सीके राउत : स्वतन्त्र मधेसदेखि नौलो गणतन्त्रसम्मको राजनीतिक एजेण्डा
काठमाडौँ । २०७५ फागुन २४ गते ११ बुँदे सम्झौता गरी मूलधारमा आउनुभन्दा दुई दिन अगाडि सीके राउतले आफ्नो फेसबुकमा मधेसवासीलाई सम्बोधन गर्दै ‘स्वराज निर्विकल्प रहेको’ सन्देश दिएका थिए ।
तर एकाएक उनले उक्त एजेण्डालाई छाडेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गरे । राउतले सरकारसँग गरेको ११ बुँदे सम्झौताको पहिलो बुँदामा लेखिएको छ–‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य राष्ट्र हो । नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो ।’
सीके राउतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् मात्र गरेनन्, २०७९ मा भएको तीनै तहको चुनावमा भाग लिए, राम्रो जनमत पनि पाए । तर मूलधारमा आएको पाँच वर्ष नबित्दै उनी सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट विरक्तिए । उनले २०८० माघ २१ गते नौलो गणतन्त्रका लागि एउटा प्रतिवेदन सार्वजनिक गरे । प्रतिवेदनमा भनिएको छ,‘नेपालमा लोकतन्त्र स्वतः बुझिएता पनि इकोनोमिस्ट समूहले प्रकाशित गरेको लोकतन्त्र सूचकाङ्कको आधारमा नेपालमा तानाशाही र लोकतन्त्रबिचको मिश्रित प्रणाली रहेको छ । कम्युनिस्ट सरकारहरू आउँदा राज्य संयन्त्रलाई आफ्नो सत्ता टिकाउनका लागि प्रयोग गर्ने र लोकतान्त्रिक अधिकारहरू सहजै हरण गर्ने पाइन्छ ।’
नेपाल कागजी रूपमा स्वतन्त्र भएता पनि यथार्थमा यहाँ हरेक राजनीतिक र आर्थिक महत्त्वपूर्ण निर्णयहरू, गठबन्धन निर्माण र सरकार परिवर्तन बाह्य प्रभावमै हुने उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘त्यसलाई झेल्न सक्ने राजनीतिक नेतृत्व वा दलहरू भइदिएनन् । जो बाह्य शक्तिको निर्देशन विपरीत निर्णय गर्छ, उसको सरकार त्यति नै खेर ढल्छ र अर्को पात्र खडा गरिन्छ,’ प्रतिवेदनमा उनले भनेका छन् ।
राजनीतिमा उनले लिएका तीन वटा घुम्तीका यी उदाहरण मात्र हुन् । नेपालबाट मधेसलाई अलग गराइ स्वतन्त्र राज्यको दर्जा दिलाउने भन्दै सुरुमा उनले आन्दोलन थाले । सोही क्रममा उनले दस्तावेज निर्माण गर्नुका साथै अलग देशको माग गर्दै राष्ट्रसङ्घलाई समेत गुहारेका थिए ।
उनले आफ्नै फौज निर्माणदेखि लिएर कथित देश चलाउनका लागि आवश्यक कर्मचारीका लागि विज्ञापन समेत आह्वान गरिसकेका थिए ।
सीके राउतले स्वतन्त्र मधेसको बारेमा आफ्नो आत्मकथामा लेखेका छन्– ‘स्वतन्त्रता कहिल्यै पनि ढिलो हुँदैन । र, गएको दशकमा मात्र, दुई दर्जन देशहरू स्वतन्त्र भए । यस दशकमा पनि पूर्वी टिमोर, मोन्टेनेग्रो, सर्बिया र कोसोभो जस्ता देशहरूले स्वतन्त्रता प्राप्त गरे । र मधेसीहरूलाई पनि आफ्नो दासताबाट मुक्त हुन कसैले रोक्न सक्दैन, न त मधेसलाई स्वतन्त्र हुनबाट कसैले रोक्न सक्छ । त्यसै गरी केहीले स्वतन्त्र मधेस निकै सानो देश हुने भनेर गलत हल्ला फैलाउने गर्छन् । क्षेत्रफलका आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेस विश्वका सयभन्दा बढी देशहरूभन्दा ठुलो हुनेछ, इजराइल, फिजी, कुवेत, कतार, लेबनान, साइप्रस, सिंगापुर र माल्दिभ्स् जस्ता चर्चित देशहरूभन्दा ठुलो । माल्दिभ्स् त सप्तरीको एक चौथाइभन्दा पनि सानो छ । जनसङ्ख्याको आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेस विश्वका करिब एक सय पचास देशहरूभन्दा ठुलो हुनेछन् ग्रीस, पोर्चुगल, बेल्जियम, चेक रिपब्लिक, हंगेरी, बेलारूस, हाइटी, अस्ट्रिया, स्वीट्जरल्याण्ट, डेनमार्क, भुटान र नर्वे जस्ता नाम चलेका देशहरूभन्दा ठुलो । सबै दृष्टिले, मधेस विशाल छ, मधेस महान छ ।’
वैरागीदेखि वैज्ञानिकसम्म
पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केहीसमय काम गरेका सीके राउत आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर जापान हिँडेका थिए । जापान सरकारले दिने गरेको मोनबुसो छात्रवृत्तिमा उनी अध्ययनका लागि जापान गएका थिए ।
जापानबाट फर्केपछि के गर्ने भन्नेबारे उनीसँग कुनै योजना थिएन । अलमलमा परेर उनी वैरागी (जोगी) बनेर हिँड्न थालेका थिए । भगवान खोज्नका लागि आफू भारतको रामेश्वरम, बेङ्गलोर, कलकत्ता, मद्रास, कन्याकुमारीसम्म पुगेको तथ्य उनले आत्मकथामा लेखेका थिए । त्यही क्रममा आफूले ब्रह्मज्ञान प्राप्त गरेको उनले आत्मकथामा उल्लेख गरेका छन् ।
त्यो ब्रह्मज्ञानबाट पनि केही प्राप्त हुने नदेखेपछि उनी पुनः जापान फर्किए । जापानबाट मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिभर्सिटीमा विद्यावारिधिका लागि उनले आवेदन दिएका थिए र त्यसमा उनी छनोट पनि भए ।
उनी २०६४ मा नेपाल फर्किंदा मधेस आन्दोलन सुरु भइसकेको थियो । र, पहिलो पटक उनले तत्कालीन मधेसी मेर्चाद्वारा टुँडिखेलमा आयोजना गरेको जनसभामा आफ्नो मन्तव्य दिएर छुट्टै परिचय स्थापित गरेका थिए ।
तर मधेस आन्दोलनबाट केही प्राप्त हुने भन्दै सीके राउतले ‘मधेस अधिकार एवं स्वतन्त्रता गठबन्धन’ गठन गरेर मधेसमा गतिविधि सुरु गरेका थिए । त्यतिबेला उनको मूल नारा थियो– ‘नेपाली उपनिवेश र रङ्गभेद अन्त्य, मधेसीको समुचित अधिकार र मधेसको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेसको स्थापना ।’
आन्दोलनकै क्रममा उनी २०६५ सालमा वैज्ञानिकका रुपमा कार्य गर्न अमेरिका पुगे । यद्यपि उनले त्यहाँ पनि मधेसको गतिविधि गर्न छाडेका थिएनन् । अमेरिकामा गठन गरेको गैरआवासीय मधेसी सङ्घको ब्यानरमा उनले अमेरिकाबाट नेपाल आएर मेची–महाकाली यात्रा चलाएका थिए ।
उनले सो यात्राको बारेमा आफ्नो आत्मकथामा लेखेका छन्–‘पहाडीहरू मानवताविरुद्धको अपराधमा, रङ्गभेद र भेदभाव गर्नमा र आफ्नो उपनिवेश लाद्नमा अझ बढी उग्र र सङ्गठित भएको कुरा त्यस यात्राका दौरानमा मैले अनुभव गरेँ ।’ त्यही यात्राको क्रममा उनले नेपालबाट मधेसलाई अलग बनाउने सोच बनाए । मधेसीमाथि भएको विभेदबारे उनले खुलेर बोल्न थाले ।
सीके राउतले नेपालमा स्वतन्त्र मधेस गठबन्धनका लागि काम गर्न थालेपछि युरोपियन युनियन तथा अमेरिका फण्डबाट सञ्चालित विभिन्न सङ्घसंस्थाले उनलाई सहयोग गर्न थालेका थिए । अमेरिकामा बसेका मधेसीहरूले पनि पैसा पठाउन थाले ।
के थियो योजना ?
२०६७ देखि स्वतन्त्र मधेसको गतिविधिलाई तीव्रता दिएका सीके राउतले ८ देखि १२ वर्षमा मधेसलाई स्वतन्त्र बनाउने योजना बनाएका थिए । तर नौ वर्ष नपुग्दै उनी त्यो अभियानलाई छाडेर मूलधारको राजनीतिका आए ।
तर, उनका पार्टीका केन्द्रीय तहका नेताहरू भन्छन्, ‘हामी अझै आफ्नै योजना मुताविक छौँ ।’ सीके राउतले तोकेको समयसीमा अझै ३ वर्ष बाँकी छ ।
उनका कार्यकर्ताका अनुसार सीके राउत अहिले बचाउको चरणमा छन् । तीन चरणको योजना अनुसार दुई चरण पार भइसकेको छ । जसरी पनि मधेस गठबन्धन र उसको मिसनलाई बचाउने योजना सीके राउतको थियो र सोही योजना मुताविक उनी अहिले सरकारसँग सम्झौता गरेर मूलधारको राजनीतिमा आएका छन् ।
जनमत पार्टी निर्माण गरेर जनतामा खुला रुपमा जाने र जनताको मत बटुल्ने, सङ्गठन अझै बलियो बनाउँदै गएर स्वतन्त्र मधेस घोषणा गर्ने योजना राउतको थियो । उनले आफ्नो मधेस स्वराज पुस्तकमा यो रणनीतिक योजना उल्लेख गरेका छन् ।
पहिलो चरणको तयारीमा प्रचार प्रसार गर्ने, युवा दस्ता बनाउनेदेखि सैन्य र प्रहरी संरचना बनाउनेसम्मका कुरा छन् । दोस्रो चरणको आन्दोलनमा नाकाबन्दी, सैनिक र सिपाही विद्रोहसम्मका योजना उल्लेख छ । र तेस्रो चरणमा बचाउका लागि अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्नेदेखि राष्ट्रसङ्घमा दर्तासम्मका कुरा उल्लेख छन् । अहिले सीके राउत तेस्रो चरणमा रहेको कतिपयले दाबी गरेका छन् ।
सीके राउतले साङ्गठनिक रुपले सक्षम भएपछि असहयोगको आन्दोलन सुरु गर्ने, अहिंसात्मक विद्रोह र नाकाबन्दीको सहयोगमा मधेसमा नेपाली साम्राज्यको अन्त्य गर्दै स्वराजको स्थापनाका लागि लाग्ने आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
सीके राउत पहिलो पटक २०७१ सालमा पक्राउ परेका थिए । उनी पक्राउ परेपछि त्यतिबेला कांग्रेस नेतृत्वको सरकार थियो । तत्कालीन सञ्चारमन्त्री मिनेन्द्र रिजालसँग दुई बुँदे सम्झौता गरी उनी रिहा भएका थिए ।
त्यसपछि उनी पटकपटक पक्राउ पर्ने र रिहा हुने काम भयो । जतिपटक उनी पक्राउ पर्थे, त्यति नै उनको सङ्गठन बलियो हुँदै गइरहेको थियो । कतिपयले त राष्ट्र विखण्डनमा राउत लागेको सबै प्रमाण हुँदाहुँदै सरकारले रिहा गरेको भन्दै आपत्ति जनाएका थिए । जेलबाट रिहा भएको भोलिपल्टै राज्यसँग ११ बुँदे सम्झौता गर्दैै राउत मूलधारको राजनीतिमा आए ।
गठबन्धनका तत्कालीन सचिव चन्दन सिंह भन्छन्, ‘हामीले सरकारसँग गरेको ११ बुँदे सम्झौता अक्षरशः पालना हुन्छ । जनताको हितमा हामी काम गर्छौं ।’
गणतन्त्रको यात्रा
मूलधारको राजनीतिमा आएपछि सीके राउतले मधेसको जित भएको भन्दै मधेसमा दीपावली गराए । उनले स्वतन्त्र मधेसका नारा, स्वतन्त्र मधेसका अन्य सबै गतिविधि छाडिसकेका थिए । तर उनले बेलाबेला स्वराजका लागि आफ्नो आन्दोलन जारी रहेको भन्ने गरेका थिए ।
पछिल्लो समय उनले स्वराजको नामसमेत लिन छाडिसकेका छन् । सङ्घीयता र गणतन्त्रलाई कसरी बलियो बनाउने, मधेसलाई कसरी मुक्ति दिने, मधेसको गरिबी, बेरोजगारी समस्या कसरी समाधान गर्ने, किसानका मुद्दा तथा भ्रष्टाचारका समस्या उठाएर बेलाबेलामा उनले आन्दोलन समेत गरे ।
२०७९ को चुनावमा भाग लिनुअघि जनमत पार्टीले आन्दोलनलाई तीव्रता दिएको थियो । आन्दोलनकै क्रममा उनको पार्टीले तीनवटै तहको चुनावमा भाग लियो । प्रतिनिधि सभा चुनावमा सीके राउतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरे । राउत सप्तरी–२ बाट निर्वाचित भए । त्यसपछि उनको क्रेज अझै बढ्यो ।
उपेन्द्र यादवजस्तो व्यक्तिलाई चुनावमा पराजित गरेपछि काठमाडौँमा उनको डिमाण्ड बढ्यो । चुनाव जितेर आएपछि राजधानीमा विभिन्न पार्टीका शीर्ष नेताहरूलाई घरघर गएर उनले भेटेका थिए । यहाँसम्म कि उनले जसपाका अध्यक्ष उपेन्द्र यादव र तत्कालीन राजपाका अध्यक्ष महन्थ ठाकुरालई समेत भेटेका थिए ।
सरकारमा आफ्नो पार्टीलाई पठाउन आतुर थिए सीके राउत । त्यही बेला २०७९ मा एमाले–माओवादी गठबन्धनको सरकार बन्न लाग्दा सबभन्दा पहिले एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए । सरकारमा जाने सबभन्दा पहिले सम्झौता उनैले गरेका थिए । तर सम्झौता अनुसार मन्त्री नपाएपछि सुरुदेखि नै उनी असन्तुष्ट रहे । सोही क्रममा कहिले मन्त्री फिर्ता बोलाउने, कहिले पठाउने काम गरे ।
२०८० वैशाखमा भएको उपनिर्वाचनमा उनले सत्ता गठबन्धनमा रहेकै अवस्थामा आफ्नो छुट्टै उम्मेदवार उठाउने निर्णय गरे । उनले उपराष्ट्रपति, सभामुख, उपसभामुखमध्ये एउटा पद आफ्नो पार्टीलाई दिनुपर्ने अडान लिएका थिए ।
तर तीमध्ये कुनै पनि पद नपाएपछि गठबन्धनको विरुद्धमा उनले उपराष्ट्रपतिमा आफ्नो पार्टीबाट उम्मेदवार खडा गरे । सभामुखमा पनि सत्ता गठबन्धनको विपरीत मतदान गरे । उनले बारा–२ मा भएको उपचुनावमा उपेन्द्र यादवको विरुद्ध उम्मेदवार उठाए ।
सरकार र उनीबिच द्वन्द्व बढ्दै गएपछि उनले सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाएका थिए । यद्यपि चुनावपछि उनले फेरि सरकारमा मन्त्री पठाए । सरकारसँग सीके राउतको सम्बन्ध कहिल्यै राम्रो भएन । संसददेखि सरकारसम्म सीके राउतले विरोध नै गर्थे, जसले गर्दा सरकारले अप्ठ्यारो मानिरहेको थियो । पछि उनले सरकारबाट मन्त्री फिर्ता लिनुको साथै समर्थन पनि फिर्ता लिए र अहिलेको गणतन्त्र तथा राज्य प्रणालीमाथि नै प्रश्न उठाए ।
‘अब यो गणतन्त्रको काम छैन । नौलो गणतन्त्र ल्याउनुपर्छ’ भन्दै सीके राउतले प्रतिवेदन तयार गरी पार्टीबाट पारितसमेत गराए । नौलो गणतन्त्रका लागि आन्दोलन घोषणा गर्न जेठ १५ गते राजधानीमा कार्यक्रम गरे ।
राजनीतिक विश्लेषक जयनिशान्तले जनमत पार्टीका अध्यक्ष राउतले नौलो गणतन्त्रको कुरा सिद्धान्ततः ठिक गरेको बताए । उनले भने, ‘जनताले अधिकभन्दा अधिक अधिकार पाउन् भन्ने उद्देश्यले यो नौलो गणतन्त्रको कुरा उहाँले ल्याउनुभएको हो । हरेक कार्यकारी पद चुनावमार्फत हुनुपर्छ भन्ने छ, त्यो राम्रो सोच हो ।’
जनमत पार्टीका अध्यक्ष राउतले अहिलेको गणतन्त्रलाई छाडेको नभएर यसैलाई परिस्कृत गरी राम्रो बनाउन चाहेको विश्लेषक जयनिशान्तको भनाइ छ ।
जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले अहिलेको गणतन्त्र विकृत भइसकेको बताए । जनता यसबाट सन्तुष्ट नभएकाले यसलाई परिस्कृत गर्न नौलो गणतन्त्रको कुरा ल्याएको उनको भनाइ छ ।
सबै प्रमुख पद जनताबाट चुनिएर आएपछि उनीहरू जनताप्रति उत्तरदायी हुने बताउँदै उनले देशमा बढ्दै गएको भ्रष्टाचार तथा अनियमिततालाई रोक्नका लागि नौलो गणतन्त्र चाहिने बताए ।