केयूका पीएचडी शोधार्थीहरुलाई अस्ट्रेलियन प्राध्यापकहरुको शिक्षण
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) मा विद्यावारिधिरत शोधार्थी एवम् एकेडेमिक राइटिङका अल्पकालीन विद्यार्थी तथा अस्ट्रेलियामा प्राध्यापनरत अमेरिकी प्रोफेसरहरुबीच हालै महत्त्वपूर्ण एवम् प्रभावकारी अन्तर्राष्ट्रिय शैक्षिक आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपालस्थित अस्ट्रेलियाली दूतावासको सहयोग तथा अस्ट्रेलियामा उच्च शिक्षा पूरा गरेर विभिन्न विषयमा विज्ञता हासिल गरी नेपाल फर्केकाहरुको एलुम्नाई संस्था (एएनएए) समेतको सहकार्यमा आयोजित यस कार्यक्रममा कर्टिन विश्वविद्यालय, अस्ट्रेलियाबाट आएका डा केटलिन मालिङ र डा पेर हेनिङ्सगार्डले सिर्जनशील रचना (कविता) तथा प्राज्ञिक (अनुसन्धानात्मक) लेखन लगायतका विभिन्न विषयमा आ–आफ्ना प्रस्तुतिहरूका साथ तीन दिनसम्म प्रशिक्षणमूलक शिक्षण गरे ।
साता लामो नेपाल बसाइमा अस्ट्रेलियाली प्राध्यापकद्वयले केयूको भाषा तथा आमसञ्चार विभागमा पीएचडी अनुसन्धानरत स्कलरहरूसँग उनीहरूका शोधशीर्षकमै केन्द्रित रही प्राज्ञिक लेखनबारे व्यक्ति–व्यक्तिबिच छलफल समेत गरे । यस कार्यक्रमअन्तर्गत जर्नल–आलेख लेखन तथा तिनको सम्पादनकला, अङ्ग्रेजी विषयको पाठ्यक्रम समीक्षालगायत अन्तर्राष्ट्रिय प्राज्ञिक समन्वयमा सांस्कृतिक तथा सामाजिक सद्भाव आदान–प्रदानका कार्यक्रमहरू पनि समावेश थिए ।
केयूको भाषा तथा आमसञ्चार विभागमा १८–२५ मे, २०२४ मा सम्पन्न कार्यक्रमको संयोजन केयुमा प्राध्यापनरत अङ्ग्रेजी विषयका सहप्राध्यापक डा काशिराज पाण्डेयले गरेका हुन् । डा पाण्डेयले अस्ट्रेलियाकै मर्डक युनिभर्सिटीबाट सन् २०१८ मा विद्यावारिधि गरेका हुन् ।
‘विदेशी विद्वान् मित्रहरूको यो सद्भाव र सहयोगका कारण अस्ट्रेलियाली र नेपाली शैक्षिक समुदायबिचको बहसलाई अझ अगाडि बढाएको छ’– कार्यक्रमका संयोजक सहप्राध्यापक डा पाण्डेले भने । कार्यक्रम समापनका दिन समेत अस्ट्रेलियाली प्राध्यापकहरूले प्रभावकारी प्रस्तुति र छलफल जारी नै राखे ।
पीएचडी स्कलरहरूलाई विभागका दक्ष, अनुभवी र दत्तचित्त प्राध्यापकहरूले नियमित कक्षा लिइरहेका छन् र अत्याधुनिक अनुसन्धान पद्धतिबारे गहन शिक्षण गरिरहेका छन् । यति हुँदाहुँदै पनि विभाग र प्राध्यापकहरूले दर्जनौँ पटक विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयका दर्जनौँ विद्वानहरूलाई अतिथि अध्यापकका रूपमा आमन्त्रण गरेर थप ज्ञान, शिल्प, शैली र विधिबारे प्रस्ट्याउने जमर्को गर्दै आइरहेका छन् ।
कार्यक्रम समापनका क्रममा केयूका उपप्राध्यापक एवम् भाषा तथा आमसञ्चार विभागका प्रमुख डा निर्मलमणि अधिकारीले विभागका तर्फबाट धन्यवाद र आभार प्रकट गर्दै उपहारसहित विदेशी मित्रहरूको बिदाइ गरे । सो कार्यक्रमका संयोजक उपप्राध्यापक डा पाण्डेय र पीएचडी शोधार्थीहरुले मायाको चिनो प्रदान गरे । बिदाइ कार्यक्रममा उपप्राध्यापक डा सुधांशु दाहाल, सुदर्शनप्रसाद दाहाल, अध्यापक डा दिनेश काफ्लेलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति