मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

झलनाथलाई प्रश्न : माधव र तपाईंको दौडधुपको अन्तर्य के हो ?

‘सत्ता समीकरण तलमाथि पार्न विपक्षीको शक्ति पुग्दैन’
बिहीबार, १७ जेठ २०८१, १४ : ४९
बिहीबार, १७ जेठ २०८१

 काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको हिमचिम प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग बढ्न थालेपछि सत्तारुढ दलमा तरङ्ग पैदा भएको  छ । अध्यक्ष नेपाल बुधबार बेलुका देउवा निवास बूढानीलकण्ठ पुगेर विपक्षी दलका नेता देउवासहित उपेन्द्र यादव, महन्थ ठाकुर लगायतसँग छलफल गरेका थिए । उक्त छलफलमा सुदूरपश्चिममा कांग्रेसलाई सरकारमा सहभागी गराउने र मधेसमा जसपा नेपाल नेतृत्वको सरकारलाई जोगाउनेबारे छलफल भएको बताइन्छ । यसलगत्तै बिहीबार बिहान एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे । एकीकृत समाजवादीभित्र अहिलेको सत्ता समीकरणलाई निरन्तरता दिने या अलग हुने भन्ने विवाद छ ।

यही विवादकाबिच नेताहरूको बालुवाटार र बूढानीलकण्ठ म्याराथन किन चलिरहेका छ भनेर रातोपाटीले नेता झलनाथ खनाललाई सोधेको छ । प्रस्तुत छ, नेता खनालसँगको टेलिफोन संवाद-

तपाईं प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुहुन्छ, अध्यक्ष माधव नेपाल शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ जानुहुन्छ । यो दौडधुपको अन्तर्य के हो ?

दौडधुप जस्तो त मलाई लाग्दैन । हाम्रो पार्टीको अध्यक्ष हिजो बूढानीलकण्ठ जानुभयो भन्ने मैले पनि समाचारहरू पढेर नै थाहा पाएँ । तर मेरोचाहिँ प्रधानमन्त्रीसँग भेट्ने योजना थियो र त्यही योजनाका आधारमा आज भेटेको हो ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा के-के कुराकानी गर्नुभयो ?

अहिलेको देशको परिस्थिति जे छ त्यसको बारेमा छलफल गर्यौ । खासगरी आर्थिक वर्षको बजेटले अलिकति आशा जगाउन पनि खोजेको छ । त्यो कुरालाई समेत ध्यानमा राखेर नयाँ सत्ता समीकरणलाई अझै केन्द्रमा मात्रै होइन सातै प्रदेशमा सुदृढ र बलियो बनाऔं भन्नेबारेमा प्रधानमन्त्रीसँग कुराकानी र छलफल भएका छन् । आगामी दिनमा सोही आधारमा अघि बढ्ने कुरामा प्रधानमन्त्री सहमत हुनुहुन्छ ।

अहिलेको सत्ता समीकरण ‘गडबड’ हुन लागेको हो र बलियो बनाउनुपर्ने आवश्यकता आइलाग्यो ?

समीकरण बलियो नै छ तर पनि कमजोर हुन नदिने र अरू थप बलियो बनाउने कुरा हो यो । अहिलेको समीकरण जसरी अघि बढिरहेको छ यसलाई तलमाथि पार्न विपक्षीहरू त लागिरहेकै छन् । तर सत्ता समीकरण तलमाथि पार्न विपक्षीहरूको तत्काल शक्ति पुगिहाल्ने सम्भावना मैले देखेको छैन । त्यसैले यो समीकरण अझ बढी दह्रो भएर जान्छ ।

सुदूरपश्चिम सरकारको नेतृत्व तपाईँहरूले गर्नुभएको छ । डेढ महिना बितिसक्दा पनि एमाले र माओवादी केन्द्र नै सरकारमा गएका छैनन् । कोशीमा तपाईँहरूका सबै सांसद विश्वासको मत दिनै गएनन् । यही बेला पार्टी अध्यक्षले विपक्षी दलका नेतासँग भेटघाट बढाउनु संयोगमात्र नहोला नि ?

आज मैले प्रधानमन्त्रीसँग कुरा गरेअनुसार सुदूरपश्चिम सरकारमा पनि प्रधानमन्त्री नेतृत्वकै पार्टी संलग्न नभइसकेको र नेकपा एमाले पनि सहभागी नभएको परिस्थिति छ त्यसलाई तुरुन्तै अन्त्य गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ । त्यसका लागि उहाँले आजै एउटा बैठक राखेर छलफल गरेर टुङ्ग्याउने कुरा गर्नुभएको छ । त्यसो भएकाले त्यहाँ कुनै ठुलो समस्या आउला भन्ने मलाई लाग्दैन ।

कोशी प्रदेशका सवालमा पनि सरकारमा हाम्रो पार्टीको संलग्नता हुनेगरी चाँडै एउटा समझदारी गर्नेबारे म सोचिरहेको छु भनेर प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको छ ।

मधेस प्रदेशको हकमा के हुन्छ ?

मधेस प्रदेशको बारेमा पनि चाँडै छलफल गरेर हामी टुङ्गोमा पुग्नुपर्ने हुन्छ । मधेसमा कसलाई मुख्यमन्त्री बनाउने भन्नेमा पनि समझदारी आवश्यक छ । त्यसकारण प्रदेशस्तरमा पनि नयाँ समीकरण विस्तारित गर्ने र त्यसले ठोस रूप लिने सम्भावना मैले प्रधानमन्त्रीसँगको छलफलका क्रममा पनि बुझेको छु ।

तपाईँले यो गठबन्धनलाई नै निरन्तरता दिएर बलियो बनाउने भन्दै गर्दा अध्यक्ष माधव नेपाल हिजो देउवा निवास पुगेर सुदूरमा कांग्रेसलाई सरकारमा सहभागी गराउने, मधेसमा अहिलेका मुख्यमन्त्रीलाई निरन्तरता दिने र गण्डकीमा सुरेन्द्रराज पाण्डेलाई बहुमत पुर्‍याउन प्रयास गर्ने किसिमले छलफल भएका समाचार आएका छन् नि ?

तपाईँले अहिले भनिरहेका कुराहरू हिजोको बूढानीलकण्ठ बैठकमा साँच्चै नै निर्णय भएका हुन् भने यो एउटा नयाँ आश्चर्य हो । हाम्रो पार्टीका लागि विषय आश्चर्य नै हुनेछ । किनभने हाम्रो पार्टीको केन्द्रीय सचिवालयले गरेको निर्णय बमोजिम वर्तमान सत्ता समीकरणलाई सुदृढ गर्दै जाने नै निर्णय र नीति पनि हो । त्यो निर्णय र नीतिसँग ती कुराहरूले मेल खाँदैनन् । त्यसबारेमा मलाई राम्रो जानकारी पनि छैन । हाम्रो अध्यक्ष किन बुढानीलकण्ठ जानुभयो ? के छलफल भयो ? त्यसबारेमा जानकारी पनि गराउनुभएको छैन । यदि तपाईँले भनेजस्तो हो भने अव बस्ने सचिवालय बैठकमा छलफल पनि होलान् । तर मेरो विश्वास के हो भने अहिलेको वाम लोकतान्त्रिक समीकरण जो बनेको छ यो समीकरण नै सुदृढ हुँदै जान्छ भन्नेमा विश्वस्त छु र यो नै अहिलेको आवश्यकता पनि हो ।

तपाईँहरूको पार्टीमा यस्ता विषयमा छलफल कम हुन थालेका हुन् । जबकि पछिल्लो समय अध्यक्ष नेपाल बालुवाटार भन्दा पनि बूढानीलकण्ठ तिरै आकर्षित भएको घटनाक्रमहरूले देखाएका छन् र उहाँले विपक्षी गठबन्धनमै जोड गरेको त होइन भन्ने प्रश्न पनि उठेका छन् । यस्तो अवस्थामा समाजवादीको अवस्था र हैसियत के होला ?

हाम्रो पार्टी पहिलेदेखि भन्दै आएको प्रगतिशील लाइनमै दृढतापूर्वक उभिन्छ । अहिलेको समीकरण पहिलेको भन्दा प्रगतिशील समीकरण भएकाले सकेसम्म अझै राम्रो बनाउने, अझै विस्तृत बनाउने, गतिशील र जनमुखी बनाउनेतर्फ लाग्नुपर्छ भन्ने हो । अहिले भर्खर आएको नीति तथा कार्यक्रम र बजेट पनि अलि बढी सकारात्मक र जनमुखी नै देखिन्छन् ।  नीति तथा कार्यक्रम र बजेटका विषयहरूलाई जतिसक्दो धेरै कार्यान्वयनतिर लैजानुबाहेक यो पार्टीका निम्ति अर्को कुनै विकल्प देखिँदैन । र, त्यो विकल्पमा जाने कुरा सम्भव पनि छैन ।

यदि अध्यक्ष नेपालले त्यो बाटो रोज्नुभयो भने तपाई अल्पमत वा अप्ठेरोमा पर्नुहोला नि त ?

हाम्रो पार्टीले के गर्ने ? भन्नेबारे निर्णय गरेर नै सङ्घीय सरकारमा सहभागी भएका हौँ । त्यही निर्णयका आधारमा सुदूरपश्चिममा हामीले मुख्यमन्त्री पनि लिइसकेका छौ । बागमती प्रदेशमा समझदारी अनुसार नै हाम्रा तीन जना मन्त्री भएका छन् । अव अरू कतिपय प्रदेशमा नमिलेका कुराहरू मिलाउँदै जाने कुरा नै पार्टीको निर्णय र लाइनअन्तर्गत पर्छ । बाँकी कुराहरू त छलफल र निर्णय गर्न सचिवालय छदैछ । सचिवालयमा पनि अन्यथा ढङ्गले निर्णय होलान् भन्ने मलाई लाग्दैन ।

नेताहरूबिचको मतभेदका कारण बजेट लगत्तै पार्टी सरकारबाट बाहिरिने र विपक्षी गठबन्धनमार्फत अघि बढ्ने तयारी भइरहेको छ भन्ने चर्चाहरू पनि भइरहेका छन् यसबारे तपाईँको भनाइ के हो ?

अहिलेको समीकरणले नेकपा एकीकृत समाजवादीको महत्त्व, व्यक्तित्व र आवश्यकतालाई पूर्णरुपले अस्वीकार गरेर तपाईंहरु यो समीकरणमा आउन जरुरी छैन, तपाईंहरुको संलग्नता पनि आवश्यकता छैन भन्ने खालको कुरा भएछ भने बेग्लै कुरा भयो । तर त्यो नहुँदासम्म अर्को समीकरणको कुरा गर्न सक्दैनौँ । त्यस अवस्थामा दक्षिणपन्थी शक्तिहरूसँगको समीकरणको कुरा हिजै टुंगिइसेकाले फेरि हामी त्यसलाई पुनर्स्थापित गर्ने दिशातर्फ जान पार्टीको कार्यदिशाले नै दिँदैन ।

तर कतिपय नेताहरूले यसअघि नै यो सरकारको आयु असार ३१ सम्म मात्र हो भनेर बोलेको विषय हावादारी हो त ?

हाम्रो पार्टीका कुनै पनि नेता कार्यकर्ता, सदस्य वा सांसदले पार्टीले गरेका नीति निर्णयको आधारमा मात्र बोल्नुपर्छ । टीकाटिप्पणी र विश्लेषण पनि त्यही नीति अनुसार गर्नुपर्छ । त्यो भन्दा भिन्न मनोगत वा अराजक ढङ्गले कसैले बोल्छ र अभिव्यक्ति दिन्छ भने त्यसको जिम्मेवार सम्बन्धित व्यक्ति नै हुन्छ । साथै पार्टीको अनुशासन तलमाथि भएको छ भने अनुशासन आयोग छ, त्यसले यस्ता कुराहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ ।

सैद्धान्तिक रूपमा अनुशासन आयोगले कारबाही गर्छ भनिए पनि व्यवहार देखिएको छैन । जसले गर्दा पार्टीमा अनुशासन पालना कमजोर बन्दा पार्टी कमान्डमा चल्न नसकेजस्तो पनि देखिन्छ नि ?

हामी राष्ट्रिय महाधिवेशनको सङ्घारमा छौ । असार १६ मा सुरु हुने राष्ट्रिय महाधिवेशनमा पुग्दासम्म पार्टीका अहिलेका जुन जुन निकाय छन् ती निकायहरूले नै सम्पूर्ण जिम्मेवारी लिएर अघि बढ्नुपर्छ । अहिले कुनै पनि पार्टीको नेता, कार्यकर्ता वा सदस्यले तलमाथि गरे भने त्यसलाई हेर्ने, विचार गर्ने तथा निर्क्योल गर्ने काम अनुशासन आयोगले नै गर्नुपर्छ र गर्दै छ पनि । एक महिनाभित्र नै महाधिवेशनमा जाने भएकाले रहेका कतिपय गिर्खा र विवादहरू रहेका भए र छलफल गर्नुपर्ने विषयवस्तु रहे ती चिजहरूलाई महाधिवेशनले ठोस जगमा उभिएर दृढतापूर्वक निर्णय गर्दै पार्टीलाई क्रान्तिकारी र समाजवादको दिशातर्फ अघि बढ्ने गरी निर्णयमा पुग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप