देशभर ३०० भन्दा बढी सिनेमा हल बन्द
काठमाडौँ । दर्शकको रोजाइ र सिनेमा हलको प्रकृति बदलिँदै जाँदा देशभरका ३ सयभन्दा बढी सिनेमा हल बन्द भएको पाइएको छ । कुनै समय साढे ४ सयको सङ्ख्यामा रहेका हल यतिबेला घटेर १३८ हाराहारीमा खुम्चिएका छन् ।
नेपाल चलचित्र सङ्घका अनुसार अहिले ३०० भन्दा बढी हल बन्द भएका छन् । नेपाल चलचित्र विकास बोर्डका अनुसार नेपालमा ४४२ हल (मल्टिप्लेक्सका प्रत्येक पर्दालाई हलको सङ्ख्यामा गणना गर्दा) सञ्चालनमा थिए ।
जस अनुसार झापामा २१, पाँचथरमा २, मोरङमा २५, सुनसरीमा १९, इलाममा १, धनकुटामा २, भोजपुरमा १, सप्तरीमा ८, सिरहामा ७, उदयपुरमा ५, खोटाङमा २, सर्लाहीमा ८, धनुषामा १४, महोत्तरीमा ५, दोलखामा २, सिन्धुलीमा १, बर्दिवासमा १, मकवानपुरमा ६, रौतहटमा ६ वटा हल रहेको तथ्याङ्कले देखाउँछ ।
त्यसैगरी चितवनमा १३, बारामा १४, पर्सामा १३, भक्तपुरमा ९, काठमाडौँमा ८५, ललितपुरमा १६, नुवाकोटमा १, सिन्धुपाल्चोकमा १, काभ्रेपलान्चोकमा ४, धादिङमा २, लमजुङमा ५, तनहुँमा १३, कास्कीमा १४, गोरखामा २, स्याङ्जामा २, बागलुङमा ४, पर्वतमा ४, म्याग्दीमा ३, कपिलबस्तुमा ९, रुपन्देहीमा १६, नवलपरासीमा ११, बुटवलमा २, गुल्मीमा ३, पाल्पामा १, दाङमा १४, प्युठानमा १, बर्दियामा ९, सल्यानमा १, बाँकेमा ८, सुर्खेतमा ४, जुम्लामा १, कैलालीमा १५ र कञ्चनपुरमा ८ हल सञ्चालनमा थिए ।
देशभर ४४२ पर्दा (हल) मा अहिले १३८ पर्दामात्र सञ्चालनमा रहेको नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले बताए । ‘बन्द भएका सबै हल एकै समय बन्द भएका होइनन्,’ उनले भने, ‘कुनै हल कोरोनाका कारण बन्द भयो । कुनै त्यसभन्दा अगाडि र पछाडि बन्द भए ।’
व्यवसायको अभावले ती हल बन्द भएको उनको भनाइ छ । हलको सङ्ख्या यसरी घट्नु भनेको चिन्ताको विषय रहेको उनले बताए ।
अहिले कहाँ कति हल ?
देशभरका प्रदर्शक (हल) सञ्चालको संस्था हो चलचित्र सङ्घ । सङ्घका अनुसार अहिले देशभर १३८ वटा हलमात्र चालु अवस्थामा छन् । त्यसमा पनि सबैभन्दा बढी हल काठमाडांैँमा ४१ र त्यसपछिको बढी झापा र रुपन्देहीमा १०–१० वटा छन् ।
हाल ललितपुरमा ३, भक्तपुरमा ४, काभ्रेमा २, पर्सामा ५, बारामा २, सर्लाहीमा ४, धनुषामा १, सिरहामा १, धनकुटामा १, सुनसरीमा ७, मोरङमा ९, कैलालीमा १, सुर्खेतमा १, बाँकेमा ५, दाङमा ५, कपिलबस्तुमा २, गुल्मीमा १, पाल्पामा १, नवलपरासीमा १, बागलुङमा २, कास्कीमा ९, तनहुँमा २, चितवनमा ५ र मकवानपुरमा ३ हल सञ्चालनमा छन् ।
कहाँ कति घट्यो
कोरोना महामारी, दर्शकको मल्टिप्लेक्स मोह, देशको राजनीतिक अस्थिरता, फिल्मको व्यवसाय लगायत धेरै कारणले सिनेमा हल बन्द भएका छन् । चलचित्र सङ्घको तथ्याङ्क अनुसार अहिलेसम्म काठमाडौँमा ४४, ललितपुरमा १३, भक्तपुरमा ५, काभ्रेमा २, पर्सा ८, बारामा १२, सर्लाहीमा ४ हल बन्द भएका छन् ।
यस्तै, धनुषामा १३, सिरहामा ६, धनकुटामा १, सुनसरीमा १२, मोरङमा १६, कैलालीमा १४, सुर्खेतमा ३, बाँकेमा ३, दाङमा ९, कपिलबस्तुमा ७, गुल्मीमा २, नवलपरासीमा १०, बागलुङमा २, कास्कीमा ५, तनहुँमा ११, चितवनमा ७, मकवानपुरमा ३, झापामा ११, रुपन्देहीमा ६ हल बन्द छन् ।
४ हजारभन्दा बढी बेरोजगार
नेपालमा अधिकांश फिल्मकर्मी स्वदेशी फिल्मको व्यवसाय घट्नुमा हिन्दी फिल्मलाई दोष दिँदै आएका छन् । तर हलको सङ्ख्या घट्दासमेत फिल्म व्यवसायलाई धक्का पुगेको जानकारहरू बताउँछन् ।
हलको सङ्ख्या घट्नुले फिल्मको व्यवसायमा मात्र प्रभाव पारेको छैन, त्यसमा प्रत्यक्ष रुपमा आश्रित सरदर चार हजार पाँच सय जना बेरोजगार भएका छन् ।
देशभर ३०४ हल (पर्दा) बन्द भएको तथ्याङ्कलाई नै आधार मान्ने हो भने प्रति हल करिब १५ जना बेरोजगार भएको देखिन्छ ।
एक हल (पर्दा) सञ्चालनका लागि काउन्टर, टिकट चेकिङ, प्रोजेक्सन लगायत विभिन्न विधामा गरी १५ कर्मचारी लाग्ने चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन बताउँछन् । त्यो हिसावले पनि ३०४ हल बन्द हुँदा ४ हजार ५ सयभन्दा बढी व्यक्ति बेरोजगार भएको उनको भनाइ छ ।
राज्यको अव्यावहारिक करको असर हो : नरेन्द्र महर्जन
देशमा हलको सङ्ख्या घट्दो छ । केही हल सशस्त्र जनयुद्धको समय बन्द भएका हुन् भने केही कोरोना महामारीको चपेटामा परेर बन्द भए । केही हल व्यवसायको अभावमा बन्द भएका छन् त केहीलाई पछिल्लो समय आर्थिक मन्दीले पनि असर गरेको छ ।
बन्द हुनुको प्रत्यक्ष कारण जेसूकै देखिए पनि यसमा राज्यको नीति मुख्य कारक रहेको चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन बताउँछन् । ‘हल बन्द हुनुमा राज्यको अव्यावहारिक कर, राज्यले हल व्यवसायीलाई बेवास्ता गर्नु लगायतका कारण छन्’, महर्जनले भने, ‘एउटा कारण सिङ्गल थिएटरलाई मल्टिप्लेक्स बनाउने खर्च हो । जसको लागि ४ करोडसम्म लाग्छ । त्यो पैसा लगानी गरेर रिटर्न हुने अवस्था छैन ।’
हल सञ्चालन गर्ने मलको भाडा, बैंकको ब्याज, स्टाफलगायत खर्च धान्न फिल्मको व्यवसायबाट हुने आम्दानीले नपुग्ने कारण पनि कतिपय हल बन्द भएको उनले सुनाए ।
‘राज्यले उद्योगकै हैसियतमा बिजुली, बैंकको ब्याज लगायत विभिन्न सुविधा चलचित्र क्षेत्रलाई दियो भने अहिलेको समस्या समाधान भयो’, महर्जनले भने, ‘नत्र भने एक–एक गरेर हल बन्द हुन्छन् ।’
केही महिना अगाडि काठमाडौँस्थित गोपीकृष्ण हल बन्द हुनुको कारण पनि यही रहेको महर्जनको भनाइ छ । ‘अहिले भाटभटेनी जस्ता ठुलाठुला मल बनेका छन् । त्यहाँ हल बनेको छैन नि । त्यो यही कारण हो,’ महर्जनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई