ड्यान सामी क्रिकेट स्टेडियम, सेन्ट भिनसेन्टस्थित आर्नोस भाले स्टेडियम र ट्रिनिडाड एन्ड टोगाबोस्थित ब्राइन लारा क्रिकेट एकेडेमी खेलाइने छ ।  

प्रतियोगिताको दुवै सेमिफाइनल खेल क्यारेबियन राष्ट्रमा खोलिने छ । पहिलो सेमिफाइनल खेल ट्रिनिडाड एन्ड टोगाबोमा जुन २६ तारिखमा खेलिने छ । दोस्रो सेमिफाइनल खेल गुयनामा जुन २७ तारिखमा खेलिने छ । फाइनल खेल भने जुन २९ तारिखमा बार्बाडसमा खेलाइने छ । 

नवौँ विश्वकपको सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ (अतिरिक्त दिन) को पनि व्यवस्था गरिएको छ । वर्षा वा अन्य प्राकृतिक विपत्तिका कारण निर्धारित दिन खेल हुन नसकेमा सेमिफाइनल र फाइनल खेल अर्को दिन खेलाइने व्यवस्था गरिएको छ ।

  • नेपाल समूह ‘डी’ मा

विश्वकपको नवौँ संस्करणमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । 

नेपाली टोलीले आफ्नो दोस्रो खेल जुन ११ तारिखमा श्रीलंकासँग र तेस्रो खेल जुन १४ तारिखमा दक्षिण अफ्रिकासँग खेल्नेछ । नेपालले समूहगत चरणको चौथो तथा अन्तिम खेल भने जुन १६ तारिखमा बंगलादेशसँग खेल्नेछ ।

यसैगरी प्रतियोगिताको समूह ‘सी’ मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी रहेका छन् । समूह ‘बी’ मा इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान रहेका छन् । समूह ‘ए’ मा भने भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका परेका छन् । 

  • नेपालको दोस्रो सहभागिता

इङ्ल्यान्ड टी—२० विश्वकपको साविक विजेता हो । सन् २०२२ मा खेलिएको आठौँ विश्वकपको फाइनलमा इङ्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । इङ्ल्यान्ड र वेस्ट इन्डिजले हालसम्म दुई—दुई पटक टी—२० विश्वकपको उपाधि जितेका छन् । 

भारत, अस्ट्रेलिया, श्रीलङ्का र पाकिस्तानले पनि एक—एक पटक टी—२० विश्वकपको उपाधि चुमिसकेका छन् । यसअघि नेपालले पनि एकपटक टी—२० विश्वकप खेलिसकेको छ । नेपालले सन् २०१४ मा टी—२० विश्वकप खेलेको थियो । त्यतिबेला नेपाली टोली प्रारम्भिक चरणबाटै घर फर्किएको थियो । नेपालसँगै सन् २०१४ को विश्वकपमा यूएई र हङ्कङले पनि ‘डेब्यू’ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप