आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

श्रमाधान मेला : ५ हजारले गरे अवलोकन, दुई हजारले दिए आवेदन

शुक्रबार, १८ जेठ २०८१, २० : ४९
शुक्रबार, १८ जेठ २०८१

विराटनगर । विराटनगरस्थित सिटी प्यालेसमा आयोजित ‘श्रमाधान रोजगार मेला’को पाँच हजार भन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।

संघीय सरकार, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा भएको उक्त मेला शुक्रबार नै समापन भएको छ । देशका सातै प्रदेशमा जारी मेलाको उद्घाटन विराटनगरस्थित सिटी प्यालेसमा राखिएको थियो ।

बिहीबार मेलाको उद्घाटन भएको थियो । आयोजकका अनुसार जेठ १७ गते बिहीबार तीन हजार र १८ गते शुक्रबार दुई हजार गरी पाँच हजारभन्दा धेरैले मेलाको अवलोकन गरेका हुन् । दुई दिनमा रोजगारीको खोजीमा मेलास्थल पुगेका करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् ।

मेलामा रोजगारदाताले स्वास्थ्य क्षेत्रमा ४२ जना र उत्पादनमूलक उद्योगमा दुई हजार चार सय ९५ गरी दुई हजार पाँच सय ३७ जना दक्ष कामदार माग गरेका थिए । मेलास्थलमै ४० भन्दा धेरैको रोजगारी सुनिश्चित भएको छ भने दुई सय ५० भन्दा धेरै आवेदकलाई रोजगारदाताले अन्तर्वार्ताका लागि बोलाएका छन् ।

मेलामा उद्योग प्रतिष्ठानका ३४, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका सात, बैंक तथा वित्तीय संस्था र बिमासम्बन्धी चार तथा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासहितका स्थानीय तहका रोजगार सूचना केन्द्रसमेत गरी सात वटा स्टल राखिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको संयोजनमा भएको मेलाको बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् । आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित ‘श्रमाधान रोजगार मेला’को श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि आयोजकका रुपमा रहेका थिए । देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजक थिए ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले पनि मेलामा विशेष सहयोग गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप