शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘प्रचण्ड र ओलीले माधवलाई प्रधानमन्त्री बनाउने सहमति गरेका थिए’

हामीले सरकार छाड्न लागेका होइनौँ : सोमप्रसाद पाण्डे, नेता, नेकपा एकीकृत समाजवादी
शनिबार, १९ जेठ २०८१

पदीय हैसियत खासै नदेखिए पनि सोमप्रसाद पाण्डे नेकपा एकीकृत समाजवादी (एस) का प्रभावशाली नेता हुन् । यतिसम्म भन्ने गरिन्छ कि पार्टी अध्यक्ष माधव कुमार नेपालपछि त्यो पार्टीको सूचना पाण्डेसँग हुन्छ । 

यति बेला विपक्षी गठबन्धनको बैठकमा माधव नेपाल गएपछि राजनीति तरङ्गित भएको छ । त्यो बैठकमा अध्यक्ष नेपालले पाण्डेलाई पनि लैजान खोजेका थिए तर उनले मानेनन् । उनी नगए पनि त्यो बैठकमा नेपाल किन गए, त्यहाँ के भयो भन्ने कुरा पाण्डेलाई राम्रो थाहा छ । 

सत्ता समीकरण, पार्टी फुटको चर्चा, पार्टीको महाधिवेशनलगायत विषयमा पाण्डेसँग रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् । प्रस्तुत छ, केसीसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • नेकपा एकीकृत समाजवादीले सरकार छाड्न लागेको हो ?

होइन, हाम्रै पार्टीका नेताहरू राजेन्द्र पाण्डे, मेटमणि चौधरीलगायतका  अभिव्यक्तिले शङ्का र भ्रम भने अवश्य परेको हो । 

som prasad pandey 4

  • पार्टी अध्यक्ष नै विपक्षी गठबन्धनको बैठकमा सहभागी हुनुलाई के भन्ने त ?

मेरो व्यक्तिगत कुरा पनि उहाँ त्यो बैठकमा जानुहुँदैन थियो भन्ने नै हो । अर्को कुरा त्यहाँ जाँदा यति ठुलो प्रतिक्रिया आउँला भन्ने उहाँले सोच्नु भएन कि भन्ने लाग्छ  । तर यसमा धेरै आत्तिनुपर्ने अवस्था पनि होइन । तिललाई पहाड बनाउने काम मात्र भएको हो ।

  • पार्टीभित्र कहीँ निर्णय नगरी, नेताहरूसँग सल्लाह नगरी उहाँ त्यसरी जान मिल्छ ? 

माधव नेपाल संस्थागत काम गर्ने मान्छे हो । पार्टीका साथीहरूसँग सल्लाह नगरी र पार्टीबाट निर्णय नगराई केही पनि गर्नु हुन्न । एमालेको पार्टी महासचिव हुँदा रिसेप्सनमा एक जना कर्मचारी राख्दा पनि स्थायी समितिबाट निर्णय गराएको मलाई नै थाहा छ ।  

  • एमालेको महासचिव हुँदा पनि ढुलमुलेको आरोप लाग्ने गरेको हो अनि अहिले पनि त्यस्तै भनेपछि माधव नेपाल सुध्रिनु भएको छैन भनेर बुझ्नपर्‍यो होइन  ?

  यो आरोप मात्र हो । समन्वयकारी भूमिका खेल्दा कहिलेकाहीँ त्यस्तो देखिएको हुनसक्छ । 

  • यो छटपटी किन त माधव नेपालमा अहिले ?

प्रचण्ड ६ पटक, गिरिजाप्रसाद कोइराला ४ पटक भेट्न गएर २०६४ सालमा माधव नेपाललाई संविधान सभाको सदस्य किन बनाएको ? त्यसपछि प्रधानमन्त्री किन बनाएको ? अहिले पनि ठिक तिनै दलहरू कांग्रेस, माओवादीले माधव नेपाललाई प्रधानमन्त्री बनाउने सहमति गरेकै थिए त । 

  • भनेपछि प्रधानमन्त्री बन्न नपाएकोमा छटपटी हो ?

अहिले पनि गएको फागुन २६ गते साँझ ८:३० बजे बालुवाटारमा तीन बुढा प्रचण्ड, केपी ओली र माधव नेपाल बसेर माधवलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।

  • त्यही सहमति उल्लङ्घन भयो भन्ने आशङ्काले छटपटी बढाएको हो ?

वातावरण, संविधानले के गर्छ थाहा छैन तर सहमतिबाट नेताहरू पछाडि हट्नुभयो भन्ने मलाई लागेको छैन । 

  • सहकार्यका लागि एमाले अध्यक्ष केपी ओली माधव नेपालको घरमै जानुभयो, प्रधानमन्त्री प्रचण्ड पनि पटक पटक त्यही कुरा भन्न जानुभयो । दल छ १० सिटको, जति दिँदा पनि किन निहुँ खोजिरहनुभएको तपाईंहरूले ?

हाम्रो सहयोग विना कोशी र कर्णालीबाहेक कुन प्रदेशमा सरकार बन्छ ? खाली प्रतिनिधि सभाको १० सिट मात्र कुरा गरेर हुन्छ । अझ भनौँ भने हामी निस्कियौँ भने संघको सरकार पनि ढल्छ । किनकि हामीसँग अरू दल पनि बाहिरिन्छन् ।

som prasad pandey 2

  • यसैलाई बार्गेनिङको टुल्स बनाएर ६ महिनाका लागि १५ महिनाका लागि प्रधानमन्त्री नभई हुँदैन भनेर सरकारलाई नै अस्थिर बनाइरहने त ?

यो प्रधानमन्त्रीका लागि मात्र भन्ने कुरा होइन यो । समन्वयकारी भूमिका निर्वाह गर्दै अग्रगमनको निम्ति, नेपालको कम्युनिस्ट आन्दोलनलाई बचाउँदै मुलुकलाई समृद्धितर्फ लैजानका लागि यो प्रयत्न भएको हो ।

  • जसले कम्युनिस्ट विभाजन गर्‍यो उसैले कम्युनिस्ट आन्दोलन बचाउने भन्दा कसले पत्याउला त ?

विभाजनको कुरा गर्ने हो भने त्यसको कारणसहित खोज्नुस् । एउटा मात्र समूहले विभाजन गरेर पार्टी विभाजन हुँदैन ।

  • पार्टी छाडेर जसले अर्को पार्टी बनाउँछ विभाजन उसैले गरेको हुन्छ नि ।

त्यस्तो त देखिन्छ तर कारण धेरै ठुला हुन्छन् । आफूले बनाएको पार्टी, आफू १५ वर्ष महासचिव भएको पार्टी छाड्न माधव नेपाललाई पनि मन थिएन होला । २०५० साल जेठ ७ गते महासचिव हुँदा एमालेको पार्टी सदस्यता २ लाख ४२ हजार थियो । उहाँ पार्टी महासचिव भएको १५ वर्षभित्र सात लाख भएको थियो । 

  • नेताहरूका फरक फरकका अभिव्यक्ति र क्रियाकलाप हेर्दा, सुन्दा यो एकीकृत समाजवादी एकै रहला जस्तो छैन । यो पार्टी कहिले फुट्दैछ ?

जसपा फुटेको देखेर यस्तो अनुमान गरेका होलान् तर हाम्रो पार्टी फुट्दैन । यसमा कानुनी कुरा पनि छ र भावनात्मक कुरा पनि छ । केही केही सांसदहरू भने केही पाइन्छ कि भनेर यो समीकरण भत्काउन लागेको सुनेको छु तर त्यो सम्भव छैन । 

som prasad pandey

  • यो समीकरण भत्काउन त पार्टी अध्यक्ष नै लाग्नुभएको छ नि ।

यो गलत कुरा हो । इफ, बट केही नभनी यो सरकारलाई विश्वास मत दिन्छौँ भनेर माधव नेपालले भनेको होइन ? त्यति मात्र होइन मधेस प्रदेशमा पनि संघीय समीकरण अनुसार नै एकीकृत समाजवादीको समर्थन रहन्छ ।

  • एमालेसँग एकीकरण गर्ने कुरामा तपाई सक्रिय हुनुहुन्छ भन्ने छ केही कुरा अघि बढेको छ ?

राजनीतिमा असम्भव भन्ने कुरा त केही हुन्न तर आजसम्म केही कुरा पनि अघि बढेको छैन । तर नेताहरूले सोच्ने बेला आएको छ ।

  • आउँदो असार १६ गतेबाट सुरु हुने महाधिवेशनबाट पार्टीको अध्यक्ष त माधव नेपाल नै कि अरू होला ?

आज घोषणा गरेर हुँदैन ।

  • माधव नेपाल अध्यक्ष नहुने अवस्था आए पनि पार्टीको महाधिवेशन तोकिएकै  समयमा हुन्छ ? 

हुन्छ ।

som prasad pandey 3

  • तपाईं आफैचाहिँ महाधिवेशनपछि के बन्ने ?

म अध्यक्ष त भन्दिनँ, त्यसपछिका पदमा जे पनि हुन सक्छ ।

  • २८ वर्ष सांसद हुनुभयो । अहिले नहुँदा साह्रै पीडा होला है तपाईंलाई ?

सांसद नहुँदा भन्दा पनि पाल्पाको विकासमा लाग्न नपाउँदा पीडा हुन्छ । तर पनि जिल्लाका सबै कार्यक्रममा जाने गरेको छु । अहिले पनि एक सातामा दुई पटक पाल्पा पुग्छु । 

  • पदको लोभ छैन त भन्नुभयो तर २८ वर्ष सांसद हुँदा पनि ५१ सालदेखि तपाईंलाई सहयोग गर्ने ठाकुर गैरेलाई कहिल्यै पनि छाड्नुभएन ।

ठाकुर गैरेले ५१ सालमा सहयोग गर्नुभएको हो । त्यस यता कहिल्यै सहयोग गर्नुभएन, भ्रममा नपर्नुस् । र, अर्को कुरा जिल्ला, क्षेत्र, गाउँ कमिटीले सिफारिस गरेपछि मात्र मैले टिकट लिएको हुँ ।

  • खोइ कोको तपाईंका नाता पर्छन् रे अनि तिनीहरूकै आड भरोसा र कतिपय अवस्थामा किनेरै टिकट लानुहुन्थ्यो रे भन्ने छ ।

माधव नेपाललाई जोडेर आक्षेप लगाउने गरिएको छ त्यस्तालाई राजनीतिक रूपमा नपुंसक भन्छु म । अराजनीतिक मान्छेले पैसाको पनि कुरा गर्छन् । हो म पैसा भएकै मान्छे हुँ । ५० सालमै सांसद नहुँदै मेरो म्याडम र म गएर ४२ लाख रुपैयाँ पर्ने टोयटा गाडी बुक गर्ने मै हो । अहिले पनि रेकर्ड छ । तलबाट माग नभई म कहिल्यै चुनाव लडेको छैन । पहिला पाँच पाँच जना कांग्रेस उम्मेदवारलाई हराएर आएको थिएँ । यस पटक तिनीहरूले नै हराइदिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया