शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

मधेस प्रदेशमा लोसपा तानातानमा

लोसपा भन्छ– सरकारको बारेमा हामीले कुनै निर्णय गरेका छैनौँ
शुक्रबार, १८ जेठ २०८१, १८ : २५
शुक्रबार, १८ जेठ २०८१

काठमाडौँ  । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने समय नजिकिँदै गर्दा केन्द्रको सत्ता गठबन्धनले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल जारी राखेको छ ।

यो अवस्थामा लोसपा नेपाल दुवैतिर तानातानमा परेको छ । महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालले अहिलेको अवस्थामा उनले जुन पक्षलाई सहयोग गर्छ, त्यही पक्षको सरकार बन्ने अवस्था देखिएको छ ।

लोसपा नेपालले भने आफू कुन पक्षमा रहने भन्ने प्रस्ट पारिसकेको छैन । मधेस प्रदेश सरकार बनाउनका लागि केन्द्रको सत्ता गठबन्धनले लोसपा नेपालको साथ आफूलाई रहने दाबी गर्दै आएको छ ।

बिहीबारमात्र लोसपासहित पाँच दलको बिचमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको भनेर विज्ञप्ति जारी भएको थियो । एमाले, माओवादी र जनमत पार्टीले संयुक्त रूपमा हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मधेस प्रदेशमा निर्माण भएको नयाँ राजनैतिक परिस्थितिमा प्रदेशमा रहेको भ्रष्टाचार लगायत सबै प्रकारको बेथिति अन्त्य गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लागि आज नेपाल कम्युनिस्ट पार्टी एमाले, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र नेकपा (एस) दलको सहभागितामा नयाँ संयुक्त मधेस सरकार जनमत पार्टीको नेतृत्वमा बनाउने निर्णय भएको छ ।’

पाँच दलको बिचमा सहमति भएको भनिए पनि विज्ञप्तिमा तीन दलको हस्ताक्षर मात्र छ । लोसपा नेपालका नेताहरूले त्यसलाई तत्कालै खण्डन गरिसकेका छन् ।

नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलका नेता एवं मधेस सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले पनि सत्ता गठबन्धनका दलहरूसँग कुनै प्रकारको सहमति वा कुराकानी नभएको बताए । उनले भने, ‘विज्ञप्तिमा तीन दलको हस्ताक्षर छ र भित्र पाँच दलबिच सहमति भएको भनिएको छ । त्यो कुरा फर्जी हो भन्ने यसबाटै प्रस्ट हुन्छ ।’

यता, लोसपा नेपालले कांग्रेस नेतृत्वको गठबन्धनसँग पनि छलफल सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आफ्नो निवासमा बुधबार बोलाएर छलफल गरेका छन् ।

कांग्रेस नेतृत्वको गठबन्धनसँग कुराकानी भएको तर सरकार बनाउने विषयमा कुनै सहमति नभएको लोसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले बताए । उनले भने, ‘हामी सत्ता गठबन्धनमा छैनौँ, त्यो पक्षसँग हालसम्म कुनै कुराकानी नै भएको छैन । कांग्रेसले बोलाएर कुराकानी गरेको छ तर कुनै सहमति बनेको छैन ।’

सत्ता गठबन्धनका नेताहरूले आफ्नै मनले लोसपाको नाम हालेर विज्ञप्ति जारी गरेको उनको भनाइ छ । ती दलसँग सहमति त धेरै टाढाको कुरा, कुनै छलफल समेत नभएको उनले प्रस्ट पारे ।

सरकारको बारेमा लोसपाले कुनै निर्णय नगरेको पनि झाले जानकारी दिए । ‘कसलाई समर्थन गर्ने वा नगर्ने, कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा निर्णय हुन बाँकी छ,’ उनले भने ।

यसपटक सरकारको विषयमा लोसपा नेपालले बडो सावधानीपूर्वक निर्णय लिने बताउँदै उनले मधेस प्रदेशमा लोसपाले सरकार नेतृत्वको दाबी गर्ने प्रस्ट पारे । मधेस प्रदेश सभामा लोसपाको नौ जना सांसद छन् । जसपा नेपाल नेतृत्वको सरकारलाई लोसपाले पनि समर्थन गरेको थियो भने एक जना मन्त्री पनि पठाएको थियो ।

माओवादी र कांग्रेसको गठबन्धन भङ्ग भएपछि लोसपाले जसपा नेपाल नेतृत्वको सरकार छाडेको थियो । जसपा नेपाल त्यतिबेला माओवादी केन्द्र र एमाले नेतृत्वको गठबन्धनमा थियो । जसपा नेपाल विभाजन भएपछि मधेसमा माओवादी र एमालेले सरकार छाडिसकेका छन् ।

केन्द्रमा जसपा नेपालले पनि माओवादी र एमाले गठबन्धनको सरकार छाडेको छ । पछिल्लो समय जसपा नेपाल पनि कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल छ । अहिले जसपा नेपाल र लोसपा नेपाल एउटै गठबन्धनमा छन् । तैपनि जसपा नेपाल नेतृत्वको सरकारलाई निरन्तरता दिने कि नदिने विषयमा गठबन्धनभित्रै अन्योल छ । तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप