बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कोहलीको आलोचना गर्दा समर्थकबाट ज्यान मार्ने धम्की आएको क्रिकेट कमेन्टेटरको गुनासो

शुक्रबार, १८ जेठ २०८१, १४ : ००
शुक्रबार, १८ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । यसपटक टी–२० विश्वकपमा २० वटा राष्ट्रले सहभागिता जनाउँदै छन् ।

विश्वकपमा सहभागी हुन सबै राष्ट्रका खेलाडी आयोजना स्थल पुगिसकेका छन् । यतिबेला सहभागी टोलीहरू विश्वकपको अन्तिम तयारीमा व्यस्त छन् । विश्वकपमा सहभागी खेलाडीहरूको प्रदर्शनको विषयलाई पनि विभिन्न टिप्पणी हुन थालेका छन् ।

यसै क्रममा न्युजिल्यान्डका पूर्वखेलाडी तथा क्रिकेट कमेन्टेटर साइमन डुलले भारतीय खेलाडी विराट कोहलीको आलोचनाको विषयलाई लिएर एउटा आश्चर्यजनक तथ्य सार्वजनिक गरेका छन् ।

कोहली टी–२० विश्वकपको इतिहासमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनी हालै सम्पन्न इन्डियन प्रिमियर लिगमा पनि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको रूपमा दरिएका थिए ।

तर, उनको स्ट्राइक रेटको विषयलाई लिएर भने धेरै क्रिकेट विश्लेषकले आलोचना गर्दै आएका छन् । बढी रन बनाए पनि उनको स्ट्राइक रेट कम देखिन्छ । सुनिल गावस्करजस्ता दिग्गज क्रिकेटरले पनि स्ट्राइक रेटको विषयलाई लिएर उनको आलोचना गरेका थिए ।

केही दिनअघि न्युजिल्यान्डका तीव्र गतिका पूर्वबलर एवं कमेन्टेटर साइमन डुलले पनि विराटको स्ट्राइक रेटलाई लिएर प्रश्न उठाएका थिए । अहिले आएर साइमनले विराटको आलोचना गर्दा आफूलाई ज्यान मार्ने धम्की आएको गुनासो गरेका छन् ।

विराटका समर्थकले सामाजिक सञ्जालमार्फत आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप साइमनले लगाएका छन् । ‘मैले विराटको विषयमा सयौँ राम्रो टिप्पणी गरेको छ । तर, उनको विषयमा एउटा आलोचनात्मक टिप्पणी गर्दा ज्यान मार्ने धम्की दिइन्छ,’ साइमनले भनेका छन् । 

साइमनले आफू अहिले पनि विराटको शुभचिन्तक भएको प्रतिक्रिया पनि दिएका छन् । ‘विराट प्रभावशाली खेलाडी हुन् । उनको भविष्य अझ पनि उज्ज्वल छ । खेलाडीको प्रदर्शनमा सुधार आओस् भनेर नै आलोचना गरिन्छ । यो यथार्थलाई समर्थकले पनि बुझ्नुपर्छ,’ साइमन भन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप