मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
उत्पादन

विश्व दुध दिवस : किसानले ४ अर्बभन्दा बढी रकम भुक्तानी पाउन बाँकी

शनिबार, १९ जेठ २०८१, ०७ : ४५
शनिबार, १९ जेठ २०८१

काठमाडौँ । ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन’ भन्ने नाराका साथ आज (शनिबार) विश्व दुध दिवस मनाइँदै छ ।

लामो समयदेखि नेपाली किसानले दुधको रकम भुक्तानी पाउन सकेका छैनन् । नेपाल डेरी एसोसिएसनका अनुसार किसानले भुक्तानी पाउन बाँकी ४ अर्बभन्दा बढी रुपैयाँमध्ये पौने २ अर्ब रुपैयाँ डीडीसीको दायित्वमा छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा बर्सेनि २० लाख मेट्रिक टनभन्दा बढी दुध उत्पादन हुन्छ । आर्थिक वर्ष २०७८-०७९ मा नेपालमा कुल २५ लाख ६६ हजार मेट्रिक टन दुध उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७-२०७८ मा २४ लाख ७९ हजार मेट्रिक टन, आर्थिक वर्ष २०७६-०७७ मा २३ लाख मेट्रिक टनभन्दा बढी दुध उत्पादन भएको थियो ।

यसका बाबजुद वार्षिक रुपमा २ अर्बभन्दा बढी रुपैयाँको दुध आयात हँुदै आएको सरकारी तथ्याङ्क छ ।

दुध उत्पादन, गाई र भैैँसीको सङ्ख्या विवरण   

1

देशभर दैनिक ७० लाख लिटर दुध उत्पादन

मुलुकमा दैनिक ६५ देखि ७० लाख लिटर दुध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । करिब ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुग्ध उत्पादन क्षेत्रमा संलग्न रहेको डेरी एसोसिएसनले जनाएको छ ।

बजेटमा दुग्ध क्षेत्र नसमेटिएको गुनासो

आगामी आर्थिक वर्षको बजेटमा दुग्ध क्षेत्र नसमेटिएको दुग्ध उद्योगीहरूले गुनासो गरेका छन् । आगामी आर्थिक वर्ष (२०८१-८२) को बजेटले दुग्ध क्षेत्रका समस्या सम्बोधन नगरेको भन्दै उद्योगीहरूले असन्तुष्टि जनाएका छन् ।

नेपाल डेरी एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले सरकारले ठुलो आकारको बजेट पेस गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई भने ३ प्रतिशत पनि बजेट नछुट्याएको गुनासो गरे । सरकारले आगामी आर्थिक वर्षका लागि कृषितर्फ ५७ अर्ब २९ करोड रकम विनियोजन गरेको छ । बजेटमा दुग्ध क्षेत्रलाई सिधै सम्बोधन नगरे पनि प्रदेश, स्थानीय तह र निजी क्षेत्र समेतको सहकार्यमा सबै प्रदेशमा गाई–भैँसी पालन स्रोत केन्द्रको विकास गरिने उल्लेख छ ।

स्वदेशमै बढी उत्पादन क्षमता भएका दुधालु पशु उत्पादन गर्न गाई र भैँसीमा नश्ल सुधारका लागि ३८ करोड विनियोजन भएको छ । यस्तै, पशुपन्छीको महामारी रोग नियन्त्रणका लागि आगामी वर्ष पाँच करोड डोज खोप उत्पादन गरिने बजेटमा उल्लेख छ । आगामी तीन वर्षभित्र पीपीआर र क्लासिकल स्वाईन फिवर रोग उन्मूलन गर्ने गरी निःशुल्क खोप अभियान सञ्चालन गरिने बजेटमा उल्लेख छ । खोरेत रोग नियन्त्रण गर्न सघन खोप कार्यक्रम सञ्चालन गरिने, खोप उत्पादन तथा सेवा सञ्‍चालनका लागि ४० करोड रुपैयाँ व्यवस्था गरिएको छ । डेरी क्षेत्रलाई प्रत्यक्ष रुपमा सम्बोधन नगरे पनि यी योजनाले डेरी क्षेत्रलाई सहयोग पुग्ने देखिएको छ ।

आयात निर्यात कति ?

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा १० करोड रुपैयाँ बराबरको दुध तथा दुग्धजन्य पदार्थ निर्यात गरिएको छ । सो अवधिमा २ अर्ब १५ करोड रुपैयाँ बराबरको दुध तथा दुग्धजन्य पदार्थ आयात गरिएको छ ।

यस्तै, आर्थिक वर्ष २०७९-८० मा २ अर्ब ५५ करोड रुपैयाँको दुध तथा दुग्धजन्य पदार्थ आयात गरिएकोमा १६ करोड रुपैयाँको निर्यात गरिएको छ । आर्थिक वर्ष  २०७८-७९ मा ९ करोड रुपैयाँको दुध तथा दुग्धजन्य पदार्थ निर्यात गर्दा २ अर्ब १४ करोड रुपैयाँको आयात गरिएको भन्सार विभागको तथ्याङ्क छ ।

दुध तथा दुग्धजन्य पदार्थको आयात र निर्यातको विवरणः

2

‘दुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ नेपाल डेरी एसोसिएशनले २४ औँ विश्व दुध दिवस मनाउँदै छ ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याउने योगदान मनन् गर्दै दुधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संगठनले सन् २००१ साल जुन १ देखि विश्व दुध दिवस मनाउन सुरु गरेको हो ।

आम मानिसलाई दुधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ बाट विश्व दुध दिवस मनाउन सुरु गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप