शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
च्याम्पियन्स लिग फाइनल

‘डार्क हर्स’ डर्टमन्डले रोक्न सक्ला रियलको विजयी यात्रा ?

शनिबार, १९ जेठ २०८१, १२ : ३७
शनिबार, १९ जेठ २०८१

वेम्बले । शनिबार राति (नेपालमा आइतबार बिहान) च्याम्पियन्स लिगको फाइनलमा अन्डर डग बोरुसिया डर्टमन्डले कीर्तिमानी विजेता रियल मड्रिडको सामना गर्दैछ ।

आजको खेल जिते जर्मन क्लबको प्रतियोगिता जित्ने २७ वर्षको प्रतीक्षा अन्त्य हुनेछ । उता लस ब्लाङ्कोस भने रेकर्ड १५ औँ उपाधि जित्ने तरखरमा छ ।

डर्टमन्डले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनलाई पाखा लगाउँदै वेम्बलेको टिकट बुक गरेको थियो । उता, कार्लो एन्चेलोटीको टोलीले बायर्न म्युनिखलाई हराउँदै ‘अल–जर्मन’ फाइनल हुनबाट रोकेको थियो ।

पछिल्लो पटक सन् २०१२–१३ सिजनमा डर्टमन्ड र बायर्न प्रतियोगिताको फाइनलमा पुगेका थिए । तर, आर्यन रोबेनले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि डर्टमन्ड निराश बन्न पुग्यो । त्यो टोलीबाट हाल क्लब आइकन मार्कस रिउस र म्याट ह्युमल्स मात्र बाँकी रहेका छन् । 

edin-terzic

यो सिजन टोली ग्रुप अफ डेथ मानिएको समूह डी छिचोल्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको थियो । समूहमा टोलीसँगै एसी मिलान, पेरिस सेन्ट जर्मेन र न्युक्यासल युनाइटेड रहेका थिए । त्यसपछि डर्टमन्डले पीएसभी एन्डहोभन र क्वार्टरफाइनलमा एट्लेटिको मड्रिडलाई पाखा लगायो ।

डर्टमण्डले सन् १९९६–९७ सिजनमा एक पल्ट यो प्रतियोगिता जितेको थियो । टोलीले म्युनिखमा इटालियन महारथी युभेन्टसलाई ३–१ ले स्तब्ध बनाएको थियो । एक दशकअघि लण्डनमा बायर्नसँग पराजित भए यता टोली प्रतियोगिताको फाइनलसम्म पुग्न सकेको थिएन ।

आजको खेल जित्न सके रिउसका लागि सही बिदाइ हुनेछ । उनले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरिसकेका छन् । 

mats-hummels-emre-can-nico-schlotterbeck

१२ वर्ष क्लबमा बिताएका उनले मात्र दुईवटा जर्मन कपको उपाधि जितेका छन् । क्लबका लागि ५०७ खेल खेल्दै ३५ वर्षीय खेलाडीले १७० गोल गरेका छन् । उनी क्लबको शीर्ष गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन् ।

यता, १४ पटकको विजेता रियलले पनि आफ्नो जर्मन खेलाडी टोनी क्रुसको बिदाइ गर्नेछ । आजको फाइनल क्लबका लागि उनको अन्तिम खेल हुनेछ । उनले त्यसपछि युरो २०२४ मा भाग लिएर व्यावसायिक फुटबलबाट बिदा हुनेछन् ।

म्यानेजर कार्लो एन्चेलोटीले प्रशिक्षकका रूपमा चारपटक यो प्रतियोगिता जितिसकेका छन् । तर, उनी आजको खेललाई हल्कामा लिन चाहँदैनन् ।

‘च्याम्पियन्स लिगको फाइनल सबैभन्दा महत्त्वपूर्ण खेल हो, साथै खतरनाक पनि,’ एन्चेलोटीले भने ।

carlo-ancelotti

यो सिजन समूह सीमा रहेको रियलले नापोली, ब्रागा र युनियन बर्लिनविरुद्ध शत प्रतिशत नतिजा निकाल्दै नकआउट चरणमा प्रवेश गरेको थियो । अन्तिम १६ मा आरबी लेइपजिगलाई हराएको हराएको टोलीले त्यसपछि म्यानचेस्टर सिटी र बायर्नलाई पाखा लगाउँदै फाइनलसम्म पुगेको हो ।

रियलले आज रेकर्ड १८ पटक प्रतियोगिताको फाइनलमा खेल्नेछ । यसमध्ये टोलीले मात्र ३ वटामा हार बेहोरेको छ । स्पेनिस महारथीले पछिल्लो पटक फाइनल खेल हारेको ४३ वर्ष पुगिसकेको छ । सन् १९८१ मा लिभरपुलसँग पराजित भए यता टोलीले पछिल्ला ८ वटा प्रतियोगिताको फाइनल खेल जितेको छ ।

आजको फाइनल जिते रियलका लुका मोड्रिच, ड्यानी कार्भाहाल, टोनी क्रुस र नाचोले पनि आफ्नै इतिहास रच्नेछन् । उनीहरूले कीर्तिमानी छैटौँ पटक च्याम्पिन्स लिगको उपाधि हात पार्नेछन् । यसअघि रियलकै फ्रान्सिस्को गेन्टोले मात्र सन् १९५६ र १९६६ को बिचमा युरोपियन कपको मेडल हात पारेका थिए ।

real-madrid_1

जनवरी यता रियल लगातार २५ खेलमा अपराजित रहेको छ । यो सिजन च्याम्पियन्स लिगमा टोलीले एक खेल पनि हारेको छैन ।

च्याम्पियन्स लिगमा डर्टमन्ड र रियल १४ पटक भिडेका छन् । यसम्धये ६ खेलमा रियल र ३ खेलमा डर्टमन्ड विजयी भएको छ । अन्य खेल बराबरीमा टुंगिएको छ ।

पछिल्लो पटक सन् २०१७–१८ सिजनमा आमनेसामने हुँदा रियलले डर्टमन्डलाई हराएको थियो । डर्टमन्डले सन् २०१३–१४ सिजनमा रियललाई हराउन सफल भएको थियो ।

सम्भावित टोलीः

  • बोरुसिया डर्टमन्ड

कोबेल, रायरसन, ह्युमल्स, स्लोकटरबेक, माटसेन, साबिट्जर, च्यान, सान्चो, ब्रान्डट, एडेयेमी र फुल्क्रुग ।

  • रियल मड्रिड

कोर्टवा, कार्भाहाल, रुडिगर, नाचो, मेन्डी, भालभर्डे, कामाभिंगा, क्रुस, बेलिङह्याम, रोड्रिगो र भिनिसियस जुनियर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप