आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
विश्व सूर्तीजन्य पदार्थरहित दिवस

सुर्तीजन्य पदार्थ सेवनका कारण बर्सेनि ३९ हजार नेपालीको मृत्यु

सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि प्रभावकारी कदम चालिनुपर्ने
शुक्रबार, १८ जेठ २०८१, ११ : १६
शुक्रबार, १८ जेठ २०८१

काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनबाट बर्सेनि करिब ३९ हजार नेपालीको ज्यान जाने गरेको छ । 

स्वास्थ्य विभाग अन्तरगतको स्वास्थ्य प्रवर्द्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखाका अनुसार चुरोट, गुट्खा, खैनी, ई–सिगरेट (भेप) लगायतको सेवनबाट ती सङ्ख्यामा नेपालीको ज्यान जाने गरेको पाइएको हो । यो सङ्ख्या विभिन्न रोगका कारण एक वर्षमा मृत्यु हुने नेपालीको कुल सङ्ख्याको करिब १८ प्रतिशत भएको शाखाको भनाइ छ । 

शाखाका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले सुर्तीजन्य पदार्थ सेवन गर्दा २८ प्रतिशतमा मुटुमा समस्या देखिएर मृत्यु हुने हुने गरेको जानकारी दिए ।  यो भनेको बर्सेनि सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुने ३९ हजार मानिसमध्ये लगभग ७ हजार ५९८ जना हो । 

उनका अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट मुख तथा फोक्सोको क्यान्सर, मुटु रोग, दम, नसाको रोग, श्वास नलीको सङ्क्रमण र क्षयरोगजस्ता घातक रोग लाग्छन् । यी रोग बढ्दै गएपछि मानिसको मृत्युसमेत हुने गरेको छ । 

पछिल्लो समयमा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरूले सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट युवाहरूलाई लक्षित गरी नयाँ खालका सुर्तीजन्य पदार्थको उत्पादनहरू (जस्तै: ई–सिगरेट, सिसा) प्रति आकर्षण गराउने समेत पाइएकाले नयाँ प्रयोगकर्ताहरू बढ्ने सक्ने जोखिम रहेको सरोकारवालाहरूको चिन्ता छ । 

नेपालमा हालै गरिएको एक सर्वेक्षण अनुसार २४ वर्षमुनिका ६ प्रतिशतले ई–सिगरेट (भेप) को नियमित सेवन गर्ने गरेको पाइएको छ । ह्याम्स अस्पतालमा कार्यरत पल्मोनरी एन्ड क्रिटिकल केयर विज्ञ डा. रक्षा पाण्डेका अनुसार सो सर्वेक्षणमा नेपालमा १८ देखि २४ वर्षको उमेरका ४ सय जनाले सहभागिता जनाएका थिए । 

यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष सहभागी थिए । सो अध्ययनमा २१ प्रतिशतले एक पटक वा सो भन्दा बढी भेप सेवन गरेको पाइएको उल्लेख छ । पहिलो पटक भेप सेवन गर्नेहरूमध्ये २८ प्रतिशतले निरन्तर सेवन गरेको पाइएको सर्वेक्षणमा उल्लेख रहेको पाण्डेले बताइन् । यस्तै ८० प्रतिशतले साथीको लहैलहैमा लागेर भेप सेवन सुरु गरेको पाइएको छ । डा. पाण्डेका अनुसार ई–सिगरेट २५ प्रतिशतले अनलाइनबाट खरिद गर्ने र ७५ प्रतिशतले भौतिक रूपमा किन्ने गरेको पाइएको छ ।

सुर्तीजन्य पदार्थसँग सम्बन्धित विभिन्न समस्याहरूको सम्बोधनका लागि जनचेतना, विद्यालय स्वास्थ्य शिक्षा, सरोकारवालाहरूसँग अन्तरक्रिया जस्ता कार्यक्रमहरू व्यापक रूपमा अगाडि बढाउनु पर्ने अध्ययनको निष्कर्ष छ । 

सुर्तीजन्य पदार्थको असर 

सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यका साथै सामाजिक, आर्थिक लगायत विभिन्न क्षेत्रमा असर पुर्‍याउँछ । यस्तै, धूम्रपान गर्दा निस्कने धुवाँले धूम्रपान गर्ने व्यक्तिलाई मात्र नभई नजिकै रहेका अन्य मानिसहरूलाई समेत नकारात्मक असर गर्छ । जसका कारण विश्वमा बर्सेनि १२ लाख मानिसहरूले ज्यान गुमाउने गरेको केसीले सुनाए । 

चिकित्सकका अनुसार सुर्तीजन्य पदार्थको सेवनले मुख तथा फोक्सोको क्यान्सर, मुटु रोग, दम, नसाको रोग, श्वास नलीको सङ्क्रमण र क्षयरोगजस्ता घातक रोग लाग्छन् । यस्तै, ई–सिगरेटमा ९९ प्रतिशत निकोटिन प्रयोग गरिएको हुन्छ । यसका साथै लागु औषध गाँजामा विभिन्न स्वादका लागि केमिकल प्रयोग गरिएको हुन्छ । यसले मस्तिष्क, फोक्सो, पाचन प्रणाली लगायत शरीरका विभिन्न अङ्गमा हानी पुर्‍याउँछ ।  ई–सिगरेट लगायत धूम्रपानबाट निस्कने कयौँ केमिकलको मिश्रणले पनि स्वास्थ्यमा हानी पुग्ने ह्याम्स अस्पतालमा कार्यरत छाती रोग तथा सघन उपचार विशेषज्ञ डा. राजु पङ्गेनीले बताए । 

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनमाका लागि कानुनी प्रावधान 

सरकारले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्न विभिन्न कानुनी प्रावधान ल्याएको छ । जसअनुसार सरकारले सुर्तीजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन) ऐन, २०६८, सुर्तीजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन) नियमावली, २०६८, सुर्तीजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन) निर्देशिका, २०७१ र सुर्तीजन्य बस्तुको बक्स, पाकेट, खोल, कार्टुन, पार्सल र प्याकेजिङमा चेतावनीका सन्देश र फोटो प्रिन्ट गर्ने र टाँस गर्ने सम्बन्धी निर्देशिका, २०६८ (संशोधन सहित) जारी गरेको छ । तर यी कानुनी प्रावधानको कार्यान्वयनको पाटो फितलो रहेका छन् । 

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि सुझाव 

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि कानुनी प्रावधान प्रभावकारी हुन सकेका छैनन् । यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा जोड दिनुपर्ने चिकित्सकले सुझाएका छन् । 

सार्वजनिक स्थलमा धूम्रपान निषेधको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, शैक्षिक संस्था, स्वास्थ्य संस्था र बालगृहको १०० मिटर वरपर सुर्तीजन्य पदार्थको विक्री वितरण निषेधको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने डा. केसीले सुझाएका छन् । यस्तै, लाइसेन्सिङ अनिवार्य लागु  गर्नुपर्ने,  विक्रीस्थलमा सुर्तीजन्य पदार्थको मूल्यसूची टाँस रोकी विज्ञापनमा पनि रोक लगाउनुपर्ने उनको सुझाव छ ।  यस्तै, होटेल तथा रेष्टुरेन्टहरुमा हुक्का प्रयोग निषेध,  कर वृद्धि, हुक्का र ई–सिगरेटको प्रयोगमा नियमन तथा रोकथाम गर्नुपर्ने पनि सुझाव दिइएको छ । 

‘सुर्ती उद्योगको प्रभावबाट, बालबालिकालाई बचाऔँ’ भन्ने नाराका साथ शुक्रबार विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइँदै गर्दा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि प्रभावकारी कदम चाल्न सरोकारवालाले जोड दिएका छन् । 

सुर्तीजन्य पदार्थको सेवनले विश्वभर प्रतिवर्ष लाखौँको मृत्यु हुन्छ । सन् २०२२ को एक तथ्याङ्क अनुसार विश्वभर लगभग ३ करोड ७० लाखले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको छ । जसमध्ये करिब ८० लाख मानिसहरूको मृत्यु हुने गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप