बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
क्रिकेट

टी–२० विश्वकपमा सर्वाधिक रन बनाउँदै ब्याट्सम्यानको सूचीमा एसियाली खेलाडीको दबदबा

बिहीबार, १७ जेठ २०८१, १० : ४८
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । यसपटक विश्वकपमा २० वटा राष्ट्रले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा सहभागी हुन अधिकांश राष्ट्रका खेलाडी आयोजनास्थल पुगिसकेका छन् ।

यसअघि टी–२० विश्वकपको आठ संस्करण सम्पन्न भइसकेका छन् । यस अवधिमा टी–२० विश्वकपमा थुप्रै खेलाडीले फरक–फरक कीर्तिमान पनि बनाएका छन् । टी–२० विश्वकपको इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको विषयमा यहाँ चर्चा गरिएको छ ।

सन् २००७ देखि सुरु भएको टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा एसियाली राष्ट्रका खेलाडीको वाहुल्य देखिन्छ । भारतीय ब्याट्सम्यान विराट कोहली त्यसमा सबैभन्दा अगाडि छन् ।

विराट कोहली : चर्चित भारतीय ब्याट्सम्यान विराट कोहलीले टी–२० विश्वकपमा हालसम्म २७ खेल खेलिसकेका छन् । विराटले २७ खेलको २५ पालीमा कुल एक हजार एक सय ४१ रन बनाइसकेका छन् । टी–२० विश्वकपमा उनको स्ट्राइकर रेट १३१.३० रहेको छ ।

यस क्रममा उनले १४ वटा अर्धशतक पनि प्रहार गरेका छन् । टी–२० विश्वकपको आठौँ संस्करण सकिँदासम्म विराटले २८ छक्का र एक सय तीनवटा चौका पनि हिर्काएका छन् । विराट टी–२० विश्वकपको नवौँ संस्करणका लागि पनि टोलीमा परेका छन् ।

माहेला जयाबद्र्धने : आफ्नो समयका प्रभावशाली श्रीलंकाली खेलाडी माहेला जयाबद्र्धनेले टी–२० विश्वकपमा कुल ३१ खेल खेलेका छन् । जयाबद्र्धनेले टी–२० विश्वकपमा कुल एक हजार १६ रन बनाइका छन् ।

टी–२० विश्वकपमा उनको स्ट्राइक रेट १३४.७४ रहेको छ । उनले टी–२० विश्वकपमा ६ वटा अर्धशतक पनि प्रहार गरेका छन् । यस क्रममा उनले २५ छक्का र एक सय ११ वटा चौका पनि हिर्काएका छन् । उनी नवौँ विश्वकपका लागि घोषित टोलीमा सहभागी छैनन् ।

क्रिस गेल : क्रिस गेल वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान हुन् । उनले आफ्नो अन्तिम टी–२० विश्वकप सन् २०२१ मा खेलेका थिए । उनले टी–२० विश्वकपमा ३३ खेल खेलेका छन् । विश्वकपको ३१ पालीमा उनले कुल नौ सय ६५ रन बनाएका छन् ।

टी–२० विश्वकपमा उनको स्ट्राइक रेट १४२.७५ रहेको छ । गेलले यस क्रममा दुई शतक र सातवटा अर्धशतक पनि प्रहार गरेका छन् । यस क्रममा उनले ६३ छक्का र ७८ वटा चौका पनि प्रहार गरेका छन् । उनी हाल क्यारेबियन टोलीको सदस्य छैनन् ।

रोहित शर्मा : रोहित शर्मा भारतीय टोलीका वर्तमान कप्तान हुन् । उनकै कप्तानीमा भारतले टी–२० विश्वकपको नवौँ संस्करण खेल्ने तयारी गरिरहेको छ । उनी टी–२० विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन् ।

रोहित शर्माले हालसम्म टी–२० विश्वकपमा ३९ खेल खेलिसकेका छन् । उनले ३६ पालीमा कुल नौ सय ६३ रन बनाएका छन् । उनको स्ट्राइक रेट १२७.८८ रहेको छ । उनले टी–२० विश्वकपमा नौवटा अर्धशतक पनि प्रहार गरेका छन् । यस क्रममा उनले ३५ छक्का र ९१ वटा चौका हिर्काएका छन् ।

तिलकरत्ने दिल्सान : तिलकरत्ने दिल्सान श्रीलंकाली टोलीका पूर्वखेलाडी हुन् । उनले आफ्नो अन्तिम टी–२० विश्वकप सन् २०१६ मा खेलेका थिए । उनी आफ्नो समयका आक्रामक ब्याट्सम्यान थिए । उनले टी–२० विश्वकपमा ३५ खेल खेलेका थिए ।

विश्वकपको ३४ पालीमा उनले कुल नौ सय ८७ रन बनाएका छन् । टी–२० विश्वकपमा उनको स्ट्राइक रेट १२४.०६ रहेको छ । उनले टी–२० विश्वकपमा ६ वटा अर्धशतक पनि प्रहार गरेका छन् । यस क्रममा उनले २० छक्का र एक सय एक चौका पनि हिर्काएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप