शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

‘रेड नोटिस’ जारी भएको ४ महिनासम्म पनि पक्राउ परेनन् सुमेरुका भरत महर्जन

बचतकर्ताको ७ अर्ब १ करोड अपचलन
बिहीबार, १७ जेठ २०८१, १० : ४९
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । ललितपुरको पुल्चोक स्थित सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका संस्थापक अध्यक्ष हुन्, भरत महर्जन । सुमेरु सहकारीको शाखा कार्यालय ललितपुर महानगरपालिका–२३ धापाखेल र भक्तपुरको गठ्ठाघरमा पनि छ । 

बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम अपचलन गरेको आरोपमा महर्जनविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयबाट रेड नोटिस जारी भएको थियो । १९ माघ, २०८० मा उनीविरुद्ध रेड नोटिस जारी भए पनि अहिलेसम्म पक्राउ भने परेका छैनन् । 

ललितपुर महानगरपालिका–२३ घर भएका ५२ वर्षीय महर्जन बेलायतमा लुकेर बसेको आशङ्का गरिएको छ । तर, रेड नोटिस जारी भएको ४ महिनासम्म पनि उनको अत्तोपत्तो छैन । 

Bharat Maharjan 2.16 (2081)

इन्टरपोलसँग समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रयास भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘सुमेरु सहकारीको मुद्दा दर्ता भएर अनुसन्धान अघि बढेको छ । सञ्चालक महर्जनलाई पक्राउ गर्ने प्रयास भइरहेको छ ।’ 

सीआईबीमा महर्जनविरुद्ध २०८० पुसमा सहकारीको रकम अपचलन गरेको कसुरमा जाहेरी दर्ता भएको थियो । संस्थापक अध्यक्ष महर्जनविरुद्ध सुमेरुको वर्तमान अध्यक्ष काशीराज दाहाल, सदस्य विनोद आचार्य र अर्का सदस्य धनेन्द्र कट्टेलले जाहेरी दिएका हुन् । कट्टेल सुमेरु सेभिङ्ग एण्ड क्रेडिटको पूर्व व्यवस्थापक समेत हुन् । उनीहरूको आरोप छ, ‘महर्जन निक्षेप लिएर भागेका हुन् ।’ 

२०५७ साउनमा स्थापना भएको सहकारीमा बचतकर्ताले जम्मा गरेको ७ अर्ब १ करोड २१ लाख २७ हजार रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । स्थापनादेखि २०७५ पुससम्म संस्थापक एवं कार्यकारी अध्यक्ष थिए, भरत महर्जन । 

व्यापारिक घरानाको रूपमा चिनिएको ‘सुमेरु ग्रुप’को पनि अध्यक्ष रहेका महर्जनले पछिल्लो समय नयाँ समितिलाई विश्वासमा पारेर एकल निर्णयमा लगानी र बचत रकम अपचलन गरेर अर्बौँको सम्पत्तिको हिसाब फर्छ्योट नगरी बिना सूचना सम्पर्कविहीन भएको जाहेरीमा उल्लेख गरिएको छ । जाहेरवालाहरूले पनि महर्जन बेलायतमा लुकेर बसेको जिकिर गरेका छन् ।

Sumeru 1 (2081)

जाहेरीमा भनिएको छ, ‘महर्जनले सहकारीको समेत जिम्मेवारी लिन्छु, संस्थापक अध्यक्ष भएकोले पूर्णरुपमा दायित्वमा रहन्छु, नयाँ समितिलाई डराउनुपर्ने आत्तिनुपर्ने छैन भन्दै विश्वासमा पारी षड्यन्त्र गरेर रकम अपचलन गरेका हुन् ।’ 

बचतकर्ताको रकम महर्जनले आफ्नो र आफन्तको नाममा खडा गरेको कम्पनीहरूमा मनोमानी रूपमा बिना निर्णय ऋण बनाएर तथा सोझै रकमान्तर गरेर अपचलन गरेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । सुमेरुमा ३६ हजार ३०५ जना निक्षेपकर्ता छन् । 

कूल बचत रकम १३ अर्ब ७५ करोड ९८ लाख  र ९ अर्ब ४५ करोड ९८ लाख ऋण प्रवाह गरेको भेटिएको छ । सुमेरु ग्रुपको नाममा १७ वटा कम्पनीहरू खडा गरेर गलत तवरले ऋण प्रवाह गरेको भेटिएको एसपी बोगटीले जानकारी दिए । 

सुमेरु सहकारीको निक्षेप निजी अस्पताल, कलेज, मेडिकल कलेज, रिसोर्ट र मार्टमा लगानी गरेको भेटिएको छ । 

  • सुमेरुको रकम लगानी भएका कम्पनीहरू 

१. सुमेरु सिटी अस्पताल पुल्चोक 

२. एसियन कलेज, सातदोबाटो । 

३. शंकरापुर कलेज, सातदोबाटो । 

४. सुमेरु प्रिन्टिङ प्रेस

५. खोजतलास मिडिया प्रा.लि 

६. सुमेरु डाइग्नोष्टिक प्रा.लि

७. सुमेरु रिसोर्ट प्रा.लि । 

८. सुमेरु रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट प्रालि

९. सुमेरु हाउजिङ प्रा.लि । 

१०. सुमेरु मेडिकल कलेज प्रा.लि 

११. सुमेरु आयल स्टोर । 

१२. सुमेरु मार्ट प्रालि । 

१३. सुमेरु एग्रो फर्मिङ प्रालि 

१४. सुमेरु ग्रुप अफ अर्गनाइजेसन 

१५. सुमेरु वृद्धाश्रम प्रा.लि । 

१६. सुमेरु अस्पताल 

१७. सुमेरु किड्नी अस्पताल । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप