बिहीबार, १५ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

माधव नेपालको छटपटी : कुण्ठा कि बाध्यता ?

शुक्रबार, १८ जेठ २०८१, १२ : १९
शुक्रबार, १८ जेठ २०८१

काठमाडौँ । सत्ता घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि सत्ता समीकरणमा तरङ्ग उत्पन्न भएको छ ।

गठबन्धन र पार्टीका शीर्ष नेताहरूलाई जानकारी नदिइ अध्यक्ष नेपाल बुधबार नेता मेटमणि चौधरीलाई लिएर कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा सहभागी भएका थिए ।

नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीसँग असन्तुष्ट रहेका उनको पछिल्लो भूमिकालाई लिएर राजनीतिक वृत्तमा विभिन्न आशङ्का जन्माएको छ । देउवासँग नेपालको सामिप्यता बढ्दै जाँदा गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिन खोजेको हो कि भन्ने आशङ्कालाई थप मद्दत गरेको हो ।

देउवाले केन्द्रमा वैकल्पिक गठबन्धन बनाउनेदेखि मधेस, गण्डकी, सुदूरपश्चिम सरकार तथा समसामयिक राजनीतिक घटनाक्रमका सम्बन्धमा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका थिए ।  

जसपाको नेतृत्वमा रहेको मधेस सरकारबाट एमाले, माओवादी बाहिरिएपछि मुख्यमन्त्री सरोजकुमार यादव पाँचौँपटक विश्वासको मत लिने तयारीमा छन् । गण्डकीमा सर्वोच्च अदालतको परमादेशबाट कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री भएका छन् । सुदूरपश्चिममा एकीकृत समाजवादीबाट दीर्घराज सोडारी मुख्यमन्त्री भए पनि सरकारमा एमाले र माओवादी केन्द्र सहभागी भएका छैनन् । अध्यक्ष नेपालले सत्ता गठबन्धनमा देखिएका यस्ता अप्ठ्यारा परिस्थितिका विषयमा देउवासँग खुलेर कुरा राखेको बुझिएको छ ।

यद्यपि प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादी सत्ता समीकरणभन्दा बाहिर नजाने विश्वास लिएका छन् । ‘माधवजी अलि पहिलेदेखि नै दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, बिहान मेरो कुरा हुँदाखेरी उहाँले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्ने कुरामा क्लियर गर्नुभएको छ’, बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग उनले भनेका थिए ।

विपक्षी गठबन्धनको बैठकमा माधवकुमार नेपाल मिसिएपछि पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अर्का शीर्ष नेता झलनाथ खनालले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफू गठबन्धनकै पक्षमा रहेको बताएका थिए । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले सत्ता समीकरणलाई केन्द्रदेखि सातै प्रदेशसम्म अझै बलियो बनाएर लैजाने विषयमा छलफल गरेका थिए । पार्टीका अध्यक्ष नेपालले देउवासँग गरेको छलफलबारे आफूलाई केही जानकारी नभएको खनालको भनाइ छ । पार्टीको नीति विपरीत गएर कसैले गतिविधि गरेमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुने उनले प्रस्ट पारे ।

‘दक्षिणपन्थी शक्तिको समीकरण हामीले हिजै टुङ्ग्याइसक्यौँ । फेरि पुनर्स्थापित गर्ने पक्षमा छैनौँ । पार्टीको निर्णय र लाइनभन्दा बाहिर गएर अभिव्यक्ति कसैले दिन्छ वा गतिविधि गर्छ भने त्यसको जिम्मा सम्बन्धित व्यक्तिले लिनुपर्छ’, रातोपाटीसँग उनले भने ।

वर्तमान सत्ता समीकरणलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा एकीकृत समाजवादीभित्र विवाद छ । नेपाल समूह सरकारबाट बाहिरिने पक्षमा छ भने खनाल समूह यही समीकरणको निरन्तरताको पक्षमा देखिएको छ ।

नयाँ समीकरण बनेदेखि नै एकीकृत समाजवादीका अध्यक्ष नेपालमा बेचैनी र छटपटी बढ्दै गएको देखिन्छ । उनको दोहोरो भूमिकालाई लिएर एमालेका नेताहरूले असन्तुष्टि पोखेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका एमाले नेता दामोदर भण्डारीले नेपालको दोहोरो भूमिकाले स्वयंलाई क्षति पुर्‍याउने बताए ।

बिहीबार कैलालीको धनगढीमा मन्त्री भण्डारीले भने, ‘सत्तामा बसिरहने, प्रतिपक्षसँग छलफल पनि गर्ने दोहोरो भूमिकाले स्वयं उहाँलाई नै क्षति पुर्‍याइरहेको छ । उहाँको विचार र अस्थिरताले यो खालका संकटहरू धेरै लामो रहँदैन ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालकै कारण सुदूरपश्चिम सरकारले पूर्णता नपाएको मन्त्री भण्डारीको आरोप थियो ।

माधवको कुण्ठा कि बाध्यता ?

अध्यक्ष नेपालको भूमिकाप्रति असहमति जनाउँदै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दुई वटा नाउमा खुट्टा राखेमा गन्तव्य सधैँ सङ्कटमा पर्ने बताए । तर उनकै कारण सत्ता सङ्कटमा नपर्ने गौतमको दाबी छ ।

‘दुई वटा नाउमा खुट्टा राखेमा गन्तव्य सँधै सङ्कटमा पर्छ । यस्ता गतिविधिले उहाँलाई नै घाटा पर्छ । जहाँसम्म उहाँ विपक्षी गठबन्धनमा जानुभएको सत्ता बार्गेनिङका लागि हो, छोड्नका लागि होइन’, नेपालको भूमिकाबारे प्रस्ट पार्दै उनले भने, ‘बार्गेनिङ गर्ने, सत्ता प्राप्ति गर्ने, गठबन्धन बनाउने, गठबन्धन भत्काउने नेपाली राजनीति केन्द्रित छ । उहाँको विषयमा प्रधानमन्त्रीज्यूले नै भनिसक्नुभयो । थप प्रस्ट पार्न जरुरत छैन ।’

तथापि नेपाललाई शीर्ष नेताहरूको बैठकमा नबोलाइएको विषयमा उनले आवश्यकता हेरी प्रधानमन्त्रीले बोलाउने विषय भएकाले गुनासो गर्नुको कुनै तुक नभएको बताए ।

‘सरकारमा सहभागी भएका सत्ता साझेदार दलहरूका नेताहरू कसलाई कतिखेर बोलाउने, कति कुराकानी गर्ने, क–कसलाई बोलाउने विषय प्रधानमन्त्रीले ध्यान दिने कुरा हो । सधैँभरि एउटै नेतालाई बोलाइराख्न जरुरत छैन । त्यो औचित्य र आवश्यकता अनुसार बोलाउने विषय हो’, गौतमले भने ।

गत फागुन २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी, रास्वपा र जसपाबिच ८ बुँदे सहमति हुँदा प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई सुइँकोसमेत दिएका थिएनन् । फागुन २९ गते एकीकृत समाजवादीलाई समेत समेटेर ७ बुँदे सहमति भएपछि अध्यक्ष नेपाल गठबन्धनमा सहभागी हुन सहमत भएका थिए । तर प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीले सहमति पालना नगरेको, महत्त्वपूर्ण एजेण्डाको छलफलमा आफूलाई बेवास्ता गरिएको, राजकीय पद बाँडफाँटमा पेलेर गएकोमा नेपालको चित्त दुखाइ छ ।

सरकारमै सहभागी भएको जसपा नेपाल विभाजन भएपछि झस्किएका उनी जुनसुकै बेला आफूमाथि घात हुनेतर्फ सतर्क देखिएका छन् ।

अध्यक्ष नेपालमा देखिएको पछिल्लो बेचैनीको विषयमा विश्लेषण गर्दै माओवादीका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले दुई वटा विषय औँल्याएका छन् । ‘पहिलो, मेरो व्यक्तिगत बुझाइमा माधवजीको सोचाइ थोरै बेठिक छ । उहाँले अहिले पनि एमालेकै हाराहारीमा आफूलाई ठान्नुभएको छ । एमालेको ठाउँ जहाँजहाँ खाली भएको छ, त्यो हामीले पाउनुपर्छ भन्ने छ । अहिले पनि हरेक ठाउँमा एमालेसरह पचास÷पचास प्रतिशत माग गरिरहनुभएको छ,’ उनले भने, ‘दोस्रो, अङ्कगणितको हिसाब हुन्छ । रवि दायाँबायाँ हुँदा माधवलाई भन्दा बढी फकाउनुपर्ने हुन्छ । अङ्कगणितमा नेपालको भन्दा रविको पार्टी ठुलो छ । त्यसकारणले उहाँले भनेको जस्तो नभएको पनि हुन सक्छ ।’

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष नेपालको पछिल्लो अभिव्यक्ति कुण्ठाभन्दा प्रधानमन्त्री र ओलीको हेपाहा प्रवृत्तिको बाध्यताको उपज भएको बताए । आफूलाई स्वार्थ पर्दा सहयोग लिने तर स्वार्थ सकिएपछि बेवास्ता गर्ने प्रवृत्तिका कारण बोल्न बाध्य भएको उनको गुनासो छ ।

‘प्रचण्ड र ओलीले हामीलाई सत्ता प्राप्तिका लागि भर्‍याङमात्र बनाइरहनु भएको छ । कुनै पनि महत्त्वपूर्ण एजेण्डामा छलफलका लागि बोलाउनु भएको छैन । निर्णय सुनाउने, साक्षी किनारा भएर बस्न सकिँदैन । सत्ता समीकरण भत्किए भत्कियोस्, मतलब छैन । अब सँगसँगै जान सकिँदैन’, पाण्डेले भने ।

सरकारको महत्त्वपूर्ण घटक भएर पनि प्रचण्ड र ओलीले उपनिर्वाचन, भागबण्डा, सहकारी ठगी, सरकारको नीति तथा कार्यक्रम, बजेट लगायत महत्त्वपूर्ण एजेण्डामा आफूलाई उपेक्षा गरेको गुनासो अध्यक्ष नेपालले गर्दै आएका छन् । कारण जेसुकै भए पनि सत्ता र प्रतिपक्ष दुवै ठाउँमा बसेर अध्यक्ष नेपालसँग सहकार्य हुन नसक्ने एमालेका नेताहरूले स्पष्ट पारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप