शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

गणतन्त्रपछि मुलुकमा विकासले लय लिएको छ : सभामुख घिमिरे

बिहीबार, १७ जेठ २०८१, २१ : ३२
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि विकासले लय लिएको बताएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्वीर प्रदर्शनीको अवलोकनपश्चात् उनले गणतन्त्रपछि मुलुकमा भौतिक विकास र मानवीय विकास भइरहेको बताए ।

“प्रदर्शनीमा राखिएका सबै तस्वीर हेरेँ, तस्वीर हेर्दा प्रभावित भएँ”, सभामुख घिमिरेले भने, “तस्वीरमा खासगरी पुराना योजना के थिए र ती योजनाको वर्तमान रुप कस्तो छ ? भनेर प्रष्टरुपमा देखाइको छ, गणतन्त्र आइसकेपछि भएका भौतिक क्षेत्रमा विकास र उपलब्धि देखेर खुसी लाग्यो ।” उनले समग्र राष्ट्रिय क्षेत्रलाई समेटेर तस्वीरमार्फत प्रस्तुत गरिएको प्रदर्शनीले यो सबै विकास नेपालमै होर भन्ने भान भएको सुनाए ।

उनले भने, “भूकम्पपछि मुलुकले ठूलो क्षति भोग्नुपर्यो, समिति स्रोतसाधनका बीचमा पनि कस्तो बनायौं भन्ने कुरा महत्वपूर्ण छ, बारपाक, दरबार हाइस्कुल, रानीपोखरीलाई हेर्दा त्यत्रो क्षति बेहोरेर पनि हामीले यतिका बनायौँ भन्ने गर्व लाग्छ ।”

सभामुख घिमिरेले प्रतिकूलताका बीचमा पनि मुलुकले महत्वपूर्ण उपलब्धि गरेको र अझै सुधार गर्नुपर्ने पाटालाई पनि तस्वीरले देखाउनुपर्ने धारणा राखे । “गणतन्त्रपछि भएका उपलब्धिलाई तस्वीरले देखाएको छ तर अझै गर्नुपर्ने काम के के छ ? त्यो पनि तस्वीर प्रदर्शनीमा राख्न पाए राम्रो हुने थियो”, उनले भने, “सङ्घीयता आएपछि स्थानीय तहका गाउँपालिकाले गरेका काम राख्नुभएको छ, प्रदेशले गरेका विकास राख्नुभएको छ, विदेशबाट गाउँ फर्केर युवाले गरेका उद्यमलाई राख्नुभएको छ, ती सबै प्रेरणादायी काम हो, यो हेरेर निकै प्रभावित भए ।”

सभामुख घिमिरेले राष्ट्रिय समाचार समिति स्रोत र साधनका बीचमा पनि निकै राम्रो काम गरेको  बताए ।  प्रदर्शनीमा राखिएका तस्वीरबारेमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, सञ्चालक समिति सदस्य कृष्ण अधिकारी, नायब महाप्रबन्धकत्रय राजु शाक्य, श्याम रिमाल र सोमनाथ लामिछाने, प्रधानसम्पादक उत्तम सिलवाल, प्रमुख समाचारदाता एकराज पाठक र प्रशासन प्रमुख शीतलप्रसाद महतोलगायतले जानकारी गराएका थिए ।

 यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्वीर समावेश छन् ।

विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्वीर प्रदर्शनीमा राखिएका छन् ।

सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्वीर प्रदर्शनीमा समेटिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्वीर प्रदर्शनी गरेको थियो ।

प्रदर्शनीमा ऊर्जा, विमानस्थल, पर्यटन, बाटोघाटो, सडक, पुल, स्वास्थ्य शिक्षाका संरचना, सम्पदा पुनःनिर्माण, तराईका हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ–मधेस द्रुतमार्ग, थानकोट–नागढुङ्गा सुरुङमार्ग, सुनकोशी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, टेलिफोनका फोरजी टावर, एकीकृत बस्ती, राष्ट्रिय गौरव, प्रदेश गौरवका आयोजनालगायत तस्वीर समावेश छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप