बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी : मोनांक पटेल (कप्तान अमेरिका)

बिहीबार, १७ जेठ २०८१, १५ : ५१
बिहीबार, १७ जेठ २०८१

आईसीसी टी–२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले छिमेकी राष्ट्र क्यानडाको सामना गर्दैछ । टी–२० विश्वकपमा अमेरिका र क्यानडा दुवैको यो पहिलो सहभागिता हो । अमेरिका आयोजक राष्ट्रको रूपमा यो विश्वकपमा सहभागी भएको हो ।

क्यानडा भने अमेरिकी क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा सहभागी भएको हो । पहिलो सहभागितामा अमेरिकी टोलीको कप्तानी गर्ने अवसर मोनांक दिलीपभाई पटेलले पाएका छन् । उनी टोलीका अनुभवी खेलाडीमध्ये एक हुन् ।

३१ वर्षीय मोनांक टोलीका विकेटकिपर ब्याट्सम्यान पनि हुन् । उनले राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनी अमेरिकाका लागि एक हजार आठ सयभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने सिमित खेलाडीमध्ये एक हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको ४७ पालीमा उनले ३२.८६ को औसतले कुल एक हजार चार सय ४६ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको स्ट्राइक रेट ७८.७५ हो । उनले दुई शतक र १० वटा अर्धशतक पनि बनाएका छन् ।

मोनांकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर एक सय ३० रन हो । उनले ३३ वटा क्याच लिएका छन् भने विकेटकिपरको भूमिकामा दुईवटा स्टम्पिङ पनि गरेका छन् ।

यसै गरी उनले २३ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको २० पालीमा २१.५० को औसतले कुल तीन सय ८७ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर ६८ रन हो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको स्ट्राइक रेट १३३.९१ रहेको छ ।

उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई अर्धशतक पनि प्रहार गरेका छन् । यो ढाँचाको प्रतियोगितामा उनले १४ वटा क्याच पनि लिएका छन् । यसका अतिरिक्त विकेटकिपरको भूमिकामा उनले ११ वटा स्टम्पिङ पनि गरेका छन् ।

यसै गरी उनले ६७ वटा लिस्ट ‘ए’ र २३ वटा टी–२० प्रतियोगिता पनि खेलेका छन् । उनले लिस्ट ‘ए’ प्रतियोगितामा दुई हजार एक सय चार रन बनाएका छन् । लिस्ट ‘ए’ प्रतियोगितामा उनको उच्च स्कोर एक सय ३० रन हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप