बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

कहाँ पुग्यो माओवादी र यादव पक्षीय नेसपाबिचको एकता प्रक्रिया ?

बिहीबार, १७ जेठ २०८१, ११ : ५७
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी(नेसपा) को  महिन्द्र राय यादव पक्षबिचको एकता प्रक्रियाले पूर्णता पाउन ढिलाइ भएको छ । 

नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईलाई बाइपास गर्दै चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीबिच एकता गर्ने गरी चार बुँदे  सहमति भएको थियो । 

जसअनुसार एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि माओवादीबाट महासचिव देव गुरुङ, उमहासचिव जनार्दन शर्मा र यादव पक्षबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेको कार्यदल गठन भएको थियो । तर सहमति भएको तीन महिना पुग्न लाग्दासमेत एकता प्रक्रियाले मूर्तरूप लिन नसकेको हो । 

यद्यपि कार्यदलस्तरमा एकता समायोजनका विषयमा छलफल भइरहेको दुवैतर्फका सदस्यहरूले बताएका छन् । माओवादीका कार्यदलका संयोजक गुरुङले कार्यदलस्तरमा विभिन्न चरणमा छलफल भइरहेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्ताका कारण एकताको घोषणा गर्न ढिलाइ भएको स्वीकार गरे । एकता समायोजनका लागि साङ्गठनिक, राजनैतिक, वैचारिक तथा कार्यदिशाको विषयमा छलफल जारी रहेको उनले बताए ।

‘आवश्यकता अनुसार कार्यदलमा एकता समायोजनको विषयमा छलफल जारी राखेका छौँ । प्रधानमन्त्रीको व्यस्तताका कारण एकता टुङ्ग्याउन ढिलाइ भएको हो । छिट्टै एकता समायोजन समितिको बैठक बसेर एउटा निष्कर्षमा पुग्नेछौँ’, रातोपाटीसँग गुरुङले भने ।

यता नेसपाका सहअध्यक्ष श्रेष्ठले नयाँ आर्थिक वर्ष सुरु भएपछि एकता प्रक्रिया निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे । धमाधम बजेट पेस गर्ने समय भएकाले तत्काल एकता टुङ्गोमा पुग्न ढिलाइ भएको उनको भनाइ छ ।

‘नयाँ आर्थिक वर्षअघि एकता प्रक्रिया टुङ्गोमा पुग्ने देखिँदैन । सङ्घ र प्रदेशमा बजेटमाथि छलफल भइरहेकाले ढिलाइ भएको हो’, श्रेष्ठले भने, ‘सदनबाट बजेट अनुमोदन भएपछि एकता टुङ्गिएला । कार्यदलस्तरमा छलफल भएपनि निष्कर्षमा पुगेका छैनौँ ।’

एकतापछि पार्टीको नाम नेकपा(समाजवादी) राख्न दुवै पक्ष सहमत भएका छन् । एकता विशेष महाधिवेशनमा जानुअघि माओवादीले फागुनको पहिलो हप्ता विधान अधिवेशन गरेर नयाँ विधान बनाएको छ । पार्टीको नाम, झन्डा, साङ्गठनिक संरचना, विचार, सिद्धान्त र कार्यदिशाको विषय विशेष महाधिवेशनबाट नै टुङ्गो लगाउने गरी एकता प्रक्रिया अगाडि बढाइरहेको दुई पार्टीका नेताहरूले बताएका छन् ।

माओवादीसँग एकता गर्ने यादव पक्षको सहमतिलाई नेसपाको बाबुराम भट्टराई पक्षले भने खारेज गरेको छ । सो समूहले पार्टीलाई निरन्तरता दिँदै महाधिवेशनको तयारीमा जुटेको छ । चैत ५ गते बसेको भट्टराई पक्षको केन्द्रीय समिति बैठकले माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

यस्तै यादव पक्षका नेताहरूलाई पनि बैठकले कारबाही गरेको थियो । 

२०७९ को प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा नेसपाले दुई/दुई गरी चार सिट जितेको थियो । तीमध्ये गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटा बाहेक सबै यादव पक्षमा रहेका छन् ।

निर्वाचनपछि पार्टी एकता गर्ने सहमति भएको भनिए पनि प्रचण्ड र भट्टराईबिच देखिएको मनमुटाबका कारण सिङ्गो पार्टी एकता गर्ने प्रयास असफल भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप