बागमती प्रदेशसभा : सङ्घीयताको पक्षमा चर्को बहस
मकवानपुर । बागमती प्रदेश सभाको बैठकमा सङ्घीयताको सवालमा विभिन्न टिप्पणी भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका लागि बसेको बैठकमा सङ्घीयताबारे बहस भएको हो ।
बैठकमा धारणा राख्ने अधिकांश सांसदले सङ्घीयताको पक्षमा बहस गरेका थिए । बैठक सुरु भए लगत्तै संसदको रोस्टम उक्लिएका नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति इन्द्रबहादुर बानियाँले सरकारको नीति तथा कार्यक्रम सङ्घीय व्यवस्था अनुकूल नभएको टिप्पणी गरे ।
उनले सङ्घीयता र व्यवस्थामाथि प्रश्न उठिरहेका बखत सरकारले नागरिकको आवश्यकतालाई सम्बोधन गर्न नसकेको बताए । सङ्घीय व्यवस्थाको पक्षमा सरकारले ठोस नीति तथा कार्यक्रम ल्याउन नसकेको उनको भनाइ थियो । सङ्घीय व्यवस्थामा आम नागरिकको आवश्यकता र जीवनस्तर उठाउने प्रकृतिका कार्यक्रम ल्याएर नागरिकलाई सरकारप्रतिको अपनत्व अनुभूति गराउनु पर्ने उनले प्रस्ट पारे ।
बैठकमा आफ्नो धारणा राख्दै प्रदेश सभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले प्रदेश सरकारको बजेटमा बिचौलिया प्रकोपमा परेकाले समस्या भएको बताए । सरकारको बजेट प्रणाली ठिक नहुँदा नागरिकहरूले समस्या भोग्नु परेको उनको भनाइ छ ।
सांसद काफ्लेले सरकार बिचौलियाको चङ्गुलमा परेर जनप्रतिनिधिलाई नै बाइपास गरेर बजेट कार्यक्रम समावेश गर्ने गरेको बताए । एउटा काम गर्न नागरिकले अनेक ठाउँमा जानुपर्ने अनि सङ्घीयताको चर्को कुरा गर्नु व्यर्थ हुने भन्दै उनले पञ्चायतका अवशेषहरू भ्रष्टाचार, परिवारवाद, नातावाद अझै पनि दल तथा निर्वाचन क्षेत्रको नाममा जीवित रहेको टिप्पणी गरे ।
बैठकमा राप्रपाकी सांसद लक्ष्मी घिमिरेले वर्तमान व्यवस्थाले नागरिकको हितमा काम गर्न नसकेको टिप्पणी गरिन् । उनले सङ्घीय व्यवस्था नेपाल अनुकूल नभएको र राजा सहितको व्यवस्था नै उत्तम विकल्प भएको बताइन् ।
राजसंस्थाले नागरिकको अभिभावकत्व लिएर काम गर्ने भन्दै उनले वर्तमान सङ्घीय व्यवस्थामा पद र लाभका लागि दलहरूको भागदौडका कारण जनताका समस्या हल हुन नसकेको बताइन् ।
त्यस लगत्तै रोष्टम चढेका प्रदेश सभा सदस्य एवम् नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री पौडेलले वर्तमान व्यवस्थामा भएका सबै सुविधा चाहिने तर सङ्घीयता किन चाहिएन भन्दै प्रश्न गरे ।
अध्यक्ष पौडेलले वर्तमान व्यवस्था विरुद्धमा प्रश्न गरेर आफैँलाई गलत भन्न खोजेको बताए । उनले सङ्घीय व्यवस्थाले सुनिश्चित गरेको क्लस्टरबाट प्रतिनिधित्व गरेको पदमा बसेर आफैँलाई गलत भन्न खोजेको टिप्पणी गरे ।
‘यही सङ्घीय प्रणाली अनुसार समानुपातिक व्यवस्था ठिक छ । पहिचान ठिक छ । गुम्बा, धर्म, संस्कृति, मन्दिर, बहुजाति, बहुभाषा, बहुसांस्कृतिक, बहुकला सबै कुरा चाहियो तर सङ्घीयता चाहिएन, परिवर्तन चाहिएन, के कुरा हो यो ?’ उनले भने, ‘आज जो जो साथीहरू अपाङ्गता, दलित, महिला, जनजातिको क्षेत्रबाट प्रतिनिधित्व गरिराख्नु भएको छ । व्यवस्थामाथि प्रश्न गरेर तपाईंहरूले आफैलाई गलत भनिरहनु भएको छ ।’
राज्यको तलो तहसम्म सङ्घीयताको शिक्षा लैजान जरूरी रहेको उनले औँल्याए । सङ्घीयतामाथि प्रश्न उठेको अवस्थामा संविधान प्रदत्त अधिकारका विषयमा सबैले साझा सङ्कल्प गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
प्रदेश सभाको ७ वर्षमा पनि अधिकार हस्तान्तरण गर्न नसक्ने, नदिने मनोविज्ञानको विरुद्ध सङ्कल्प प्रस्तावसहित अदालत जान तयार हुनुपर्ने पौडेलको भनाइ छ । प्रदेश प्रहरी समायोजनका सवाल वा अन्य सवालहरूमा प्रदेश सभाका दलहरू साझा सङ्कल्प गरेर अघि बढ्नु आजको आवश्यकता रहेको उनले बताए ।
बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक मधुसुदन पौडेलले लोकतान्त्रिक गणतन्त्र बेठिक भयो भनेर हाँस्न जरुरी नरहेको बताए । संसद र सरकारमा रहेका सङ्घीयताका पक्षधर दलहरूको कारण गणतन्त्र र सङ्घीयता विरोधीहरूको हाँसो बढाउने काम भइरहेको उनको भनाइ थियो ।
लोकतान्त्रिक गणतन्त्र सबै विचार र सिद्धान्तका व्यक्ति अट्ने फूलबारी भएको टिप्पणी गर्दै उनले संसदमा आएर राजतन्त्रको माग गर्दा कसैले सहिद हुन नपर्ने अवस्था यही व्यवस्थामा रहेको प्रस्ट पारे ।
बैठकमा कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि मास्न सम्भव नरहेको बताए । सङ्घीयता र गणतन्त्रलाई संस्थागत विकासका लागि सबै दलले कसरत गर्नुपर्ने उनको भनाइ छ ।
बैठकको अन्तिम वक्तकाको रुपमा रोष्टम चढेका माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभाका सबै दलहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता