शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

मधेस प्रदेश सरकारको नेतृत्वका लागि सीके राउतले गरे ‘पोलिटिकल स्टन्ट’

उदाङ्गियो फर्जी सहमतिको वास्तविकता
शुक्रबार, १८ जेठ २०८१, १२ : ३३
शुक्रबार, १८ जेठ २०८१

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभामा विश्वासको मत लिने समय नजिकिँदै गर्दा ‘पोलिटिकल स्टन्ट’ सुरु गरिएको छ । मधेसको सत्ता पक्षले आफ्नो सरकार बचाउन कसरत गरिरहेको समयमा विपक्षी दलहरू भने सरकार निर्माणका लागि विभिन्न ‘स्टन्टबाजी’ गरिरहेका छन् ।

केन्द्रीय सत्ता समीकरणबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रमुख प्रतिपक्षी दलको अगुवाइमा बसेको बैठकमा सहभागिता जनाएसँगै मधेस प्रदेश सरकारको सवालमा दाउपेच बढ्दै गएको छ ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बिहीबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा विज्ञप्ति सार्वजनिक गरे । जसमा मधेस प्रदेशमा ५ दल मिलेर सरकार गठन गर्ने सहमति भएको उल्लेख थियो ।

विज्ञप्तिमा लेखिएको छ, ‘मधेस प्रदेशमा निर्माण भएको नयाँ राजनीतिक परिस्थितिमा प्रदेशमा रहेका भ्रष्टाचार लगायत सबै प्रकारको बेथिति अन्त्य गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि एमाले, माओवादी केन्द्र, जनमत, लोसपा र एकीकृत समाजवादी दलको सहभागितामा नयाँ संयुक्त मधेस प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा बनाउने निर्णय भएको छ ।’

विज्ञप्तिमा ५ दलको नाम लेखिए पनि हस्ताक्षर भने एमाले, माओवादी र जनमत पार्टीका नेताको मात्रै छ । तीन दलको मात्र हस्तक्षर भए पनि ५ दलको सहमतिमा नयाँ संयुक्त सरकार गठन गर्ने भनेर प्रचार गरियो ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीले बिहीबार कुनै पनि दलसँग छलफल नगरेको बताए । उनका अनुसार मधेस प्रदेश सरकार गठनबारे कुनै दलसँग बैठक वा छलफल पनि भएको छैन ।

उनले भने, ‘बिहीबार सार्वजनिक विज्ञप्तिमा भनिए बमोजिम हाम्रो पार्टीको तर्फबाट कोही पनि कुनै पनि बैठकमा सहभागी भएका थिएनन्, न कोहीसँग कुनै छलफल भएको थियो । त्यसकारण सरकार गठनको सवालमा जे भनिएको छ, त्यो सरासर गलत हो ।’

यता एकीकृत समाजवादीका पार्टीकी नेतृ तथा मधेस प्रदेश सरकारमै सहभागी बेची लुङ्गेलीले पनि आफ्नो दलले नयाँ सरकार गठनबारे कुनै पनि सम्झौता नगरेको बताइन् । उनले भनिन्, ‘बिहीबार कुनै पनि बैठकमा हामी सहभागी भएका छैनौँ, न त हाम्रो पार्टीमा नयाँ सरकारबारे अन्य दलसँग छलफल भएको कुरा आएको छ । हाम्रो दलको नाम विनासहमति त्यतिकै लेखिएको छ, जुन ठिक होइन ।’

केन्द्रको सरकारबाट उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल बाहिरिएसँगै मधेस प्रदेशको सरकारबाट एमाले र माओवादी केन्द्र पनि संयुक्त रूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएका थिए । त्यसपछि जसपा नेपाल र एमाले–माओवादी बिच मधेस सरकारका बारेमा प्रतिस्पर्धा बढेको छ । दुवै पक्ष आफ्नो नेतृत्वमा मधेस सरकार बनाउन कसरत गर्दै आएका छन् ।

केन्द्रमा प्रमुख विपक्षी रहेको नेपाली कांग्रेसको अगुवाइमा विपक्षी दलहरूबिचको बैठकमा माधवकुमार नेपालको ‘इन्ट्री’ भएपछि मधेस सरकारका बारेमा प्रतिस्पर्धा थप रोचक मोडमा पुगेको छ । माधवकुमार नेपालको दल नेकपा एकीकृत समाजवादी अहिले पनि जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारमा छ ।

त्यसपछि केन्द्रको सत्ता गठबन्धनले लोसपालाई भित्र्याएर मधेस प्रदेशमा सरकार गठनका लागि प्रयास थालेका छन् । यस क्रममा उनीहरूले जनमतलाई सरकारको नेतृत्व दिने र आफ्नो गठबन्धनमा लोसपा पनि सामेल हुने प्रचारवाजी गरेको हुन सक्ने लोसपाकै एक प्रदेशसभा सदस्यले बताए ।

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवले यसपटक ४ दललाई समेटेर आफ्नो नेतृत्वको सरकार जोगाउने रणनीति बनाएका छन् ।

स्रोतका अनुसार जसपा नेपालसहित कांग्रेस, लोसपा, एकीकृत समाजवादीलाई समेटेर मुख्यमन्त्री यादवले यसपटक विश्वासको मत लिने तयारी गरेका छन् । यी चार दलले मुख्यमन्त्री यादवलाई समर्थन गरे उनले सहजै विश्वासको मत पाउन सक्छन् । प्रदेश सभामा जसपाका १९, कांग्रेसका २२, लोसपाका ८ र एकीकृत समाजवादीका ७ जना सांसद छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप