शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
कृषि

लिची टिप्न व्यापारीलाई भ्याइनभ्याई

बाराको लिची काठमाडौँ, पोखरालगायत देशका ठुला सहरमा
शनिबार, १९ जेठ २०८१, १४ : ३७
शनिबार, १९ जेठ २०८१

बारा  । स्वाद र पौष्टिकताको दृष्टिले सर्वोत्तम फलहरूमध्ये प्रमुख फल लिची टिप्न यति बेला बाराका गाउँ गाउँमा व्यापारीहरूलाई भ्याइनभ्याई छ ।  जीतपुर सिमरा, कोल्हवी, कलैया, फेटा गाँउपालिकाको गाँउहरुमा रहेका फलफूल बगैँचा ठेक्का लिएका व्यापारीहरूलाई लिची टिपेर बजारमा पुर्‍याउने हतारोमा छन् । 

litchi (1)

सामान्यतया लिचीको व्यापार जेठ दोस्रो सातादेखि अधिकतम जेठ अन्तिम सातासम्म हुने गर्दछ । ३२ वर्षदेखि लिची बगैँचाको ठेक्का लिँदै आएका कलैया उपमहानगर वडा नं २० बसदपुरका परमानन्द सहनीले यस वर्ष चर्को घाम र तातो हावाले लिचीको बोट सुकेकोले व्यापारीहरू मर्कामा परेको बताएका छन् । 

litchi (2)

उनले यस वर्ष पानी नपरेको र तातो हावाले बोटमै  लिची सुकेको  गुनासो गरेका छन् । ‘यो देशमा २/३ सालदेखि एकदमै गरिबी छाएको जस्तो लागिरहेको छ । मान्छेलाई लिची खान मन छ, तर पैसा छैन । पहिला हजार रुपैयाँको लिची किन्नेहरू अहिले ५०/सयको लिची किनेर खाइरहेका छन्,’ सहनीले भने ‘व्यापार छैन, बिक्री होस/नहोस् साहुलाई पैसा तिर्नैपर्छ ।’

litchi (3)

बारामा दक्षिणी भेगको तुलनामा उत्तरी भेगमा २० औँ वर्ष पुराना आँप तथा लिचीका बगैँचाहरू छन् । ठेकेदारहरूले ५ वर्ष १० वर्षको लागि लिची बगैँचा ठेक्कामा लिने र कुरुवाहरूमार्फत बगैँचाको रेखदेख गर्ने गर्दछन् । 

litchi (5)

ठेकेदारले बगैँचाबाट थोकमा प्रतिगोटा १ रुपैयाँ ५० पैसा र खुद्रा व्यापारीबाट उपभोक्ताले प्रतिगोटा ३ रुपैयाँसम्ममा किन्ने गर्दछन् ।

litchi (4)

‘हामीले जुन भाउ पायो त्यसैमा बेचेन भने लिची दिनदिनै बिग्रन्छ, मानिससँग पैसा नभएका कारण अवस्था हाम्रो पनि खराब छ,’ सहनीले भने, ‘१० देखि १२ दिन मात्रै लिची रुखमा रहन्छ, समयमै नटिपे भुइँमा झरेर सकिन्छ । ज्याला, मजदुरी, कुरुवा महँगो परेको छ ।’

litchi (6)

बारामा उत्पादन भएको लिची काठमाडौँ, पोखरा, नारायणगढ लगायत देशभरका ठुला सहरहरूमा पुर्‍याउने गरेको सहनीले बताउँछन् । बारामा प्रतिवर्ष १० टनभन्दा धेरै लिची उत्पादन हुने गर्दछ । सामान्यता पुराना जातका लिचीका बोटहरूले झन्डै सय वर्षसम्म उत्पादन दिने सहनीको भनाई छ । 

कलैया उपमहानगर वडा नं ५ का अर्का लिची व्यापारी राजकुमार कुशवाहाले फलफूलमा २० प्रतिशतदेखि सय प्रतिशतसम्म फाइदा हुने गरेको बताउँछन् । 

litchi (7)

२० औँ वर्षदेखि तरकारी र फलफूलको व्यापार गर्दै आएका जीतपुर सिमरा–२० का जाकिर हुसेनले लिचीको व्यापारमा राम्रो फाइदा हुने गरेको बताए । उनले ठेकेदारसँग प्रतिगोटा १ रुपैयाँ ५० पैसामा खरिद गरेर प्रतिगोटा ३ रुपैयाँमा ब्रिकी गर्ने गरेको बताए । 

litchi (8)

नेपालको तराईमा लिचीको राम्रो उत्पादन हुने गरेको गर्दछ । लिची खनिज तत्त्वले भरिपूर्ण भएको स्वादिष्ट फल हो । एउटा ताजा र पाकेको लिचीमा ७० देखि ७७ प्रतिशतसम्म गुदी पाउन सकिन्छ । यसको प्रमुख पोषक तत्त्वहरूमा कार्बोहाइड्रेट्स, भिटामिन सी, एन्टिअक्सिडेन्ट्स आदि हुन् । यसको मात्रा स्थानीय जलवायु र उब्जाउ माटोमा निर्भर गर्दछ ।

litchi (9)

रासायनिक विश्लेषण अनुसार एउटा ताजा र पाकेको लिचीमा चिनी वा गुलियो पदार्थको मात्रा १५ दशमलव ३ प्रतिशत, प्रोटिन एक दशमलव १५ प्रतिशत र अम्ल एक दशमलव ६ प्रतिशत रहेको हुन्छ । यसका साथै यस फलमा क्याल्सियम, फस्फोरस, फलाम तत्त्व, खनिज, लवण एवं भिटामिन ‘सी’ पनि प्रचुर मात्रामा पाइने भएको हुँदा यो फल स्वास्थ्यको दृष्टिले अत्यन्त लाभदायक मानिन्छ । 

litchi (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप