रवि लामिछाने शत प्रतिशत दोषी छन् तर छानबिन समितिले जोगाउँछ : चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सात दशकभन्दा लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय छन् । उनी केही वर्ष यता अन्य दलले नेतृत्व गरेको सरकारभन्दा कम्युनिस्ट पार्टीको नेताले नेतृत्व गरेको सरकारको बढी आलोचक देखिन्छन् ।
सहकारी ठगी प्रकरणमा रवि लामिछानेको नामै किटेर छानबिन समिति बनाउने कांग्रेसको मागलाई साथ दिएका केसी त्यस अनुरुप छानबिन समिति नबनेकोमा कांग्रेसले धोका दिएको बताउँछन् ।
केही दिन अघि सार्वजनिक बजेट, छानबिन समिति, सत्ता समीकरणको भविष्य, मध्यावधि निर्वाचनको हल्ला लगायत विषयमा केसीसँग रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् । प्रस्तुत छ, केसीसँग गरिएको कुराकानीको सम्पादित अंश–
सरकारले हालै सार्वजनिक गरेको बजेट तपाईंलाई कस्तो लाग्यो ?
प्रशंसा गर्न योग्य बजेट आएन । अरु दलले जस्तो ल्याउँथे, अहिलेको पनि त्यस्तै आयो । कम्युनिस्ट पार्टीका नेता प्रधानमन्त्री अनि उहाँले बोकेको विचार अनुसार त एक थोप्लो पनि आएन ।
बजेटको सबैतिर प्रशंसा छ त ?
आफू निकटकाले त प्रशंसा गरिहाल्छन् नि ।
प्रचण्डले आफूलाई गणतन्त्रको सूत्रधार मान्नुहुन्छ, उहाँलाई नै तपाईं गणतन्त्र विरोधी भन्नुहुन्छ । यति पूर्वाग्रही किन ?
कसैले कसैलाई ‘मान नामान, में तेरा मेहमान’ त हुन्न नि । सशस्त्र युद्ध नभएको भए गणतन्त्र आउँदैन थियो पनि भन्नुहुन्छ उहाँहरू त ।
अनि आउँथ्यो त ?
किन नआउने ? उहाँहरू त लोकतन्त्र, गणन्त्रवादीहरूलाई पनि हटाएर गणतन्त्र विरोधीसँग मिलेर सरकार बनाउन आएको हो नि त पहिला । उहाँहरू शान्तिपूर्ण राजनीतिमा आएपछि मात्र गणतन्त्र आएको हो । राजतन्त्र हुँदै वार्तामा आउनुभएको हो नि त उहाँहरू त ।
कम्युनिस्ट नेतृत्वको सरकारलाई तपाईं विरोध गरिरहनुहुन्छ तर कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्नुहुन्छ । अनि तपाईंले यस्तो भन्न सुहाउँछ ?
२०७४ सालमा हामी सबै एकै ठाउँ भएर ६४ प्रतिशतभन्दा बढी भोट ल्याएर बनाएको सरकारको हालत पनि हेर्नु भयो होला नि त । दुईदुई पटक संसद कसको आदेशमा विघटन गरेको ? कोरोनाको समयमा अक्सिजन नपाएर जनाता मरिरहेको बेला जलहरी चढाउन कम्युनिस्ट प्रधानमन्त्री नै पशुपतितिर लागेका होइनन् ? जनताले यो कुरा बिर्सेका छन् र ? झुट बोल्ने ? अनि हामीलाई केको दोष ?
यसको मतलब ओली, प्रचण्डहरूभन्दा देउवा ठिक ?
यिनीहरू सबैले विशुद्ध सत्ता र शक्तिका राजनीति गरेका हुन् । यिनीहरूका क्रियाकलापका कारण लोकतन्त्र, गणतन्त्र नै खतरामा छ ।
सत्ता र शक्तिका लागि अरु दल लागेका छन् भनेर भनिरहँदा ९० वर्षमा पनि पार्टी महासचिव तपाईंकै पार्टीमा, ८२ वर्षमा तपाईं सांसद, यसलाई के भन्ने नि ?
नयाँले पनि तातोपानी लगाएको नेपाली जनताले देखिरहेकै छन् त । कुरा लामो या छोटो भन्ने होइन । सवाल जनताका लागि राजनीति ग¥यो कि गरेन भन्ने हो ।
एमालेले एउटा छानबिन समिति माग राखेर संसदको हिउँदे अधिवेशन चल्न दिएन । अहिलेको अधिवेशन कांग्रेसले चल्न दिएन, तपाईंहरू रमिते बनिरहनुभएको छ । अब यो संसदको के काम ?
माग ठिक हो कि होइन, त्यो हेर्ने हो । एउटा व्यक्तिले सहकारीको करोडौँ रुपैयाँ ठगी गरिरहेको छ, त्यसमा छानबिन गर्नुप¥यो भन्नु नाजायाज हो ? पसिना बगाएर बचत गरेको पैसा जसले उडाए पनि त्यसको खोजी कंग्रेसले पनि गर्नुहुँदैन, तपाईंले पनि गर्नुहुन्न भनेर तपाईंले भन्नु न त ? त्यो उडाएको हो कि होइन ?
होइन भनिरहनु भएको छ त ? जसलाई आरोप लगाउनुभएको छ, उनले प्रमाणित भएमा राजनीति छाड्छु भनिरहेका छन् त ?
सहकारीमा बचत गर्ने जनताले त्यसै भनेका होलान् त ?
रवि लामिछानेले नै खाए भन्ने त होइन होला नि त ?
कसले खायो त ? कसले मासेको त ? नत्र रोहित दाहाललाई पनि भनिन्थ्यो होला नि ! गल्ती गर्ने, कमजोरी गर्ने, त्यसबाट जोगिन सत्तामा जाने अनि त्यही गल्ती, कमजोरी गर्नेको समर्थनमा आफ्नो सत्ता टिकाउने, योभन्दा गन्दा खेल के हुन्छ राजनीतिमा ?
प्रधानमन्त्री, प्रहरी प्रमुख, सत्ता गठबन्धनको सबैभन्दा ठुलो दलका अध्यक्ष, महान्यायाधिवक्ताले नै रवि निर्दोष भनिसकेको अवस्थामा तपाईं के आधारमा उनी दोषी छन् भन्दै हुनुहुन्छ ?
व्यक्तिगत रुपमा उहाँहरू त्यति तल झर्नुहोला भनेर त मैले पनि सोचेको थिइनँ । उहाँहरूले भनेपछि सबै ठिक हुन्छ ? उहाँहरू को हो ? पीडित जनताले उहाँहरूका ती वाणी सुनेका छैनन् ? तपाईंलाई त्यो सत्यजस्तो लाग्छ ?
रवि लामिछानेले सहकारीमा बदमासी गरेका छन् भनेर तपाईंको अन्तरआत्माले भन्छ कि आग्रह–पूर्वाग्रहले यो भन्दै हुनुहुन्छ ? छानबिनमा त कतै देखिँदैन नि ?
मैले आग्रह–पूर्वाग्रह पाल्नुपर्ने किन ? सहकारी पीडितका रोदन सुन्नुभएको छैन ? कसैले बाटोमा लौरो तेर्स्याएर फसाएको हो ?
उनले केही न केही गडबडी गरेकै छन् भन्ने तपाईंलाई लाग्छ ?
केही न केही होइन, शत प्रतिशत गल्ती गरेका छन् । त्यही गरेकै कारण उनी सत्तामा गएका हुन् । त्यसमा पनि गृह मन्त्रालय मै गएका हुन् ।
यस्तो हो भनेपछि आफू पनि अप्ठ्यारोमा परिन्छ भन्ने प्रधानमन्त्रीलाई हुँदैन त ?
रविले गल्ती गरेको कुरा प्रधानमन्त्रीको मनमा पनि छ । तर सत्ता जोगाउन सङ्ख्याको गलपासोले चुप लागेका हुन् ।
छानबिन समिति कुनै हालतमा बनाउनु हुँदैन भनेर अडान लिने दलकै सांसदको नेतृत्वमा छानबिन समिति बन्यो । अब यसले कसरी काम गर्ला त ?
म यसको विरोधमा छु । जस्तो बन्नुपर्थ्यो, त्यस्तो बनेन । सहकारी प्रकरणमा कांग्रेसका मान्छे पनि मुछिने भएपछि कांग्रेस पछि हट्यो । सहकारी ठगी गर्नेलाई यो समितिले जोगाउँछ ।
केही गर्छु भनेर आएको नयाँ दललाई घेराबन्दीमा पारेर आफूजस्तै बनाउने हुनुभयो हैन तपाईंहरूले ?
छोटै समयमा जनताले देखिसके । ‘तिमी आउँदा मोहीको पानी पाइनँ, केका हात दही’ भनेजस्तै हो । यति छिटै उदाङ्गो भइसके त ।
यो सत्ता समीकरण कति जाला ?
भन्नै सकिँदैन । मन्त्री नपाए, चुनावको खर्च उठाउन नपाए पार्टीमा नबस्ने भएपछि कसरी भन्न सकिन्छ ?
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा जान थालेपछि सरकारको भविष्यमाथि त प्रश्न उठ्यो नि ?
उहाँको मन स्थिर छैन । कहाँ गएर होला मन शीतल भन्ने उहाँलाई पनि लागिरहेको छ । समस्या छ तर त्यसो गर्नुहुँदैन ।
८४ वर्ष पुग्नुभयो, अब कति पटक निर्वाचन लड्ने ?
अब सांसदमा निर्वाचन लड्दिनँ । कसैले कर गरेर म लागेको होइन । सकुन्जेल पार्टी राजनीतिमा सक्रिय हुन्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचारी शासन अन्त्य र देशभक्त पहिचानसहित पूर्ण समानुपातिक प्रणाली स्थापना
-
लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन (तस्बिरहरू)
-
औपचारिक रूपमै समातिए दक्षिण कोरियाली राष्ट्रपति येओल
-
गाजामा युद्धविराम तत्कालै सुरु नगर्न इजरायली सेनालाई नेतन्याहुको आदेश
-
सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी : मुख्यमन्त्री आचार्य
-
अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हदसम्बन्धी विवाद छानबिन गर्न ३ सदस्य छानबिन समिति गठन