बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीका लागि आवास बनाउँछौँ : मन्त्री श्रेष्ठ

बिहीबार, १७ जेठ २०८१, १५ : ४०
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीहरूका लागि होस्टलको व्यवस्था गरिने बताएका छन् । बिहीबार कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण एवं अवलोकनका लागि कीर्तिपुर पगेका उनले यस्तो बताएका हुन् । 

मन्त्री श्रेष्ठले अन्य देशहरूमा मैदान आसपासमै खेलाडीहरूका लागि होस्टलको व्यवस्था गरिएको हुने भन्दै नेपालले पनि सोही अनुभवबाट सिक्दै खेल मैदान आसपासको क्षेत्रमा खेलाडी आवास निर्माण गर्न होटल व्यवसायी संघ (हान)सँग आग्रह गर्ने बताए । यसले खेलाडीहरूलाई मैदानमा अभ्यास गर्न जान पनि सहज हुने उनको विश्वास छ । 

मन्त्री श्रेष्ठले फ्लड लाइट जडानको कुरा केही प्राविधिक र प्रशासनिक त्रुटिका कारण रोकिरहेको भन्दै आगामी आर्थिक वर्षका लागि २० करोड रुपैयाँ छुट्याइएको बताए । उनले संरचनालाई सुदृढीकरण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा अन्य राष्ट्रलाई संरचना बनाउँदै प्रतिस्पर्धामा आउँदैछौँ भन्ने किसिमको सन्देश दिन लागेको उनले बताए । उनले कीर्तिपुर क्रिकेट मैदानमा खानेपानी, शौचालयको समस्या समाधानका लागि पहल सुरु गर्ने पनि बताए ।

क्यानका सचिव पारस खड्काले क्रिकेट पूर्वाधार बनाउने काममा आफूहरू लागिसकेको बताए । उनले क्रिकेट पिचलाई व्यवस्थित गर्ने, मैदान पुग्ने दर्शकलाई छुट्याएर पुरुष र महिला शौचालय निर्माण गर्ने, भीआईपी क्षेत्रमा स्ट्रक्चर प्लान गर्ने सोच रहेको बताए । उनले स्कोर बोर्डको टेण्डर पास भएको र फ्लड लाइटको पनि ४५ दिनसम्ममा टेण्डर सकिएर काम सुरु हुने आशा रहेको बताए ।

मन्त्री श्रेष्ठले क्रिकेटर सन्दीप लामिछानेसँग पनि भेट गरेका थिए । उनले लामिछानेसँग सरकारले विश्वकप खेल्न पठाउनका लागि कूटनीतिक पहल गरेको र विश्वकप खेल्न जान पाउनेमा आशावादी रहेको बताए ।

नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा भाग लिँदैछ । जसका लागि नेपाल एक महिनाअघि नै अमेरिका र वेस्टइण्डिज पुगेर विश्वकप अगाडिको खेलहरू खेलिसकेको छ । नेपालले विश्वकपको वार्मअपमा यसअघि क्यानडासँग खेलिसकेको छ भने अमेरिकासँग आज खेल्दैछ । 

विश्वकप जुन २ तारिकबाट अमेरिका र वेस्टइण्डिजमा सुरु हुँदैछ । जसमा नेपालले भने जुन ४ मा नेदरल्याण्ड्ससँग खेलेर विश्वकपको सुरुवात गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप