आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
बजेट

युवा तथा खेलकुद मन्त्रालयको बजेटमा वृद्धि, १० औँ राष्ट्रिय खेलकुदका लागि ६० करोड

मङ्गलबार, १५ जेठ २०८१, २२ : ०२
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि युवा तथा खेलकुद मन्त्रालयमा तीन अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुद मन्त्रालयमा ६० करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा १०औँ वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । १०औँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुँदैछ ।

सबैका लागि खेलकुद कार्यक्रम अगाडि बढाइने, खेल क्षेत्रमा महिला सहभागिता बढाइने तथा आगामी ओलम्पिक र एसियाली खेलकुद प्रतियोगितामा सहभागिताका लागि राष्ट्रिय टिम तयारी गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

आगामी आर्थिक वर्षमा खेलकुदका ८० वटा राष्ट्रिय प्रतियोगिता आयोजना गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । बाघचाल, दण्डिबियो, घोडचढीजस्ता नेपालका मौलिक खेललाई प्रवर्द्धन गरिने तथा ई–स्पोर्टस खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

यसैगरी काठमाडौँको मुलपानी क्रिकेट स्टेडियम र मोरङको निरिजाप्रसाद कोइराला क्रिकेट स्टेडिमलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाइने पनि उल्लेख गरिएको छ ।

भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा अगाडि बढाइने पनि बजेट वक्तव्यमा उल्लेख छ । कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको स्तरोन्नति गरिने र कैलालीको फाप्ला क्रिकेट मैदानको निर्माण कार्यलाई तीव्रता दिइने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि खेल पूर्वाधार निर्माणतर्फ एक अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । शिक्षकलाई खेलकुदको तालिम दिई विद्यालयस्तरमा खेलकुदको गतिविधि प्रवर्द्धन गरिने, बालबालिकाको उमेरगत खेलकुद गतिविधि सञ्चालन गरिने तथा प्रतिभावान बालबालिकालाई खेल छात्रवृत्तिको व्यवस्था मिलाइने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

खेलकुदको पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहकार्य बढाई खेलकुद अर्थतन्त्रको विकास गरिने पनि आगामी वर्षको बजेटमा उल्लेख गरिएको छ । यसैगरी युवा परिचालन कार्यक्रम सञ्चालन गरिने तथा कम्तीमा एक लाख युवाका लागि रोजगार सृजना गरिने पनि उल्लेख गरिएको छ ।

यसैगरी आर्थिक वर्ष २०८१/८२ मा युवा परिचालन कार्यक्रम सञ्चालन गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ । बजेट वक्तव्यमा युवाको क्षमता अभिवृद्धि गरी उत्पादनमूलक क्षेत्रमा समाहित गर्न युवा परिचालन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

युवा परिचालन कार्यक्रमअन्तर्गत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि, पशुपक्षी फर्म, होटल, पर्यटन, निर्माणलगायतका क्षेत्रमा कार्यस्थल तालिम प्रदान गरी कम्तीमा एक लाख युवालाई रोजगारी सुनिश्चित गरिने उल्लेख छ ।

यसैगरी स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि र प्रविधि क्षेत्रका एक हजार युवालाई फेलोसिप प्रदान गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । यसका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिने उल्लेख छ । युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज प्रवाह गरिने पनि उल्लेख गरिएको छ ।

पछिल्लो ६ वर्षको बजेट

० आर्थिक वर्ष २०८१/८२ : ३ अर्ब ५० करोड

० आर्थिक वर्ष २०८०/८१ : २ अर्ब ८७ करोड ५९ लाख

० आर्थिक वर्ष २०७९/८० : ३ अर्ब २५ करोड २५ लाख

० आर्थिक वर्ष २०७८/७९ : २ अर्ब ७४ करोड ६८ लाख

० आर्थिक वर्ष २०७७/७८ : २ अर्ब ३६ करोड

० आर्थिक वर्ष २०७६/७७ : ३ अर्ब ९९ करोड ८ लाख

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप