शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

कोषमार्फत वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले औषधि उपचार सुविधा पाउने

बिहीबार, १७ जेठ २०८१, १२ : १८
बिहीबार, १७ जेठ २०८१

विराटनगर । सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै अबदेखि औषधोपचार सुविधा पाउने भएका छन् । यसअघि २०७९ पुसबाट औपचारिक क्षेत्रका योगदानकर्ताका श्रीमान् या श्रीमतीलाई औषधोपचार सुविधामा समेटेको कोषले जेठ १७ देखि लागू हुने गरी अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै औषधोपचार सुविधा पाउने गरी कार्यविधि संशोधन गरेको हो ।

यससँगै अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका श्रीमान्, श्रीमती र १८ वर्ष उमेर नपुगेका छोराछोरीले वार्षिक १ लाख रुपैयाँसम्मको औषधि उपचार सुविधा पाउने भएका छन् । कोषले अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई नै उपचार सुविधामा समेट्ने गरी तीन महिनाअघि नै कार्यविधि संशोधन गरेको र आज बिहीबारदेखि कार्यान्वयनमा आएको निर्देशक उत्तमराज नेपालले जानकारी दिए ।

अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि कोषले उपचार सुविधा पाउन योग्य समयावधिलाई नौ महिनाबाट घटाएर तीन महिनामा झारेको छ । यसअघि कोषमा योगदान गर्न थालेको नौ महिनापछि मात्र उपचार सुविधाका लागि योग्य हुने व्यवस्था रहेकोमा अबदेखि तीन महिनाको नियमित योगदानपछि नै योग्य हुनेगरी कार्यविधि संशोधन गरिएको निर्देशक नेपालले जानकारी दिए ।

‘उपचार सुविधा पाउन योग्य हुने अवधि घटेको र परिवारमा समेत सुविधा विस्तार भएकाले नियमित योगदानका लागि थप अभिप्रेरित हुने विश्वास लिइएको छ,’ उनले भने । श्रममन्त्री डोलप्रसाद अर्यालले विराटनगरबाट आरम्भ भएको श्रमाधान रोजगार मेलाको अवसर पारेर कोषले विस्तार गरेका सुविधाबारे औपचारिक जानकारी गराएका छन् ।

सामाजिक सुरक्षालाई सरकारले कति प्राथमिकता दिएको छ भन्ने यसबाट पनि स्पष्ट हुने उनले बताए ।  योगदानकर्ताको दुर्घटना भई नेपालको अस्पतालमा उपचार गराउँदा एक आर्थिक वर्षमा सात रुपैयाँ बराबरको दुर्घटना बिमा गरिएको पनि उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप