आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
बजेट

बजेटमा लुम्बिनी प्रदेशले के पायो ?

मङ्गलबार, १५ जेठ २०८१, २२ : २०
मङ्गलबार, १५ जेठ २०८१

बुटवल । सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशका अधिकांश पुरानै योजनाले निरन्तरता पाएका छन् । केही ठुला योजनाहरूलाई पनि राखिएको छ । 

अर्थमन्त्री वर्षमान पुनले पेस गरेको बजेटमा बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन समेत उपयोग गरी उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षा लगायतका पूर्वाधार सहित सूचना प्रविधि पार्क सञ्चालनको काम अगाडि बढाइने बताइएको छ। यस्तो पार्कमा तीन वर्षका लागि वर्क स्टेसन सञ्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराइनेछ।

न्यु बुटवल–गोरखपुर ४०० सय कभी अन्तर देशीय प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गर्ने, बुटवल–पोखरा सडक खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गर्ने उल्लेख छ । आर्थिक वृद्धिका सम्भावनाका क्षेत्रलाई समेटी एकीकृत विकासको अवधारणा अनुरूप नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर–बुटवल–पोखरा–(मुग्लिङ) भरतपुरलाई तीन वटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरिएको छ। यस परियोजना अन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक इकोसिस्टम निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने उल्लेख छ । 

रुपन्देहीको मोतीपुर औद्योगिक र बाँके जिल्लाको नैवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु गरिने बजेटमा जनाएको छ । यी दुवै औद्योगिक क्षेत्रहरू यस अघि पनि सरकारले शिलान्यास गरे पनि निर्माण कार्य अगाडि बढाउन सकेको छैन । यस्तै वर्षेदेखि चर्चामा आएको काल गण्डकी–तिनाउ बहुउद्देश्यीय अन्तर जलाधार जलपथान्तरण आयोजनाको सम्भाव्यता अध्ययन गरी क्रमशः कार्यान्वयनमा लगिने जनाएको छ । 

रुपन्देहीको भैरहवाको एकीकृत जाँच चौकीको बुटवलको सिद्ध बाबा सुरुङ मार्गलाई निर्माण कार्य सम्पन्न गरिने बताइएको छ । यस्तै २०७५ सालमा कार्यालय स्थापना भएको बुटवलमा मेडिकल कलेज स्थापना गर्ने कार्य अघि बढाइने जनाएको छ । 

यस्तै बजेटमा गौतम बुद्ध जन्मस्थल लुम्बिनी लाई बर्थिङ हब रूपमा प्रवर्द्धन गरिने घोषणा गरिएको छ । लुम्बिनी प्रदेशको ठुलो आयोजना रूपमा रहेको सिक्टा सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा विस्तार गर्न बाँके जिल्लाको डुडुवा र नरैनापुर लगायत शाखा नहरको निर्माण कार्य अगाडि बढाइनेछ। यस आयोजनाको लागि १ अर्ब ६० करोड विनियोजन गरेको अर्थमन्त्री पुनले जनाएका छन् ।

यस्तै बबई सिँचाइ आयोजनाको पूर्वी तथा पश्चिमी मूल नहरबाट शाखा विस्तार गरी थप एक हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्न रु १ अर्ब ७९ करोड विनियोजन गरिएको छ। प्रादेशिक राजधानीमा मौलिक सहर विकास गर्न सम्भाव्यता अध्ययनका लागि रकम व्यवस्था गरिएको छ । 

नवलपरासी बर्दघाट सुस्ता पूर्व र रुकुम पूर्व जिल्ला सदरमुकामको प्रशासनिक केन्द्रको पूर्वाधार निर्माणका लागि रु १ अर्ब २१ करोड विनियोजन गरिएको छ । बुटवल–गोरुसिङ्गे सडक खण्ड स्तरोन्नति कार्य सुरु गरिने बताइएको छ। यस्तै दाङको टरी गाउँ , रोल्पाको बडा चौर र नेपालगन्ज विमानस्थललाई स्तर उन्नति गर्ने जनाइएको छ । 

लुम्बिनीमा कृष्ण सेन इच्छुक सञ्चार ग्राम स्थापना गर्ने घोषणा गरिएको छ । यस्तै गुल्मीको कङ्के देउराली जलाशय खानेपानी आयोजना निर्माण कार्य गर्ने सम्म बजेटमा उल्लेख गरिएको छ। यस्तै भालु वाड लमही सडक खण्ड स्तरोन्नति, सिद्धार्थ राजमार्गमा सडक सञ्जाल विस्तार, सालझन्डी सन्धीखर्क , ढोरपाटन सडकको स्तर उन्नति गर्ने जनाएको छ यस्तै बुटवलको तिनाउ नदीमा तिनाउ सिग्नेचर बृर्ज निर्माण कार्य अगाडि बढाउने  जनाएको छ ।  

बजेटमा केही विषयमा छुटाइएको छ। लुम्बिनी प्रदेशमा रहेका तीनवटा विमानस्थलहरू स्तरोन्नति गर्ने विषयमा सम्बोधन भए पनि गौतम बुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्नको लागि केही बोलिएको छैन ।यस्तै सिद्धार्थ रङ्गशाला निर्माण, बुटवलको ज्योति नगर पहिरो नियन्त्रण, बुटवलका लागि झुम्साखोला खानेपानी ,अर्घाखाँचीको अर्घा विमानस्थल पुरा गर्ने लगायतका जनचासोसँग जोडिएका योजना प्राथमिकतामा परेका छैन।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप