बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप : ९ खेलाडीसहित मैदानमा ओर्लिएको अस्ट्रेलियाले अभ्यास खेलमा नामिबियालाई सजिलै हरायो

बुधबार, १६ जेठ २०८१, १३ : २६
बुधबार, १६ जेठ २०८१

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत बुधबार खेलिएको अभ्यास खेलमा अस्ट्रेलियाले नामिबियालाई सात विकेटले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले १० ओभरमै केवल तीन विकेट गुमाएर एक सय २३ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । अस्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान डेभिड वार्नरले अर्धशतकीय योगदान गरे ।

अनुभवी ब्याट्सम्यान वार्नरले केवल २१ बलमा तीन छक्का र ६ चौकाको मद्दतले ५१ रन बनाए । कप्तान मिचेल मार्सले पनि १८ रन बटुले । टिम डेभिडले पनि टोलीको खातामा २३ रन थपे । विकेटकिपर ब्याट्सम्यान म्याथ्यू वेड १२ रनमा अविजित रहे ।

नामिबियाका बलर बेनार्ड स्कोल्जले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाका लागि विकेटकिपर ब्याट्सम्यान जेन ग्रिनले सर्वाधिक ३८ रन बनाएका थिए । अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन ।

अस्ट्रेलियाका बलर एडम जाम्पाले तीन र मिचेल मार्सले दुई विकेट लिए । अस्ट्रेलियाका डेभिड वार्नर प्लेयर अफ दी म्याच घोषित भए । आगामी विश्वकपमा अस्ट्रेलिया समूह ‘बी’ मा रहेको छ । त्यो समूहमा इङ्ल्यान्ड, नामिबिया, स्कटल्यान्ड र ओमान पनि छन् ।

अस्ट्रेलियाले दोस्रो अभ्यास खेल बिहीबार आयोजक राष्ट्र वेस्ट इन्डिजसँग खेल्नेछ । नामिबियाविरुद्धको पहिलो अभ्यास खेलमा विश्वकपका लागि घोषित टोलीका नौजना अस्ट्रेलियन खेलाडीमात्र मैदानमा ओर्लिएका थिए ।

अस्ट्रेलियन टोलीमा खेलाडीको अभाव भएपछि प्रशिक्षण टोलीका सदस्य मैदानमा ओर्लिएका थिए । इन्डियन प्रिमियर लिगका क्रममा घाइते भएका डेभिड वार्नर पनि मैदानमा ओर्लिएका थिए । टोलीको जितमा पनि उनले महत्वपूर्ण योगदान गरे ।

अस्ट्रेलियाले नामिबियाविरुद्धको खेलका क्रममा चार जनालाई परिवर्तित खेलाडीको रुपमा मैदानमा फिल्डिङका लागि मैदानमा ओरालेको थियो । अस्ट्रेलियन टोलीका प्रमुख प्रशिषक एन्ड्र्यू म्याकडोनाल्ड पनि फिल्डरका रुपमा मैदानमा ओर्लिएका थिए ।

यसका अतिरिक्त सहायक प्रशिक्षक ब्राड हज र आन्द्रे बोरोभिच तथा अस्ट्रेलियन टोलीका प्रमुख छनोटकर्ता जर्ज बेली पनि फिल्डरका रुपमा मैदानमा ओर्लिएका थिए । विश्वकप टोलीमा परेका केही अस्ट्रेलियन खेलाडी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल खेल्न भारतमा थिए ।

आईपीएलको फाइनल खेल आइतबार राति सकिएको थियो । त्यसपछि भारतमा रहेका अस्ट्रेलियन खेलाडी स्वदेख फर्किएका थिए । क्रिकेट अस्ट्रेलियाले विश्वकप सुरु हुनुअघि आईपीएलमा सहभागी आफ्ना खेलाडीलाई परिवारसँग केही समय बिताउन बिदा दिएको छ । उनीहरु विश्वकप सुरु हुनुभन्दा ठिकअघि मात्र वेस्ट इन्डिज पुग्ने क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

त्यसैले नामिबियाविरुद्धको पहिलो अभ्यास खेलमा अस्ट्रेलियन टोलीमा नौजना खेलाडीमात्र उपस्थित भएका हुन् । आईपीएलका क्रममा ह्यामस्ट्रिङ समस्याबाट पिडीत भएका टोलीका कप्तान मिचेल मार्श पनि नामिबियाविरुद्धको खेलमा मैदानमा ओर्लिएका थिए । उनी अझै पूर्ण रुपमा स्वस्थ्य भइसकेका छैनन् ।

प्याट कमिन्स, ट्राभिस हेड र मिचेल स्टार्कले आईपीएलको फाइनल खेलेका थिए । ग्लेन म्याक्सवेल र क्यामरन ग्रिनले पनि रोयल च्यालेन्जर्स बैंगलुरुको तर्फबाट आईपीएलको प्ले–अफ चरणको खेल खेलेका थिए । यसका अतिरिक्त मार्कस स्टोइनिस पनि अझै वेस्ट इन्डिज पुगेका छैनन् ।

यी सबै खेलाडी अब अस्ट्रेलिया फर्किएर केही समय आफ्नो परिवारसँग बिताउने छन् । त्यसपछि विश्वकप यात्रामा होमिन ओमानविरुद्धको खेलअघि मात्र उनीहरु वेस्ट इन्डिज पुग्नेछन् । विश्वकपमा अस्ट्रेलियाले आफ्नो पहिलो खेल जुन ५ तारिखमा ओमानसँग खेल्नेछ । अस्ट्रेलियाले आफ्नो दोस्रो अभ्यास खेल मे ३१ तारिखमा आयोजक राष्ट्र वेस्ट इन्डिजसँग खेल्ने कार्यक्रम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप