बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप : अभ्यास खेलमा प्रशिक्षकसहित मैदानमा ओर्लिएको अस्ट्रेलियालाई वेस्ट इन्डिजले हरायो

शुक्रबार, १८ जेठ २०८१, १० : २०
शुक्रबार, १८ जेठ २०८१

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको शुक्रबार सम्पन्न अभ्यास खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३५ रनले हराएको छ । टी–२० विश्वकप सुरु हुनुअघि वेस्ट इन्डिज र अस्ट्रेलिया दुबैले खेलेको यो अन्तिम अभ्यास खेल हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ५७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले भने निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय २२ रनमात्र बनाउन सक्यो ।

खेलाडी अभावका कारण दोस्रो अभ्यास खेलमा पनि अस्ट्रेलियन टोली केवल नौ खेलाडीसहित मैदानमा ओर्लिएको थियो । फिल्डिङका क्रममा भने अस्ट्रेलियाले प्रशिक्षकसहित प्रशिक्षण टोलीका अन्य सदस्यलाई पनि प्रयोग गरेको थियो ।

हालै भारतमा सम्पन्न इन्डियन प्रिमियर लिग सकिएपछि अस्ट्रेलियाले आफ्ना केही खेलाडीलाई आराम दिएको छ । आईपीएलको प्ले–अफ चरणका खेल खेल्ने केही प्रभावशाली खेलाडी विश्वकप सुरु हुनुअघि मात्र वेस्ट इन्डिज पुग्नेछन् ।

त्यसलै पहिलो अभ्यास खेलमा पनि अस्ट्रेलिया नौ खेलाडीसहित ब्याटिङमा ओर्लिएको थियो । त्यो खेलमा पनि प्रशिक्षण टोलीका सदस्यले फिल्डिङमा साथ दिएका थिए । यद्दपि, आफ्नो पहिलो अभ्यास खेलमा अस्ट्रेलियाले नामिबियालाई सात विकेटले हराएको थियो ।

दोस्रो अभ्यास खेलमा वेस्ट इन्डिजको जितमा विकेटकिपर ब्याट्सम्यान निकोलस पुरन र कप्तान रोभमन पोवेलले अर्धशतकीय पाली खेले । पुरनले ७५ रन बनाए । उनले आक्रामक ब्याटिङ गर्दै केवल २५ बलमा आठ छक्का र पाँच चौका पनि प्रहार गरे ।

कप्तान पोवेलले पनि ५२ रन बनाए । उनले पनि २५ बलको सामना गरी चार छक्का र चार चौका हिर्काएका थिए । ओपनर ब्याट्सम्यान जोन्सन चाल्र्सले पनि टोलीको खातामा ४० रन थपे । उनले ३१ बलमा ६ चौका प्रहार गरे ।

सेरफन रुथरफोर्डले पनि टोलीको जितमा अविजित ४७ रनको योगदान गरे । उनले केवल १८ बलको सामना गरी चार छक्का र चार चौका हिर्काए । सिमरोन हेट्मायर १८ रनमा अविजित रहे । अस्ट्रेलियन बलर एडम जाम्पाले दुई तथा एस्टन अगर र टिम डेभिडले एक–एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाका लागि जस इनग्लिसले ५५ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ३० बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काएका थिए । नाथन एलिसले ३९, ओपनर एस्टन अगरले २८, टिम डेभिडले २५ र म्याथ्यू वेडले पनि २५ रन बनाएका थिए ।

एडम जाम्पा भने २१ रनमा अविजित रहे । क्यारेबियन टोलीका बलर अल्जारी जोसेफ र गुडाकेश मोटीले दुई–दुई विकेट लिए । उक्त खेलमा वेस्ट इन्डिजका निकोलस पुरन प्लेयर अफ दी म्याच घोषित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप