शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
जग्गा विवाद

३ करोडको जग्गा हडप्न १३ जनाको सेटिङ, वडाध्यक्षसमेत संलग्न

अदालतले पक्राउ पुर्जी जारी गरेका वडाध्यक्ष निस्फिक्री वडा कार्यालयमा काम गर्दै
बिहीबार, १७ जेठ २०८१, १४ : ५८
बिहीबार, १७ जेठ २०८१

विराटनगर । मोरङको रङ्गेली नगरपालिका–४, आमतोलामा रहेको करिब ३ करोड रुपैयाँ पर्ने जग्गा र उद्योग एकलौटी बनाउने कार्यमा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका वडाध्यक्षलाई प्रहरीले अझै पक्राउ गरेको छैन । पीडित पक्षले अदालतमा दिएको निवेदनपछि पक्राउ पुर्जी जारी भए पनि रङ्गेली–४ का वडाध्यक्ष अभदेश मण्डल वडा कार्यालयमै निस्फिक्री काम गरिरहेका छन् ।

स्थानीय ७९ वर्षीय रामप्रसाद साहको नाममा रहेको जग्गा र उद्योग उनकी जेठी श्रीमती कलावती देवी मण्डललाई बाइपास गरेर कान्छी श्रीमती कौशिलादेवी साहको नाममा ल्याउन रङ्गेली–४ का वडाअध्यक्ष मण्डलसहित १३ जना मिलेर किर्ते गरेको पाइएको थियो ।

वडाअध्यक्षको अवैध कामलाई साथ दिन रङ्गेली नगरपालिकाका उपप्रमुख झुमा पराजुली (निरौला) का श्रीमान गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रङ्गेलीका मुद्दा फाँटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौलासहित १३ जना रहेको कलावतीका छोरा विरेन्द्रकुमार साहले दाबी गरे ।

विराटनरमा बुधबार पत्रकार सम्मेलन गरी साहले आफ्नो बुबा रामप्रसाद साहको नाममा साविक गाविस रङ्गेली वडा नं. ८ को नक्सा सिट नं. १७८०७१८ को किता नं.  १५६ र १५७ रहेको २०५ र ३३८.६३ वर्गमिटरको जग्गा कान्छी आमाको छोरा राजकिशोर साहले हडप्ने षड्यन्त्र गरेको दाबी गरे ।

सोही जग्गामा बजरङ चिउरा उद्योग र घर छ । अहिले यो क्षेत्रको जग्गा प्रतिधुर १० लाखदेखि १२ लाख रुपैयाँसम्ममा खरिदबिक्री भइरहेको उनले बताए । घर र उद्योगबाहेक जग्गाको भाउमात्रै करिब तीन करोड पर्ने उनको दाबी छ ।

रामप्रसाद साहको २०७९ वैशाख ८ मा मृत्यु भयो । उनका दुई जना श्रीमती छन् ।

रामप्रसाद साहको निधन भएपछि कान्छीतर्फका छोरा राजकिशोरले बाबुको १३ औँ दिनमा मृृत्य दर्ता बनाए । बाबुको मृत्यु भएपछि काजकिरिया सकिएकै दिन १३ दिनमा एकलौटी रुपमा आफूले मात्रै अंश लिने उद्देश्यले रङ्गेली ४ नं. वडा कार्यालयबाट २०७९ वैशाख २१ मा मृत्यु दर्ता बनाएको विरेन्द्रको दाबी छ ।

विरेन्द्रलाई २०६५ भदौ २६ मा ५० हजार रुपैयाँ अंश दिएको देखाएर कान्छीतर्फका छोरा राजकिशोरले बाबुको नाममा रहेको जग्गा आफ्नो नाममा ल्याउन सर्जमिन मुचुल्का बनाएको देखिन्छ । २०७९ फागुन ५ गते भएको उक्त सर्जमिन मुचुल्कामा राजकिशोरले एकल अंशियार देखाए । मुचुल्कामा उपप्रमुख भुमा निरौलाको श्रीमान गणेश निरौला, छिमेकी विनोद कुमार मण्डल, अनिल मण्डल, दिनेश मण्डल, अजय प्रसाद साह, धिरजकुमार मण्डल र प्रमानन्द मण्डले हस्ताक्षर गरेका छन् ।

त्यसपछि २०८० साउन १७ गते राजकिशोरको मन्जुरीमा उनी आमा कौशीलादेवी साहको नाममा रामप्रसादको जग्गा र घर नामसारी गरिदिन मालपोत कार्यालय रङ्गेलीलाई वडाअध्यक्ष अभदेश कुमार मण्डलले सिफारिस बनाइदिए । वडाले दिएको उक्त सिफारिसको आधरमा मालपोत कार्यालय रङ्गेलीले २०८० साउन १८ मा कौशीलादेवी साहको नाममा जग्गा नामसारी गरेको देखिएको छ । वडा अध्यक्ष मण्डलले कौशीलादेवीको नाममा जग्गा सिफारिस गरिदिन राजकिशोरले मोटो रकम लिएको विरेन्द्रले बताए ।

‘मलाई थाहै नदिकन एकलौटी रुपमा कान्छी आमाको नाममा बुबाको सम्पत्ति ल्याउनको लागि राजकिशोरले लाखौँ रुपैयाँ खर्च गरेको छ,’ उनले भने ।

जग्गा नामसारी भएको १० महिनापछि मात्र विरेन्द्रले यसबारे पत्तो पाएका थिए । त्यसपछि उनले मालपोतमा गएर बुझ्दा सरकारी कागजपत्र किर्ते गरेको थाहा पाएपछि प्रहरीमा जेठ १ गते जाहेरी दर्ता गराएका हुन् ।

प्रहरी प्रशासन राजनीतिक दबाबमा रहेको दाबी

साहले पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दा पनि वडाअध्यक्ष मण्डलसहित १२ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु नगर्दा न्याय नपाउने आशङ्का भएको बताए ।

सो प्रकरणमा मोरङ प्रहरीमा जाहेरी दर्ता भएपछि गत जेठ ९ गते मोरङ अदालतबाट वडाअध्यक्ष मण्डलसहित १३ जनाविरुद्ध सरकारी कागजपत्र किर्ते गरेको मुद्दामा पक्राउ पुर्जीसमेत जारी भएको छ । जसमध्ये प्रहरीले राजकिशोर साहलाई भने पक्राउ गरेको छ ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सो प्रकरणमा संलग्न वडाअध्यक्षसहित १३ जना सुरुमा फरार थिए । अहिले भने उनीहरू पावरको भरमा गाउँघरमा खुल्लेआम हिँड्ने गरेको पीडित साहले बताए ।

‘अहिले गाउँघरमै खुलेआम वडाअध्यक्ष हिँडडुल गर्दै आएका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भइसक्दा पनि वडाअध्यक्ष अहिले वडामा काम कारबाही गर्दै आएका छन्,’ उनले भने, ‘प्रहरीले पक्राउ गर्ने कुनै चासो देखाएको छैन ।’

आरोपितलाई पक्राउ नगर्दा न्याय नपाउने अनुभूति भएको उनले बताए । ‘अहिले पनि खुलेआम सार्वजनिक ठाउँमा वडाअध्यक्ष मण्डल हिँडडुल गरेका छन् । कानुनी राज्यमा राज्य र राज्यका निकायहरू पीडितको पक्षमा हुनुपर्ने हो । तर, अहिलेका काम कारबाही हेर्दा कताकता पीडितको पक्षमा नदेखिएको महसुस भएको छ । पारदर्शी ढङ्गले अनुसन्धान भएको देखिँदैन,’ उनले भने, ‘पक्राउ पुर्जीमा उल्लेखित दुई व्यक्ति वडाअध्यक्ष र रङ्गेली नगरपालिका उपप्रमुखका श्रीमान वर्तमान सरकारमा सहभागी भएको पार्टी एमालेको भएको कारणले गर्दा अहिलेको सरकारले प्रहरीलाई दबाब दिएको हो कि भन्ने हाम्रो आशंका छ ।’

५ महिना १२ दिन अगाडि सर्जमिन प्रमाणित भएको कागजलाई रोकेरमात्रै सिफारिस दिने काम वडाअध्यक्ष मण्डलले गरेको पाइएको छ । ‘आखिरमा ५ महिना १२ दिन रोकेर पछि सिफारिस दिनुपर्ने कारण के हो ?,’ उनले भने, ‘चाँडोभन्दा चाँडो आरोपितहरूलाई पक्राउ गरी छानबिन गरी कडाभन्दा कडा कारबाहीको लागि हामी जोडदार माग गर्दछौँ ।’

यी हुन् पक्राउ पुर्जी जारी भएका १३ जना

अदालतले पक्राउ पुर्जी जारी गरेकाहरूमा रङ्गेली ४ का वडाअध्यक्ष अवदेश मण्डल, रङ्गेली नगरपालिकाकी उपप्रमुख झुमा पराजुली (निरौला) का श्रीमान गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रङ्गेलीका मुद्दा फाँटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौला, सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्नेहरू विनोद कुमार मण्डल, अनिल मण्डल, दिनेश मण्डल, अजय प्रसाद साह, धिरज कुमार मण्डल र प्रमानन्द मण्डल तथा ३ करोड बढीको सम्पत्ति एकलौटी बनाउने कौशिलादेवी साह र उनका छोरा राजकिशोर साह छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप