बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
नगरकार्यपालिकाको बैठक

बालेनविरुद्ध खनिए वडाध्यक्ष, अनि भयो भनाभन (भिडियोसहित)

शुक्रबार, १८ जेठ २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३२ औँ नगरकार्यपालिकाको बैठकमा एक वडाध्यक्ष मेयर बालेन शाहविरुद्ध खनिएका छन् । बैठक सुरु हुने बित्तिकै वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले महानगर प्रहरी बल आएर कार्यालयका फाइलहरू बोरामा हालेर लगेको भन्दै आपत्ति जनाए । उनले कुन आशय र के कारणले यसरी फाइलहरू आफ्नो जानकारी बिनै किन लगियो भन्नै आक्रोश पोखे । 

उनले यसबारे आफूले आजको बैठकबाट जान्न चाहेको बताए । जवाफमा प्रमुख कार्यकारी अधिकृतले घरबाहल घरसम्बन्धी अध्ययनका लागि फाइलहरू लिइएको जवाफ दिए । उनले आन्तरिक राजश्व विभागसँग समन्वय भएर यो कार्य भइरहेको भन्दै अन्य वडामा पनि छानबिन हुने बताए । 

त्यसपछि आक्रोशित हुँदै वडाध्यक्षले डकैतीको शैलीमा के गरेको भन्दै प्रश्न गरे । ‘म यो संस्थाको प्रतिपक्षी हो र ? म पनि मेयर साप जसरी नै निर्वाचित भएर आएको हो । मेयरलाई भोट हाल्ने मलाई भोट हाल्ने एउटै जनता हो’, उनले भने, ‘हामीले सेवाग्राहीलाई सहज ढंगले सेवा गर्ने आधार के हो ? मेरो अनुपस्थितिमा फाइल किन लगियो ? यो संस्थाको म सौतेलो छेरा हो ? ममाथि किन यस्तो हुन्छ ?’

उनले नयाँ सडकमा पेटी बनाउने कुरा आफूले पत्रिका पढेर थाहा पाउनु परेको भन्दै आक्रोश पोखे । वडा नम्बर २२ का उनले एकाएक २४ नम्बरको कुरा गरेपछि बालेनले ‘तपाईंको वडामा पत्रिका पढेर थाहा पाउनु भयो कि २४ नम्बर वडामा ?’ भनेर प्रश्न गरे । 

‘२४ नम्बर वडामा फुटपाथ बढाउन वडाध्यक्षले साँघुरो भयो, सेक्सुअल हेरेसमेन्ट भयो, पकेटमारी भयो- हामीलाई फुटपाथ बढाइदिनु भन्दा तपाईंलाई के समस्या भयो ?’, बालेनले प्रश्न गरे । 

त्यसपछि वडाध्यक्ष र मेयरबिच भनाभन सुरु भएको थियो । २२ नम्बरका वडाध्यक्षले न्युरोड भनेको २४ नम्बरको मात्रै नभएको तर्क गरे । २४ नम्बर वडामा काम भएरहेकाले २२ नम्बरको वडाध्यक्षले प्रश्न उठाउनु जायज नभएको बालेनले बताए । 

त्यसपछि वडाध्यक्षले भने, ‘तपाईंले २४ को मात्रै गर्न खोज्नुभएको हो ?’ बालेनले पनि झोक्किँदै भने, ‘हो !’ त्यसपछि वडाध्यक्ष र मेयरबिच यो विषयमा केहीबेर गलफती चलेको थियो । सो क्रममा वडाध्यक्षले सहकार्य नगरेको, राज्यको विधि विधान नमानेको लगायतका आरोप मेयरमाथि लगाए । 

तर, बालेनले आफूले कानुनअनुसार काम गरिरहेको भन्दै सडक विभागले न्युरोडमा गरेको कार्य गैरकानुनी रहेकाले त्यसविरुद्ध आफूहरूले कानुनी उपचार खोज्ने बताए । 

त्यसपछि २४ नम्बरका वडाध्यक्ष विनोदराज भण्डारीले बालेनलाई समर्थन गर्दै सडक पेटी विस्तार आवश्यक रहेको बताए । पेटी साँघुरो भएको, निवेदन पनि आएकाले काम सुरु गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया