शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

डा. विप्लव ढकालका तीन कविता

शनिबार, १९ जेठ २०८१, १३ : २१
शनिबार, १९ जेठ २०८१

१) राज्यसँग एकालाप

तिम्रो तिर्खा मेटाउन 
मैले आफ्नो रगत दिएँ !

तिम्रो नग्नता ढाक्न 
मैले आफ्नो छाला दिएँ !

तिमी भोकाएको बेला 
मैले शरीरको मासु दिएँ !

तिमीलाई अमर राख्न 
मैले मेरो इतिहास दिएँ !

मेरो रगत, छाला, मासु र इतिहास 
कहाँ फाल्यौ तिमीले ?

ए ! कहाँ फाल्यौ ?

र, आज फेरि किन तिमी
मेरो नाबालक छोराको अगाडि 
यसरी नाङ्गै
र खाली हात उभिएका छौ ?

मलाई अज्ञात सहिद बनाउने राज्य ! 
म यो प्रश्न तिमीलाई सोधिरहेको छु !
 

२) च्याउको जङ्गल

यही झन्डाबाट उखेल्छु घन 
र फुटाउँछु आफ्नै निधारको चट्टान ! 
यही झन्डाबाट निकाल्छु हँसिया 
र भत्काउँछु आफ्नै विचारको पर्खाल !

हतियार र औजारले पिटीपिटी
प्वाल पार्छु मस्तिष्कमा र बनाउँछु रोटी ! 
त्यही रोटीको गोलाकार सुरुङबाट बाहिर निस्केर 
म उड्छु अब यो निलो आकाशमा !

तिमीहरूले
चामलको दानामा लेखेछौ मेरो इतिहास ! 
सागको पातमा लेखेछौ मेरा गीतहरू ! 
मेरै विचारलाई सिक्री बनाएर 
पशुको तबेलामा बाँधेको मलाई ! 
मेरै हड्डीलाई मुरली बनाएर 
आवाजको विपक्षमा बजाएछौ मलाई ! 

म गर्छु अब समुद्रमन्थन 
र पिउँछु हलाहल विष !
म खोस्छु कृष्णको हातबाट मुरली 
र उठाउँछु सुमेरु पर्वत ! 
विष्णुलाई जमिनमा ओरालेर 
म चढ्छु अब गरुडमाथि !
महादेवको घाँटीबाट निकालेर 
म लाउँछु अब सर्पको मफलर !

मरुभूमिमा
पसिनाले बालुवा मुछेर खाएको छु मैले ! 
आफ्नै रगतको घुट्काले भिजाएको छु घाँटी ! 
बाँस चपाउँदै टुकीको सलेदो चुसेर बाँचेको छु म !

मेरो खप्परभित्र केही छैन— विचारशून्य छु म ! 
यो च्याउको जङ्गलभित्र
एउटा निर्जीव भिडको विपक्षमा उभिएर 
उखेल्छु आफ्नै टाउको
र भुइँभरि टकटक्याइदिन्छु ! 

केही बिस्कुटका खोल
रोटीका टुक्रा, चप्पलको फित्ता 
मृत उडुस र पुल्लीकिराहरू 
खस्छन् मेरो मस्तिष्कबाट !

यति रित्तो बनेछु म
कि यो विचारशून्यता नै मेरो शक्ति हो ! 
यही विचारशून्यताको हतियारले 
म अब आक्रमण गर्छु
र जलाउँछु तिम्रो विचारको लङ्का ! 

के थाहा तिमीहरूलाई—
मभित्र कसरी उम्लिरहेको छ खरानी ? 
के थाहा तिमीहरूलाई—
म किन निदाउन सक्दिनँ रातभरि ?

युद्धमा मरेका केटाकेटीहरू
उखुको राइफल बोकेर लखेट्छन् मलाई 
म तिम्रो तस्बिरपछाडि लुकेर सास फेर्छु ! 
तरबारमा झुन्डिएका टाउकाहरू
गीत गाउँदै लखेट्छन् मलाई ! 
खरानीबाट उठेर क्षतविक्षत कङ्कालहरू 
आफ्नो जीवनको मृत्य माग्दै लखेट्छ्न् मलाई !
म झन्डाले मुख छोपेर आँसु पुछ्छु !

संसार बदल्न हिँडेको म
अब आफैँ बदलिएँ ! 
यो च्याउको जङ्गलभित्र 
रिँगटा लागिरहेको छ मलाई ! 
यो मेसिनको शरीरभित्र
तरङ्गिँदै छ जीवनको कम्पन !

म तिम्रा आदेशहरूलाई अस्वीकार गर्छु— 
अब मान्छेको लासमा घोटेर 
खुकुरीमा धार लगाउन चाहन्नँ म ! 
अब मान्छेको रगतको मूल्यमा 
आफैँलाई गुमाउन चाहन्नँ म !

यही भन्डाबाट उखेल्छु घन 
र फुटाउँछु आफ्नै निधारको चट्टान ! 
यही झन्डाबाट निकाल्छु हँसिया 
र भत्काउँछु आफ्नै विचारको पर्खाल ! 
हतियार र औजारले पिटीपिटी
प्वाल पार्छु मस्तिष्कमा र बनाउँछु रोटी ! 
त्यही रोटीको गोलाकार सुरुङबाट बाहिर निस्केर 
म उड्छु अब यो निलो आकाशमा !!

३) तिनीहरू राँकेभूत होइनन्

बाहिर जून हराएको अँधेरी रात छ 
रातसँग कुनै सपना छैन
जीवनको जस्केलो खोलेर हेर्दा
पारि देखिन्छ— एउटा मौन चिहानडाँडा !
त्यहीँ पुरिएका छन्
तिम्रा पुर्खाका असङ्ख्य गीतहरू ! 
ताराहरू निभेको अँध्यारो आकाशमुनि 
पुर्खाकै चिहानहरू कुल्चिँदै–कुल्चिँदै 
अचानक राता र निला बत्तीहरू 
लस्करै हिँडिरहेको देख्ता
तिमीलाई पहिले त शङ्का लाग्नेछ !
तर मेरा आफन्तहरू !
तिनीहरू राँकेभूत होइनन् !!

तिनीहरूलाई अन्धकार मन पर्दैन 
तिमीलाई जस्तै
यो कालो रात मन पर्दैन 
तर तिमी त सधैँ अन्धकारभित्रै 
अन्धकार बनेर रोइरहेका छौ । 
तिनीहरू त विचारको राँको बालेर 
विचारकै उज्यालो खोजिरहेका छन् ! 
एउटा मसानघाटजस्तो शब्दविहीन देशभित्र 
अचानक उज्यालोका केही किरणहरू 
तिम्रो झुपडीतिरै सरासर आइरहेको देख्ता 
तिमीलाई पहिले त डर लाग्नेछ
तर मेरा छिमेकीहरू ! 
तिनीहरू राँकेभूत होइनन् !! 

तिनका लुगाहरू तिम्राजस्तै मैला छन् !
तिनका कुर्कुच्चाबाट
तिम्रोजस्तै रगत बगिरहेको छ ! 
तिनका आँखामा पनि
तिम्रोजस्तै सपनाका
सप्तरङ्गी इन्द्रेणीहरू लर्किरहेका छन् ! 
त्यसैले तिनीहरू इतिहास कुल्चिएर 
इतिहास खोज्दै हिँडिरहेका छन् ! 
यसरी अचानक आफ्नै आँखामा 
उज्यालै–उज्यालोको समुद्र देख्ता 
तिमीलाई पहिले त अचम्म लाग्नेछ ! 
तर मेरा प्रियजनहरू ! 
तिनीहरू राँकेभूत होइनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. विप्लव ढकाल
डा. विप्लव ढकाल
लेखकबाट थप