शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
मधेस प्रदेश सरकार

मधेस प्रदेश सरकारको नेतृत्व नछाड्ने जसपा नेपालको दाउ

नेतृत्वमा कांग्रेस र लोसपाको पनि दाबी
शनिबार, १९ जेठ २०८१, १६ : ११
शनिबार, १९ जेठ २०८१

काठमाडौँ । मधेस सरकारको नेतृत्व गरेका जनता समाजवादी पार्टी (जसपा) नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २३ गते विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने समय जति जति नजिक आउँदैछ, मधेस प्रदेशमा नेताहरूको दौडधुप त्यति नै बढेको छ । 

जसपा नेपालले आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन चाहेको छ भने अन्य दलहरू त्यसको पक्षमा देखिएका छैन । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विश्वासको मत प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउँछन् । नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी)ले विश्वासको मत दिने विश्वास व्यक्ति गर्दै उनले अन्य दलहरूसँग कुराकानी भइरहेको बताए । 

उनले यस्तो दाबी गरिरहँदा हालसम्म नेकपा (एस) बाहेक अन्य कुनै पनि दल विश्वासको मत दिनका लागि तयार देखिएका छैनन् । एकीकृत समाजवादी अझै पनि जसपा नेपाल नेतृत्वको सरकारमा सहभागी छ । 

एकीकृत समाजवादी मधेस प्रदेशका संसदीय दलका नेता समेत रहेका कृषिमन्त्री गोविन्दबहादुर न्यौपानेले आफूहरू जसपा नेपाल नेतृत्वको सरकारमा रहेकाले सो सरकारलाई बचाउने दायित्व आफूहरूको रहेको बताए । उनले सरकारलाई विश्वासको मत दिने पनि बताए । 

‘यो सरकारबाट हटे वा समर्थन फिर्ता लिए अर्कै कुरा होला । तर अहिले हामी सरकारमै रहेको कारणले यो सरकारको विकल्प सोच्न सक्दैनौँ,’ उनले भने ।

उता, विश्वासको मत दिने वा नदिने विषयमा हालसम्म लोसपा र कांग्रेसले टुङ्गो लगाएको छैन । ती दलहरूले पनि मधेस सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् । 

जसपाले लामो समयदेखि सरकारको नेतृत्व गरिरहेको तथा सरकारको काम कारबाही पनि सन्तोषजनक नदेखिएकाले नेतृत्व हस्तान्तरण हुनुपर्ने पक्षमा कांग्रेस र लोसपाका नेताहरू रहेका छन् । तर जसपाले कम्तीमा एक वर्ष जसपा नेपालकै नेतृत्व सरकार रहन दिन आग्रह गरेको छ । 

स्रोतका अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटेर यो आग्रह गरेका हुन् । त्यस्तै केही दिनअघि बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकमा पनि जसपा नेपालले मधेस प्रदेशमा आलोपालोमा सरकार बनाउनुपर्ने र त्यसमा पहिलो चरणमा जसपा नेपाललाई दिनुपर्ने अडान लिएको थियो । 

तर कांग्रेस र लोसपाले त्यसमा सहमति जनाएका छैनन् । मधेस प्रदेशमा जसपा नेपाल, एकीकृत समाजवादी, लोसपा र कांग्रेसको संयुक्त सरकार रहने सहमति बूढानीलकण्ठ बैठकले गरेको तर कसको नेतृत्वमा हुने अहिलेसम्म टुङ्गो नलगाएको स्रोतले जनाएको छ । 

जसपा नेपालका प्रवक्ता एवं मधेस प्रदेशका सांसद मनिष सुमन भने गठबन्धनमा रहेका कुनै पनि दलले हालसम्म सरकारको दाबी नगरेको बताए । उनले भने, ‘हाम्रो मुख्यमन्त्रीले जेठ २३ गते विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत पाउनेमा हामी आशावादी छौँ ।’ 

सुमनले शनिबार नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग उनको निवास पुगेर मधेस सरकारका बारेमा छलफल गरेका छन् ।

यता कांग्रेस मधेस प्रदेशका सभापति एवं संसदीय दलका नेता कृष्ण यादवले मधेस सरकारमा आफूहरूको पनि दाबी रहेको बताउँछन् । सबैभन्दा ठूलो दलको हैसियतले पहिलो दाबी कांग्रेसको नै रहने त्यसपछि अन्य दलहरूको पालो आउने उनले बताए । 

उनले भने, ‘हामीले दाबी गरेका छौँ तर अहिलेसम्म कुनै कुरामा सहमति भएको छैन । जेठ २३ गते विश्वासको मत लिनुभन्दा पहिले विभिन्न दलको बिचमा एउटा सहमति बन्छ भन्ने मलाई विश्वास छ ।’

लोसपा नेपालका महासचिव मनिष मिश्रले मधेस सरकारको बारेमा लोसपा नेपालले हालसम्म कुनै पनि निर्णय नगरेको बताउँदै विभिन्न दलहरूसँग कुराकानी चलिरहेको जिकिर गरे । दलहरूको बिचमा सहमति बनेपछि पार्टीका आधिकारिक निर्णय आउने उनले बताए । 

उनले भने, ‘मधेस प्रदेशमा लोसपा नेपालले पनि सरकारको नेतृत्वमा दाबी गरेको छ । जसपा नेपालले लामो समयदेखि सरकारको नेतृत्व गरिसकेको छ, अब उसले अरूलाई हस्तान्तरण गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप