आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा जेठ १९ र २० गते ‘श्रमाधान रोजगार मेला’ हुँदै

बिहीबार, १७ जेठ २०८१, १६ : ४२
बिहीबार, १७ जेठ २०८१

जनकपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मधेश प्रदेशमा जेठ १९ र २० गते ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । जनकपुरको उद्योग वाणिज्य संघमा आयोजना हुने मेलाको श्रममन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नेछन् ।

मेलाको बारेमा जानकारी दिन बिहीबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम मन्त्रालयका उपसचिव एवम् मेलाका मधेस प्रदेश संयोजक दीपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्ने बताए । मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

 ‘मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउनेछ । यसले राष्ट्रलाई थप समृद्धि र सफलतातर्फ लैजान सक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज गर्छ,’ उनले भने । मधेस प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा मागहरू सङ्कलन गरिने उनको भनाइ छ । सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि समेत आग्रह गरे ।

श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले मधेस प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थपिएको बताए । मेलामा सहभागिताका लागि ३५ स्टल राखिनेछ । हालसम्म ३० भन्दा धेरै स्टल बुकिङ भइसकेको बताए ।

नेपाल उद्योग परिसंघका मधेस प्रदेश संयोजक प्रमोद शाहले मेलाको उद्देश्य देशमै रोजगारी उपलब्ध गराउने रहेको बताए । ‘हाम्रा युवाहरू अन्तर्राष्ट्रिय विमानस्थलमा लाइन लागेर बस्नुपरेको अवस्था छ । त्यो भिडभाडलाई कम गर्न मेला सहयोगी बन्नेछ । हामी अब नेपालमै रोजगारीको अवसर खोज्न सक्छौँ । हामी उद्योगीहरूले पनि राम्रो तलब दिन सक्छौें,’ उनले भने ।

जनकपुरमा सञ्चालन हुने मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेश, जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रूपमा गर्दैछन् ।  सहआयोजकको रूपमा नेपाल उद्योग परिसंघ रहेको छ । आज जेठ १७ गते कोशी प्रदेशको विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेसँगै सुरु भइसकेको छ । मेला सातै प्रदेशमा हुनेछ । ३० गते बाग्मती प्रदेशको ललितपुरमा आयोजना हुँदै सकिनेछ । मेला हरेक प्रदेशमा २ दिन चल्नेछ ।

गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ । लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप