शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

संरक्षण अभावमा गौश्वारका प्राचीन सम्पदा जीर्ण बन्दै

शुक्रबार, १८ जेठ २०८१, ११ : ०६
शुक्रबार, १८ जेठ २०८१

गलेश्वर ।  बेनीबजारबाट १० किलोमिटर दक्षिणमा अवस्थित बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारामा मल्लकालीन वास्तुकलाका एक सय वर्ष पुराना ढुङ्गेघर दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् ।
 
 विसं १९७८–७९ मा सिर्मु र सालका काठमा कुँदिएका कलात्मक बुट्टा, चिल्ला र बाक्ला ढुङ्गाले छाएको धुरी र पालीमुनि टुँडाल राखेर निर्माण गरिएका आकर्षक ढुङ्गेघर संरक्षण अभावमा जीर्ण भएका हुन् ।

मल्ल र राणाकालीन इतिहास दर्शाउने तीनतले ढुङ्गेघर प्राचीन दरबारजस्ता लाग्छन् । मल्ल र राणाकालीन इतिहासको साक्षी बनेका यी घर मल्ल र ठकुरीहरू बसाइँसराइका कारण अलपत्र परेका हुन् ।

विसं २०४५ सम्म मल्ल वंशीय ठकुरीहरूको बसोबास रहेको यो गाउँका मानिस २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएसँगै बसाइँ सरेपछि घर अलपत्र परेका  बेनी नगरपालिका–२ का वडासदस्य चन्द्रकान्त रिजालले बताए ।

प्राचीन ती घरको मर्मसम्भार गरेर घरवरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने तथा बागलुङको पञ्चकोट, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथ भ्रमणमा जाने पर्यटकलाई पनि आकर्षण गर्न सकने प्रशस्त सम्भावना भएको वडा सदस्य रिजालले बताए ।

गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्वबम मल्लको स्वामित्वमा रहेका सय वर्षभन्दा बढी पुराना घर गौश्वारा गाउँका सम्पदा भएकाले तिनको सुरक्षा र मर्मतसम्भारमा घरधनी र समुदाय दुवैले चासो दिनुपर्ने स्थानीय बुद्धिजीवी रत्नबम मल्लले बताए ।

हाल गौश्वारा गाउँका मल्लकालीन वास्तुकलाका पाँच घरमध्ये दुईमा मात्र बसोबास छ भने तीन घर जीर्ण छन् ।  भावी पुस्तालाई आफ्ना पूर्वजहरूको निवासको परिचय गराउने यी घर संरक्षण गर्नुपर्ने स्थानीय अर्जुन माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक टीकाबहादुर कार्कीले बताए ।

त्यसैगरी मालिका गाउँपालिका वडा नं ६ तल्लो दुखुको रातोढुङ्गामा शेरचन र भट्टचनले निर्माण गरेका एक सय वर्षभन्दा पुराना सातवटा ढुङ्गेघर पनि संरक्षणको अभावमा जीर्ण भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप