शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुन तस्करी प्रकरण

‘१४ किलो’ मा छुटेका जीवनलाई ‘६० किलो’ मा खोज्दै सीआईबी

धरौटीमा रिहा भएपछि भारत भागेको आशङ्का
बिहीबार, १७ जेठ २०८१, १६ : ५९
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । ६० किलो सुन तस्करी र भेपबाट सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको सिफारिस अनुसार पूर्वसभामुख कृष्णबहादुर महरासहित ७ जनामाथि अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

तस्करीमा संलग्न मध्येका जीवनकुमार गुरुङ फरार छन् । गुरुङसहित ७ जनालाई आयोगले मुद्दा चलाउन भनेको थियो । अहिले गुरुङ पक्राउ नपर्दा दोस्रो चरणको अनुसन्धानले गति लिन नसकेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।

१४ किलो सुन तस्करीमा संलग्न आरोपमा पक्राउ परेका गुरुङ २०८० चैतमा धरौटीमा रिहा भएका थिए । काठमाडौँ जिल्ला अदालतले तोकेको १५ लाख धरौटीमा रिहा हुँदा सुन तस्करी जाँचबुझ आयोगले उनलाई ६० किलो र भेप प्रकरणमा मुद्दा चलाउन भनिसकेको थियो । तर, उनी भाग्न सफल भए ।

गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो । गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् । 

गुरुङको खोजी भइरहेको सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । उनले भने–‘सुन तस्करीमा जीवन गुरुङको संलग्नताबारे विस्तृत अनुसन्धान भइरहेको छ ।’

गुरुङ भारततर्फ भागेको आशङ्का गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख महरा र गुरुङसहित ७ जना विरुद्ध थप अनुसन्धान गरेर पूरक अभियोग लैजान सिफारिस गरेको थियो । 

आयोगले वाल्डो क्यासिनोको अकाउन्ट हेर्ने हङकङका नागरिक टेरेन्स, मन्जील श्रेष्ठ र अविनाश रावतलाई मुद्दा चलाउन भनेको छ । अविनाश विमानस्थल भन्सार कार्यालयका अधिकृत विष्णु पौडेलका चालक हुन् । उनले भेपमार्फत ल्याएको सुन बेच्न भूमिका खेलेको आरोप छ ।

  • गुरुङको गाडी चढ्थे सुन तस्कर वाङ

तस्करीको ६० किलो सुन र भेप प्रकरणमा संलग्न देखिएका जीवन कुमार गुरुङले चिनियाँ सुन तस्करलाई गाडी दिएका थिए । पूर्व सभामुख कृष्णबहादुर महराको सिफारिसमा भेप र ६० किलो सुन तस्करीमा संलग्न चिनियाँ सुन तस्कर दाओजिन वाङलाई गुरुङले गाडी दिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

वाङले चढ्ने गाडी यसअघि नै प्रहरीले बरामद गरेको थियो । रेनल्ट कम्पनीको डस्टर गाडी जीवनकुमार गुरुङको नाममा रहेको भेटिएको छ । गाडीबारे बुझ्न यसअघि सीआईबीले गुरुङलाई पटक–पटक सीआईबीमा बोलाएर छाडेको भेटिएको छ । एआईजी किरण बज्राचार्य सीआईबीमा हुँदा गुरुङ पटक–पटक सीआईबीमा पुगे पनि अनुसन्धानको घेरामा परेनन् ।

चिनियाँ सुन तस्कर वाङ विगत १५ वर्षदेखि नेपालमा थिए । वाङले प्रयोग गर्ने गाडी बरामद गरेर प्रहरीले गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप