आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
बजेट भाषण

बजेटमा बागमती: हेटौँडा कपडा उद्योग सञ्चालनदेखि केरुङ–काठमाडौँ रेल मार्गसम्म

मङ्गलबार, १५ जेठ २०८१, १८ : १६
मङ्गलबार, १५ जेठ २०८१

मकवानपुर । सङ्घीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा बागमती प्रदेशतर्फ हेटौँडा कपडा उद्योग सञ्चालनदेखि रेल मार्गसम्मका योजनाहरू समावेश भएका छन् । 

सरकारले सार्वजनिक निजी साझेदारी मोडलमा हेटौँडा कपडा उद्योग सञ्चालन गर्न बजेट व्यवस्था गरेको अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणका क्रममा बताए । 

यस्तै सरकारले बागमती प्रदेश अन्तर्गत गर्ने उत्तरी नाका केरुङदेखि काठमाडौँ रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न पनि बजेट विनियोजन गरिएको पुनले बताए । 

सरकारको बजेटमा धादिङको हिमाली क्षेत्रमा कस्तुरी मिर्ग लगायतका वन्यजन्तु पालन गर्ने व्यावसायिक फार्म स्थापना गर्ने, सुनकोसी जलविद्युत आयोजनाको विस्तृत अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाउने, सार्वजनिक– निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हब सञ्चालनका लागि काठमाडौँको डिल्लीबजार स्थित चारखालमा बहुतले संरचना निर्माण गर्ने योजना समेटेको छ । 

 सरकारले ललितपुरको खुमलटारमा ज्ञान पार्क स्थापना गर्न १७ करोड रुपैयाँ विनियोजन गरिएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य सुरु गर्न र भरतपुर विमानस्थलको विस्तार कार्यका लागि ३६ करोड रुपैयाँ विनियोजन गरेको छ।  

बागमतीलाई सूचना प्रविधि विशिष्टिकृत आर्थिक हबको रूपमा विकास गर्ने, मकवानपुरको मयुरधाप र चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण तथा सञ्चालन गर्ने सरकारको योजना छ । यस्तै सुनकोसी मरिण डाइभर्सनको हेर्डवक्स, पावर हाउस लगायतका संरचना निर्माणका लागि ३ अर्ब १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै सुनकोसी कमला बहुउद्देश्यीय अन्तर जलाधार जलपस्थान्तर आयोजना सम्भाव्यता अध्ययन गर्न, काभ्रेको बनेपामा चलचित्र छायाङ्कन स्टुडियो निर्माण गर्न, रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण कार्यको प्रारम्भ गर्न, चितवनमा मेडिकल कलेज स्थापनाको सम्भाव्यता अध्ययन गर्न, वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तर गर्न, कीर्तिपुर बर्न अस्पतालको पूर्वाधार विकास गर्न, ट्रमा सेन्टरलाई नजिकको स्वास्थ्य संस्थासँगको समन्वयमा सञ्चालन गर्न, भरतपुर अस्पतालको क्षमता वृद्धि गरी ५०० शय्यामा विकास गर्न र भरतपुर अस्पतालमा एमविविएस सञ्चालन गर्न पनि बजेटको व्यवस्था गरिएको छ ।

नारायणी नदीबाट चितवनमा थोक वितरण प्रणाली अनुसार पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्न काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला राष्ट्रिय गौरवका आयोजनाको रूपमा निर्माण गर्न बजेट विनियोजन गरिएको छ । 

यस्तै भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशाला सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अगाडि बढाइने बजेटमा उल्लेख छ भने  कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई पनि तीव्रता दिने बजेटमा उल्लेख छ । 

यसैगरी पथलैया नारायणघाट सडक स्तरोनन्ति कार्य सुरु गर्ने, काठमाडौँ मधेस फास्ट ट्याकको महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ निर्माण कार्य सम्पन्न गर्ने, अन्तर्देशीय व्यापारिक मार्ग गल्छी स्याफ्रुवेसी सडक स्तरोन्नति काम सम्पन्न गर्ने, स्याफ्रुवेसी रसुवागढी सडक स्तरोन्नति कार्य सुरु गर्ने बजेटमार्फत सरकारले घोषणा गरेको छ । सो कार्यका लागि सरकारले १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै सिस्नेखोला नागढुंगा सुरुङ निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने, ग्वार्को फ्लाइओभर निर्माण कार्य सम्पन्न गर्ने, कोटेश्वर इन्टरसेक्सन निर्माण कार्य सुरु गर्ने, केरुङ काठमाडौँ रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने, सुनकोसी र नारायणीमा जलमार्ग निर्माण गर्ने, नारायणीमा सञ्चालित जलयानमा यात्रु चढ्न र ओर्लन सहजताको लागि टर्मिनल निर्माण गर्ने, काठमाडौँ उपत्यकाको गोदावरी, तार्केश्वर, ललितपुर, नागार्जुन, चाँगुनारायण, भक्तपुर लगायतका नगरपालिकामा जग्गा विकास गरिने, नख्खु कोरिडोर, धोवी खोला कोरिडोर निर्माण कार्यलाई निरन्तरता दिने, बागमती र विष्णुमती कोरिडोरमा स्काई वे तथा पडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन गर्ने बजेट वक्तव्यमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप