आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा जेठ २१ र २२ गते श्रमाधान रोजगार मेला हुँदै

शनिबार, १९ जेठ २०८१, १६ : १५
शनिबार, १९ जेठ २०८१

काठमाडौँ । गण्डकी प्रदेशमा यही जेठ २१ र २२ गते श्रमाधान रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको पोखरा इभेन्ट सेन्टरमा हुन लागेको हो ।

मेलाको आवश्यक तयारी पुरा भएको छ । उक्त मेलाको संयोजन होटल संघ नेपाल (हान) र सह–आयोजकमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ लगायतका सरोकारवाला संस्थाहरू रहेका छन् ।

मेलाबारे जानकारी दिन श्रम तथा रोजगार कार्यालय पोखरामा शनिवार आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव शारदा भण्डारीले तयारी अन्तिम चरणमा पुगेको बताइन् ।

आन्तरिक रोजगारी प्रवर्द्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरूलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीको लागि अनुकूल वातावरण सृजना गर्नु मेलाको उद्देश्य रहेको उनको भनाइ छ ।

मेलामा रोजगार दिने र रोजगारी खोज्नेहरूबिच प्रत्यक्ष भेट हुने र रोजगारी सिर्जनाको वातावरण उपलब्ध हुने उपसचिव भण्डारीले बताइन् । श्रम तथा रोजगार कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले मेलाको तयारी अन्तिम चरणमा पुगेको बताए ।

मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूको सम्बन्धमा डाटाबेस निर्माणमा योगदान गर्ने उनको भनाइ छ । मेलामा रोजगारदाताहरूको सूचीकरण र रोजगारीका अवसरको पहिचान गरिने बताए ।

मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरू राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, वैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका कम्तीमा ३५ वटा स्टल तथा बुथहरू हुनेछन् । प्रदेश भित्रका ठुला सम्भावित रोजगारदाताको पहिचान गरेर सरकारी तर्फबाट ८ देखि १० वटा र निजी क्षेत्रका २० देखि २५ वटा स्टलहरू हुनेछन् ।  

श्रम र रोजगारसँग सम्बन्धित कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम हुनेछन् । जसमा सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानुन र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकता सम्बन्धी अन्तरक्रिया हुनेछ । त्यस्तै स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम समेत हुनेछन् ।

श्रमाधान रोजगारको संयोजक समेत रहेकी उपसचिव भण्डारीले मेलाले बाध्यात्मक वैदेशिक रोजगारी कम गर्न सहयोग पुग्ने बताइन् ।

‘मेलाले आजको भोलि नै देशभित्र नै रोजगारी दिन्छ भन्ने होइन । यो सुरुवात हो । यसले बाध्यताले वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइको बाध्यता बिस्तारै कम गर्ने सरकारको उद्देश्य हो । यो सुरुवात मात्रै हो,’ भण्डारीले भनिन् ।

सीप र विकासलाई रोजगारदाता र रोजगार खोज्नेहरूसँग जोड्न मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

होटल संघ नेपाल कास्कीका अध्यक्ष हरि शर्मा गैरेले मेलाले कामदार खोजिरहेका निजी क्षेत्रका लागि महत्त्वपूर्ण भएको बताए ।

श्रमाधान रोजगार मेलामा सहभागी हुन अनलाइन दर्ता प्रणाली  मार्फत रोजगारदाता सूचीकरण हुन र रोजगारीको खोजीमा रहेका व्यक्तिले दर्ता गर्न सकिने व्यवस्था छ । साथै मेलाको भ्रमण गरी त्यही म्यानुअलमा  र अनलाइनबाट समेत दर्ता गर्ने सकिने व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप