बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

प्रदेश सरकार समाजवादको दिशामा अग्रसर छ : मुख्यमन्त्री जम्कट्टेल

शुक्रबार, १८ जेठ २०८१, २० : ४१
शुक्रबार, १८ जेठ २०८१

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको लय समाजवादको दिशामा अग्रसर रहेको बताएका छन् । उनले सरकार र संसदमा रहेका जिम्मेवार व्यक्तिले नागरिकहरूलाई निराशा बाँड्ने तर्फ अग्रसर नहुन आग्रह गरे ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री जम्कट्टेलले संविधानले निर्देशित गरे अनुसारको विकासको मोडलमा सरकार अघि बढेको बताए । उनले संसद्को मर्यादालाई अवलम्बन गर्दै विचार राख्ने र सुन्न सक्ने क्षमता राख्नु गर्नेमा जोड दिए । विगतको विकास र राजनीति तुलनामा सरकारले निकै फड्को मारेको उनको भनाई छ ।

‘नीति तथा कार्यक्रम सबै सांसदको साझा दस्ताबेज भएको महशुस भएको छ । नीति तथा कार्यक्रम तयारीका बखत सबै दलहरूसँग सुझाव मागेर समावेश गरिएको छ । सरकारको सैद्धान्तिक दस्ताबेज हो । नीति तथा कार्यक्रम बजेटमा रूपान्तरण गर्नुपर्छ ।’ उनले भने, ‘नीति तथा कार्यक्रम बजेटको मार्ग निर्देश हो । प्रदेशलाई समृद्ध बनाउने कार्यक्रम नीति कार्यक्रममा समावेश भएको छ । अहिलेको आवश्यकता र नागरिकको चाहना अनुसारको नीति कार्यक्रम रहेको छ ।’

मुख्यमन्त्री जम्कट्टेलका अनुसार शिक्षा स्वास्थ्य सामाजिक क्षत्रेमा निकै राम्रो नीति कार्यक्रम आएको छ । शैक्षिक वेरोजगारी, शिक्षीत जनशक्ति पलायनमा हाम्रो बहस गर्न उनले आग्रह गरे । परीक्षा प्रणाली र पाठ्यक्रम बदल्ने विषयमा बहस गरेर मेरिट प्रणालीमा अग्रसर हुन जरुरी रहेको उनले बताए ।

‘कोटा प्रणालीको विपरीतमा पाठ्यक्रम परिवर्तन र प्राविधिक शिक्षामा सरकारले काम गर्ने रणनीति बनाएको छ । आवशिय मोडलमा विद्यालयहरूलाई लगेर शिक्षा क्षेत्रको गुणस्तर र विकासमा सरकारले काम गर्न सरकार अघि बढेको छ । प्रदेश सरकारले ५ वटा अस्पताल प्रदेश सरकारले विकास गर्ने गरी अघि बढेको छ । चितवनको माडी, सिन्धुपाल्चोको मेलम्ची, सिन्धुलीको दुधौली, रामेछापको मन्थली र दोलखाको जिरीको अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने सरकारको रणनीति रहेको छ । सरकारले ऐन अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठनसँग छलफल भइरहेको छ ।’ उनले भने ।

१५ हजार युवालाई सिप र बिउ पुँजी वितरण गर्ने गरी सिप वर्ष घोषणा गर्ने क्रममा सरकार रहेको उनले बताए । कृषिमा समुदाय केन्द्रित गरेर ८५ वटा स्थानीय तहमा उत्पादनको मोडल अघि बढाउने, घरेलु र हस्तकला उद्योगलाई नीतिगत रूपमा नै विकास गर्ने सरकारको तयारी रहेको उनको भनाइ छ ।

उनका अनुसार जिल्ला अनुसार प्रांगारिक मल कारखाना खोल्ने काम अघि बढेको छ भने प्रदेशको आफ्नै बैंक हुनुपर्छ भन्ने विषयमा सरकार अध्ययनमा अघि बढाउने तयारी रहेको छ । लगानीको मोडल र नीतिका लागि लगानी बोर्ड गठन गर्ने सरकारको तयारी रहेको उनले बताए ।

प्रदेश सडक गुरुयोजना क्याबिनेटमा आएको र सो अन्तर्गत ३५० सडक निश्चित समयमा पुरा गर्ने गरी नयाँ मोडमा अघि बढाउने काम भइरहेको मुख्यमन्त्री जम्कट्टेलले बताए । प्रतिपक्षका योजना सम्बोधन गरेर बजेट ल्याउने उनको भनाई छ । प्रतिपक्ष तर्सेर संसद् अवरुद्ध गर्ने चेतावनी तर्फ जान उचित नहुने उनले बताए । प्रदेश सरकारको स्रोत र क्षमताको आधारमा बजेट विनियोजन गरेर सांसद र नागरिकको माग अनुसारको बजेट आउनेमा विश्वस्त हुन उनले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप