सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

शुक्रबार, १८ जेठ २०८१, २१ : ५७
शुक्रबार, १८ जेठ २०८१

आज मिति २०८१ साल जेठ महिनाको १८ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. पेट्रोलियम पदार्थको नयाँ मूल्य

सरकारले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

आगामी आर्थिक वर्षको बजेटमा भएको व्यवस्था अनुसार नेपाल आयल निगमले ‘हरित कर’ लागु गरेको छ ।

२. बागमती प्रदेशसभा

बागमती प्रदेश सभाको बैठकमा सङ्घीयताको सवालमा विभिन्न टिप्पणी भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका लागि बसेको बैठकमा सङ्घीयताबारे बहस भएको हो ।

बैठकमा धारणा राख्ने अधिकांश सांसदले सङ्घीयताको पक्षमा बहस गरेका थिए । बैठक सुरु भए लगत्तै संसदको रोस्टम उक्लिएका नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति इन्द्रबहादुर बानियाँले सरकारको नीति तथा कार्यक्रम सङ्घीय व्यवस्था अनुकूल नभएको टिप्पणी गरे ।

प्रदेश थप समाचार

३. कांग्रेसको अर्को तयारी

सहकारी ठगी प्रकरणमा संसदीय विशेष समिति गठन भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गिरिबन्धु टी–स्टेट जग्गामा भएको नीतिगत भ्रष्टाचारको मुद्दालाई चर्चाउने रणनीति बनाएको छ । जेठ १५ मा सहकारी ठगीमा संसदीय छानबिन समिति गठन भएपछि कांग्रेसले गिरिबन्धु टी– स्टेटको विषय आगामी संसद्को बैठकमा उठाउने भएको हो ।

४. माधवसँग ओली–प्रचण्डको छलफल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विपक्षी मोर्चाको बैठकमा सहभागी भएपछि तरङ्गित बनेको राजनीति अझै सम्हालिएको छैन ।

त्यसको प्रतिक्रियास्वरुप प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई बोलाएरै छलफल गर्नुपरेको छ ।

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबिच भएको भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले बताएका छन् ।

छलफलपछि सिंहदरबारबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल भएको हो ।’

५. धमाधम सिनेमा बन्द

दर्शकको रोजाइ र सिनेमा हलको प्रकृति बदलिँदै जाँदा देशभरका ३ सयभन्दा बढी सिनेमा हल बन्द भएको पाइएको छ । कुनै समय साढे ४ सयको सङ्ख्यामा रहेका हल यतिबेला घटेर १३८ हाराहारीमा खुम्चिएका छन् ।

६. बालेनसँग सवालजवाफ

काठमाडौँ महानगरपालिकाको ३२ औँ नगरकार्यपालिकाको बैठकमा एक वडाध्यक्ष मेयर बालेन शाहविरुद्ध खनिएका छन् ।

बैठक सुरु हुने बित्तिकै वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले महानगर प्रहरी बल आएर कार्यालयका फाइलहरू बोरामा हालेर लगेको भन्दै आपत्ति जनाए । उनले कुन आशय र के कारणले यसरी फाइलहरू आफ्नो जानकारी बिनै किन लगियो भन्नै आक्रोश पोखे ।

७. जग्गा खोज्न समिति

सरकारले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गाको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गाको अध्ययन, अनुसन्धान, छानबिन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो ।

८. माओवादी बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सांसदहरूलाई एक ढिक्का भएर बजेटको ‘डिफेन्स’ गर्न निर्देशन दिएका छन् । 

शुक्रवार सिंहदरबारस्थित सो पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक अवस्था र संसद्‌मा पेश भएको बजेटबारे ब्रिफिङ गर्दै यस्तो निर्देशन दिएका हुन् ।

९. रविविरुद्ध मुद्दा

गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।  गृहमन्त्री लामिछानेले ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णय गर्दै लागू गराएका थिए ।

१०. अध्ययन समिति गठन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा गुणस्तर बनाउन ३ सदस्यीय अध्ययन समिति गठन गरेको छ । मन्त्रालयले शुक्रबार मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दिपेन्द्र रमण सिंहको नेतृत्वमा ३ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।  

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप