शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

हश मनी ट्रायलमा ट्रम्पलाई अभियोग लाग्यो भने के हुन्छ ?

मङ्गलबार, १५ जेठ २०८१, १४ : २४
मङ्गलबार, १५ जेठ २०८१

वाशिङटन डीसी । धोकाधडीसम्बन्धी ३४ वटा मुद्दा, १२ न्यायाधीश, झिँझिरहने एक न्यायाधीश अनि साक्षीहरूको लम्बेतान परेड । करिब ५ हप्तासम्म अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथिको ‘हश मनी’ मुद्दामा वादी र प्रतिवादी दुवैले आ–आफ्नो तर्क र प्रमाण पेस गरिसकेका छन् ।

मंगलबार यस मामिलामा अन्तिम तर्कवितर्क हुँदैछ । त्यसपछि न्यायाधीशले फैसला दिनेछन् । यसको नतिजा के होला ? न्यायाधीशहरुले हश मनी मामिलामा के निर्णय गर्लान् भन्ने चासो यतिबेला धेरैको मनमा छ । यस मामिलामा ट्रम्प दोषी पाइए भने के होला ? ट्रम्प फौजदारी अभियोग लागेका अमेरिकाका पहिलो पूर्व राष्ट्रपति हुनेछन् ।

ट्रम्प दोषी ठहरिए भने के हुन्छ ?

हश मनी मुद्दा चलिरहँदा अहिलेसम्म ट्रम्प जमानतमा थिए । मुद्दाले उनलाई दोषी ठहरायो भने न्यायाधीश जुआन मर्चनले सजायको फैसला नगर्दासम्म स्वतन्त्रः मानिसझैँ उनी अदालतबाहिर जान सक्नेछन् । अन्तिम फैसलामा उनले ट्रम्पको उमेर, अदालतको ग्याग आदेशको उल्लंघनलगायत अनेकौँ पक्षबारे विचार गर्नेछन् । फैसलामा जरिवाना, परीक्षण वा पर्यवेक्षण वा जेल सजाय पनि हुन सक्नेछ । यस फैसलाको विरुद्धमा ट्रम्प पुनरावेदन अदालतमा जान सक्नेछन् । यसका लागि कयौँ महिना लाग्नेछ । यसको अर्थ उनी दोषी नै ठहरिए भने पनि हत्कडीमै अदालतबाट बाहिरिने सम्भावना छैन । पुनरावेदनको फैसला नआउँदासम्म उनी मुक्त हुनेछन् ।  

राष्ट्रपति निर्वाचनमा लड्न पाउँछन् ?

अवश्य पाउँछन् । अमेरिकाको संविधानअनुसार राष्ट्रपतिको उम्मेदवारका लागि योग्यतामा कम्तीमा ३५ वर्षको उमेर, ‘प्राकृतिक रूपमा’ जन्मिएका अमेरिकी नागरिक र कम्तीमा १४ वर्ष अमेरिका बसेको भनेर तोकेको छ । आपराधिक रेकर्ड भएकाहरुलाई उम्मेदवारीमा रोक लगाउने कुनै नियम छैन । तर उनी दोषी ठहरिए भने नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनको परिमाणमा व्यापक हेरफेर गराउन सक्छ । दोषी ठहर भए भने ट्रम्पलाई मत नदिने ब्लुम्बर्ग र मर्निङ कन्सल्टले यो महिनाको सुरुमा गरेको जनमत सर्वेक्षणमा प्रमुख ‘स्वीङ स्टेट’का ५३ प्रतिशत मतदाताहरूले बताएका थिए । यही महिना भएको अर्को सर्वेक्षणमा ट्रम्का ६ प्रतिशत मतदाताहरूले पनि उनलाई मत नदिने भनेका थिए ।

के हो हश मनी मुद्दा ?

सन् २०१६ मा राष्ट्रपति निर्वाचन अघि कुनै बेला ट्रम्पसँग सम्बन्ध रहेको ठानिएकी पूर्व पोर्नस्टार स्टर्मी ड्यानियल्सलाई चुप लगाउन पैसा दिएको मामिलामा म्यानह्याटनमा उनीमाथि चलिरहेको मुद्दा नै हश मनी मुद्दा हो । अहिलेसम्म अमेरिकामा कुनै पनि पूर्व राष्ट्रपतिलाई फौजदारी अभियोग लागेको छैन । त्यसैले पनि ट्रम्पमाथिको पछिल्लो मुद्दा ऐतिहासिक मानिएको छ । सन् २००६ मा ट्रम्पसँग आफ्नो यौन सम्बन्ध रहेको आरोप ड्यानियलको छ । तर ट्रम्पले यो आरोप अस्वीकार गरेका छन् । सन् २०१६ मा राष्ट्रपति निर्वाचन अघि यस मामिलामा मुख नखोल्न ट्रम्पको इशारामा उनका एक वकिलले ड्यानियललाई १ लाख डलरभन्दा बढी रकम दिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप